२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउन खुकुलो गर्ने तीन मोडलमा अनौपचारिक छलफल गर्दै स्वास्थ्य मन्त्रालय

लकडाउन खुकुलो गर्ने तीन मोडलमा अनौपचारिक छलफल गर्दै स्वास्थ्य मन्त्रालय


काठमाडौं– मुख्य सचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले एक हप्तापछिको लकडानको मोडालिटीको खाका तय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएसँगै मन्त्रालयले विज्ञहरुसँग अनौपचारिक छलफल सुरु गरेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय समितिले निर्देशक समितिले गरेको सिफारिसको आधारमा लकडाउन सम्बन्धी सरकारलाई सिफारिस गर्दै आएको छ ।

मन्त्रालयले अहिलेसम्मको अवस्था र आगामी एक हप्तामा उत्पन्न हुनसक्ने अवस्थालाई आधार मानेर लकडाउनको मोडालिटी तयारी गरिरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए ।

अधिकांश जनस्वास्थ्य र महामारी रोग विशेषज्ञहरुले अब नियमित रुपमा कडा लकडाउन गरेर समस्या समाधान नहुने सुझाव स्वास्थ्य मन्त्रालयलाई दिएका छन् । कोभिड–१९ को खोप पत्ता नलागुन्जेल पूर्ण निर्मुल नहुने र खोप कहिलेसम्म बन्ने भन्ने विषयमा टुंगो नभएको कारण लकडाउनको मोडालिटी परिर्वतन गर्नुपर्ने विज्ञहरुले सुृझाव दिएका हुन् ।

प्रमुख विशेषज्ञ डा पोखरेलका अनुसार अहिले लकडाउनको मोडालिटी परिर्वतनका विषयमा धेरै वटा मोडलमा छलफल भइरहेको छ ।

जोन छुट्याउने

स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको पहिलो मोडल भने केही पुरानै हो । त्यसमा तीन क्षेत्र छुट्याई लकडाउनलाई लागु गर्नुपर्ने उल्लेख छ । रातो, पहेलो र हरियो क्षेत्र छुट्याएर लकडाउन खुकुलो गर्नका लागि पनि विज्ञहरुले सुझाव दिएका छन् । सो सुझाव अनुसार रातो भनी तोकिएको क्षेत्रलाई पूरै सिल गर्ने, पहेलोलाई अलि खुकुलो बनाउने र हरियो भनेर तोकिएको क्षेत्रलाई सामान्य अवस्थामा नै गतिविधी गर्न छुट दिने उल्लेख छ ।

तर, त्यसो गर्नको लागि कोभिड–१९ कुन क्षेत्रमा फैलिएको छ भन्ने कुरा र फैलिएला भन्ने कुरा आँकलनभन्दा बाहिर गइरहेको स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाकार डा. खेम कार्की बताउँछन् । ‘हामीले सुरुमा देखिएको र हामीले सोचेको भन्दा सेन्सेटीभ एरिया फरक भएर गएको छ,’ उनी भन्छन्, ‘केही सुदूरपश्चिम देखियो, केही वीरगञ्जमा देखियो । त्यहाँबाट सिधै प्रदेश १ हानियो, कुन क्षेत्रमा फैलिएला भनेर आँकलन गर्ने गाह्रो छ ।’

संक्रमित संख्याका आधारमा

० केस (संक्रमण नभएको ठाउँ)
शुन्य केस देखिएको क्षेत्रमा स्कुल, कलेज, सिनेमा हल जस्ता भिड लाग्ने स्थान नखोल्ने, सभा÷जुलुस गर्न नपाउने । तर, कोभिड–१९ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर सामाजिक दूरी कायम गरी हिडडुल, उद्योग, यातायातसम्म सन्चालन गर्न सकिने ।

१ देखि ५ केस
बढीमा ५ वटा केस देखिएको क्षेत्रमा कोभिड–१९ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर नियमित पसल, साना उद्योग र पैदल हिड्न पाउनेसम्म गरी लकडाउन खुकुलो बनाउनुपर्ने ।

६ देखि १०
कोभिड–१९ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर निश्चित समय अति आवश्यक चीजहरुमात्र मात्र किनबेचको लागि खोल्ने ।

१० भन्दा बढी केस
अहिलेकै जस्तो पूर्ण रुपमा लकडाउन गरी खोजपड्ताल गर्ने ।

एक हप्ता खोलेर आँकलन गर्ने

स्वास्थ्यकै केही अधिकारीहरुले भने अन्तर्राष्ट्रिय नाका र अन्तर्राष्ट्रिय एयरपोर्ट बन्द गरेर एक हप्ताका लागि पूरै खुल्ला गरेर अवस्था आँकलन गर्न पनि सुझाव दिएका छन् । नेपालमा एक्टिभ केस नभएको र कडा खालको कोभिड–१९ संक्रमण पनि नदेखिएको हुँदा एक हप्ता खोलेर तुलना गर्नुपर्ने सुझाव दिएका हुन् ।

त्यसरी एक हप्ता खुल्ला गर्दा ५ सयभन्दा बढी नयाँ केस देखिए पुनः लकडाउन गर्ने र ५ सय केस नदेखिए विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने उनीहरुको सुझाव छ । ‘तत्काल भ्याक्सीन बन्ने अवस्था छैन । त्यसैले कोरोना सँगसँगै हिड्नुको विकल्प पनि छैन,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘यदि संख्या ह्वातै बढ्यो भने तत्काल लकडाउन गरिहाल्ने, नत्र जहाँ देखिन्छ त्यहाँ व्यवस्थापन गर्दै जाने ।’

‘लकडाउनपछि नेपाल भित्रिएकाले जोखिम बढाए’

पछिल्लो समय भारतबाट आउने नागरिकका कारण जुनसुकै मोडालिटीमा जाँदा पनि आँकलन गर्न गाह्रो भएको डा. कार्की बताउँछन् । ‘दक्षिण छिमेकबाट दैनिक दर्जनौ मानिस छिरिरहेको र क्वारेनटाइनमा थपिइरहेको रिपोर्ट हामीलाई आइरहेको छ,’ उनी भन्छन्, ‘लकडाउन अघि नेपाल छिरेका व्यक्तिहरु अधिकांशको जाँच भइसक्यो र ट्रेसिङ्ग पनि सकिएको छ । तर, पछि थपिनेबाट बढी जोखिम हुँदै गएको छ ।’

लकडाउनपछि भारतबाट नेपाल छिरेका ५ जनामा संक्रमण पुष्टी भइसकेको छ । जसमा १ जना झापा १ महोत्तरी, १ वीरगञ्ज, १ कैलाली र १ कन्चनपुरका रहेका छन् । उदयपुरमा देखिएका १२ जमाती र वीरगञ्जमा देखिएका ३ जमाती कहिले नेपाल आएका हुन् भन्ने अहिलेसम्म पुष्टी हुन सकेको छैन । विज्ञहरुले ती १५ जना नै लकडाउनपछि नेपाल छिरेको अनुमान गर्दैै आएको छन् । तर, उनीहरुले भने आफूहरु ४ महिना अघिदेखि नै नेपालमा रहेको जिकिर गर्दै आएका छन् ।

पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार लकडाउनपछि मात्र पर्साका खुल्ला सीमा रहेका स्थानबाट मात्र १ सय ३२ जना आएका छन् । तीमध्ये १ सय जना पर्साका र ३२ जना अन्य जिल्लाका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ