२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड–१९ को संक्रमण: दोस्रो कि तेस्रो चरणमा ?

नेपालमा कोभिड–१९ को संक्रमण: दोस्रो कि तेस्रो चरणमा ?


काठमाडौं–उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिदमा भारतको दिल्ली र विराटनगरबाट आएका गरी १३ जना जमातीमा ५ बैशाखमा केभिड–१९ सक्रमण पुष्टी भएको थियो । उनीहरुमा पुष्टी भएको चार दिनपछि मंगलबार पुनः ११ जना स्थानीयमा पनि कोभिड–१९ संक्रमण देखिएको छ ।

झण्डै एक दर्जन हाराहारीमा स्थानीयमा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ को संक्रमण दोस्रो चरणमै छ कि तेस्रो चरणमा प्रवेश गरेको हो भन्नेमा एकैमत हुन सकेको छैन । सरकारी अधिकारीहरु अझै गहन अध्ययन नगरी भन्न सकिने अवस्थामा नरहेको बताउँछन् । महामारी विज्ञहरु भने कम्युनिटी धेरैजनामा केस देखिएसँगै तेस्रो चरणमा प्रवेश गरिसकेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फैलावटका हिसाबले कोभिड–१९ लाई चार चरणमा बाँडेको छ । पहिलो अन्यत्रबाट आएका संक्रमित, दोस्रो अन्यत्रबाट आएका व्यक्तिबाट सिधै सरेको (आफन्त र नजिकका नातेदार), तेस्रो समुदायमा फैलिएको (अन्यत्र पनि नगएको र अन्यत्रबाट आएका व्यक्तिसँग सिधै सम्पर्क नभएको) अवस्था र चौथो महामारी देशभर फैलिएको अवस्था हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे अझैसम्म नेपालमा कोभिड–१९ फैलावटको आधारमा दोस्रो चरणमै भन्नुपर्ने बताउँछन् । उदयपुरमा विदेशबाट आएका जमाती (मुस्लिम धर्म गुरु)हरुबाट उनीहरुलाई सहयोग गर्नेहरुमा सरेको हुँदा दोस्रो चरणमै रहेको उनको विश्लेषण छ । ‘अहिलेसम्म हेर्दा विदेशबाट आएकाबाट सिधै सरेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘धर्मगुरुहरुकै खाना बनाउने र त्यही आउनेहरुमा मात्र देखिएको छ, अब उनीहरुको परिवार वा अन्य छिमेकीमा पनि देखियो भने मात्र तेस्रो चरण भन्न मिल्छ ।’ उनी कसरी आज पुष्टी भएकाहरुमा संक्रमण भयो त्यो थप अध्ययन गरेर मात्र भन्न सकिने बताउँछन् ।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी एउटै समुदायमा एकै पटक ११ जनामा संक्रमण फैलिएको हुँदा कोभिड–१९ नेपालमा तेस्रो चरणमा प्रवेश गरिसकेको बताउँछन् । ‘११ संक्रमित एकै परिवारका व्यक्ति नभएपछि त्यो समुदायमा पुगेको संक्रमण हो,’ डा. मरासिनी भन्छन्, ‘समुदायमा संक्रमण पुगिसकेपछि विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार तेस्रो चरण हो ।’

महामारी रोग विशेषज्ञ समेत रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. केदार बराल पनि नेपाल कोभिड–१९ को तेस्रो चरणमा प्रवेश गरेको बताउँछन् । ‘समुदायमा नै देखिएपछि यो तेस्रो चरण नै हो,’ डा. बराल भन्छन्, ‘अब हामीले देखिएका समुदायभित्र नै सिमित गर्ने रणनीति लिनुपर्छ ।’ यदि समुदायमै सिमित गर्ने रणनीति नलिने हो भने महामारीको रुप लिन सक्ने उनको भनाइ छ ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले हाल लिइरहेको रणनीति अहिलेसम्मलाई सहि भएको प्रा.डा. बरालको ठम्याइ छ । तर, संक्रमितको संख्या बढेसँगै उपचार गर्ने अस्पताल भने छुट्टै आवश्यक रहेको उनी बताउँछन् । ‘रोकथामको रणनीतिमा सरकारले अहिलेसम्म लिएको रणनीति सही छ,’ प्रा.डा. बराल भन्छन्, ‘अब संक्रमितको उपचारका लागि आवश्यक अस्पताल छ्ट्टै हुनुपर्छ ।’ इटालीले कोभिड–१९ सहित अन्य स्वास्थ्य सेवा पनि एकै अस्पतालबाट गरेको हुँदा त्यहाँ संक्रमण जटिल अस्थामा पुगेको थियो । तर, कोभिड–१९ को लागि छुट्टै अस्पताल संचालन गरेका देशमा संक्रमण कम गतिमा फैलिएको छ ।

समुदायमा संक्रमण सरिसकेको अवस्थामा अब सरकारले तीन किसिमको रणनीति बनाएर अगाडि बढ्नुपर्ने डा. मरासिनीको सुझाव छ । ‘परिक्षणको दायरा बढाएर नतिजाका आधारमा अति गम्भीर क्षेत्र, गम्भीर क्षेत्र र सुरक्षित क्षेत्र बनाउनु पर्छ,’ उनको सुझाव छ ‘अति गम्भीर क्षेत्र र गम्भीर क्षेत्रलाई सिल गरेर त्यहाँका संक्रमित अन्त जान दिनु हुँदैन्, त्यही सिमित गर्नुपर्छ र सामान्य क्षेत्रलाई निगरानी गर्दै अगाडि बढ्नुपर्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ