२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ संक्रमित आईसीयुका बिरामीलाई दिइने औषधी करिब २ सयलाई मात्रै पुग्ने

कोभिड—१९ संक्रमित आईसीयुका बिरामीलाई दिइने औषधी करिब २ सयलाई मात्रै पुग्ने


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमित भएर आईसीयुमा पुगेका बिरामीहरुलाई दिइने अत्यावश्यक औषधी करिब २ सय जनालाई मात्रै पुग्ने उपलब्ध रहेको पाइएको छ । निश्चित औषधीको अवस्था ज्यादै न्यून भएपछि सरकारी अधिकारीहरुले कसरी मौज्दात गर्न सकिन्छ भनेर छलफल थालेका छन् ।

अधिकांश सुईजन्य औषधी भारतबाट आयात हुन्छ । औषधी व्यवस्था विभागलाई औषधी उद्योग र आयातकर्ताहरुले उपलब्ध गराएको हालको मौज्जात सूचीमा निश्चित औषधी ज्यादै न्यून मात्रामा देखिएको छ । सिमित औषधी ५ सय बिरामीलाई पुग्ने छ भने धेरैजसो चाहिने औषधी २ सय जनालाई मात्रै पुग्ने देखिएको छ ।

सरकारले कोभिड—१९ संक्रमित बिरामी आईसीयुमा भर्ना भए औसत १५ दिन बस्ने भन्दै सोहीअनुसार औषधीको निश्चित सूची तयार पारेको छ । उक्त सूचीमा आईसीयुका लागि चाहिने विभिन्न ४३ प्रकारका अत्यावश्यक निश्चित औषधी समावेश गरिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निश्चित औषधी न्यून रहेको भन्दै मौज्दात राख्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

कोभिड—१९ संक्रमित आईसीयुमा पुगेका बेला चाहिने निश्चित औषधी न्यून भएपछि नियमित खपत हुनेबाहेक अरु औषधी मौज्दात राख्न उद्योग र आयातकर्तालाई अनुरोध गरेको महानिर्देशक ढकालले बताए । आईसीयुका बिरामीलाई सुईमार्फत आवश्यक औषधीहरु दिइन्छ । यी सबैजसो भारतबाट आयात हुने गर्छन् । नेपालमा नेशनल हेल्थ केयर र शिव फर्मास्युटीकल्सले मात्रै इन्जेक्टेवल औषधीहरु उत्पादन गर्छन् ।

मौज्दात रहेका यी औषधीहरु पनि प्रतिदिन कम हुँदै गएको अवस्था छ । महानिर्देशक ढकालले सूचीमा कम देखिएपनि फार्मेसी र उद्योगहरुले केही मात्रामा राखेको हुनुपर्ने अनुमान लगाए । आईसीयु र भेन्टिलेटरमा पुगेका वा राखिएका बिरामीमा हुन सक्ने लक्षण तथा जोखिम कम गर्नका लागि अत्यावश्यक औषधीका रुपमा यो सूची तयार पारिएको हो । ‘यी औषधीहरुले कोरोना मार्न सक्दैनन् तर, त्यसबाट हुने जोखिम कम गरी मृत्युबाट बचाउँन सक्छन्,’ ढकाल भन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ