२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनको अवधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीका लागि नि:शुल्क एम्बुलेन्स सेवा

लकडाउनको अवधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीका लागि नि:शुल्क एम्बुलेन्स सेवा


काठमाडौं – लकडाउनको अबधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीका लागि  नि:शुल्क एम्बुलेन्स सेवा दिने सम्झौता भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै  उक्त सेवा दिने जानकारी दिएको हो ।

लकडाउनको समयमा हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन नि:शुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाका तर्फबाट प्रशासन विभाग प्रमुख नवराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले संयुक्तरुपमा हस्ताक्षर गरेको सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गर्नेछ ।

‘लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ,’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सम्भावित विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि काठमाडौं महानगरपालिकाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।’

सम्झौता अनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्वुलेन्स चलाउन पाउने छैन । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका विरामीहरुको नाम थर र अन्य विवरणको लगत अद्यावधि गरी प्रमाणित गर्नु पर्नेछ । ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको विरामीसँग थप भाँडा दस्तूर वा सेवा शुल्क लिन पाइने छैन,’ सम्झौतामा उल्लेख छ, ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको विरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउन जान आनाकानी वा मोलतोल गर्न पाईने छैन ।’ यसरी सञ्चालनमा आएका एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र सीमा वाहिर २ कि.मी.सम्म निःशुल्क सेवा दिनु पर्नेछ । तर, २ कि.मी. भन्दा बढिको दुरीमा यात्रा गर्नुपर्दा सम्बन्धित विरामीले नेपाल सरकारको नियमानुसार दूरीको आधारमा भाँडा दर तिर्नुपर्नेछ ।

‘निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्नेछ । यसमा हृदयघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता दिनुपर्नेछ,’ सम्झौतामा उल्लेख गरिएको छ, ‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राख्नु पर्नेछ । कुनै प्राविधिक त्रुटी छ भनी सेवा संचालनमा अवरुद्ध गर्न पाइने छैन ।

एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिमपाट, अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट सेवा दिनेछन् ।काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौं महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नम्बरमा सम्पर्क गर्न सकिने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ