२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबंगलादेशका नेपाली विद्यार्थीहरुद्वारा उद्धार गर्न सरकारलाई आग्रह

बंगलादेशका नेपाली विद्यार्थीहरुद्वारा उद्धार गर्न सरकारलाई आग्रह


काठमाडौं—बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले उद्धारका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । बंगलादेशमा कोभिड—१९ संक्रमण बढिरहेको भन्दैं उनीहरुले आफूहरुलाई स्वदेश फर्काउन पहल गरिदिन बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रमार्फत नेपाल सरकारलाई आग्रह गरेका हुन् ।

उनीहरुले विगत तीन हप्तादेखि कलेजको होस्टेलमा त्रासमय वातावरणमा बसिरहेको पत्रमा उल्लेख गरेका छन् । विद्यार्थीहरुले यस्तो कठिन बेला घर परिवारबाट टाढा बस्दा मनोबल घट्दै गएको र मानसिक रुपमा निकै कमजोर बनेको समेत उल्लेख गरेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि बंगलादेशमा अहिले ६ सयभन्दा बढी नेपाली विद्यार्थीहरु त्यहाँका विभिन्न कलेजमा अध्ययरत छन् । नेपाली विद्यार्थीहरुले अहिलेसम्म राजदूतावासको आग्रहलाई मानेर कलेजको सेल्फ क्वारेन्टाइनमा बसिरहेको उल्लेख गर्दै बंगलादेशमा कोभिड—१९ तीब्र रुपमा बढिरहेका कारण असुरक्षित महसुस गरेको जनाएका छन् ।

‘अहिले बंगलादेशमा कोभिड १९ को संक्रमित एवं मृत्यु संख्या दिनानुदिन तीब्र गतिमा बढिरहेको छ र चाडै नै नियन्त्रणभन्दा बाहिर जाने देखिन्छ । यसले गर्दा हामी असुरक्षित महसुस गरिरहेका छौं,’ विद्यार्थीहरुले राजदूतलाई लेखेको पत्रमा भनेका छन्, ‘यहाँको उच्च जनघनत्वका कारण सामजिक दुरी कायम राखेर बस्न पनि कठिनाई रहेको छ । यसर्थ हामीहरुलाई यथाशक्य छिटो उद्धार गरी नेपालमा लग्ने बातावरण मिलाइदिनुहुन श्रीमान महामहिम राजदूतज्यूमार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौं ।’

विद्यार्थीहरुले राज्यलाई आर्थिक रुपमा कठिनाई भएमा आफूहरुका लागि प्लेन चार्टरको व्यवस्था गरिदिए आफ्नै खर्चमा नेपाल फर्किने समेत उल्लेख गरेका छन् । उनीहरुले नेपाल फर्केपछि हो क्वारेन्टाइन वा राज्यले तोकेको स्थानमा क्वारेनटाइनमा बस्न तयार रहेको समेत उल्लेख गरेका छन् । उनीहरुले लेखेको पत्र प्रधानमन्त्री कार्यलय, परराष्ट्र मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयलाई बोधार्थ गरिएको छ ।

यस्तो छ राजदूत मिश्रलाई लेखेको पत्र

श्री महामहिम राजदूतज्यु
नेपाली राजदूतावास
ढाका, बंगलादेश ।

बिषय : उद्धार गरी पाउ बारे ।

महोदय,
उपरोक्त सम्बन्धमा विश्व ब्यापी महामारीको रुप लिएको यस नोबेल कोरोना भाइरसको संक्रमण र यस बाट मृत्यु हुनेको संख्या बंगलादेशमा दिनानुदिन बढ्दै गइरहेको श्रीमानलाइ अवगत नै छ । अहिले यस्तो अवस्थामा आफ्नो देश, घर परिवारबाट टाढा रही बंगलादेशमा अध्ययन गर्न आएका बिधार्थिहरुको अवस्था दिनानुदिन मर्माहक बन्दै गएको छ ! बिगत ३ हप्ता भन्दा बढी समयदेखि आ आफ्नो कलेज को हस्टेल भित्रै त्राशमय बातावरणमा बसिरहेका छन् नेपाली बिधार्थिहरु । यस्तो बेलामा घर परिवारसँग छुट्टिएर बस्नु, चाहेर पनि आफ्नो देश फर्कन नपाउनुले विद्यार्थीहरुको मनोबल घट्दै गएको छ र हामी मानसिक रुपले निकै नै कमजोर बनिसकेका छौं ।

हाल उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बंगलादेशमा आएका करिब ६५० जना (नेपाल राजदूतावासअनुसार) नेपाली विद्यार्थीहरु स्वदेश फर्कन नपाइ सेल्फ क्वारेन्टाइनमा आ—आफ्नो कलेज हस्टेलमै बसिरहेका छौं । हालसम्म हामीले नेपाली राजदूतावासको निर्देशन पालना गरेरै बसिरहेका छौं ।

तर, अहिले बंगलादेशमा कोभिड—१९ को संक्रमित एवं मृत्यु संख्या दिनानुदिन तीब्र गतिमा बढिरहेको छ र चाडै नै नियन्त्रणभन्दा बाहिर जाने देखिन्छ । यसले गर्दा हामी असुरक्षित महसुस गरिरहेका छौं । यहाँको उच्च जनघनत्वका कारण सामजिक दूरी कायम राखेर बस्न पनि कठिनाइ रहेको छ । यसर्थ हामीहरुलाई यथाशक्य छिटो उद्धार गरी नेपालमा लग्ने वातावरण मिलाइदिनुहुन श्रीमान महामहिम राजदूतज्यूमार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौं ।

साथै हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि यदि राज्यसँग कुनै आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले हामीलाई एउटा चार्टर प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्यूनतम लागत हामीले आफै तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं । नेपाल पुगिसकेपछि हामी होम क्वारेन्टाइन अथवा राज्यले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार छौं ।

यति भइसकेपछि हाम्रो आधारभूत मानवअधिकारको संरक्षण राज्यले गर्नेछ भन्ने आशा गरेका छौं ।

धन्यवाद ।

बोधार्थः
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदबार काठमाडौं ।
२. पररास्ट्र मन्त्रालय, सिंहदबार, काठमाडौं ।
३. शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय, सिंहदरबार, काठमाडौं ।

निवेदकः
(हाल बंगलादेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली विद्यार्थी )


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ