२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना जाँच : आरडिटी पोजेटिभको न तथ्यांक छ न कन्ट्रयाक ट्रेसिङ

कोरोना जाँच : आरडिटी पोजेटिभको न तथ्यांक छ न कन्ट्रयाक ट्रेसिङ


काठमाडौं–सरकारले कोभिड—१९ को मास स्क्यानिङ गर्न भन्दैं ५७ हजार ¥यापिड डाइग्नोष्टीक किट (आरडिटी) खरिद गरेको थियो । निकै विवादबीच सरकारले मन्त्रिपरिषदको निर्णय नै गरेर सो किट प्रयोगमा ल्याएर गाउँ—गाउँमा पठाएको हो ।

तर, ती किटले जाँच गरेका कति व्यक्तिमा पोजेटिभ देखियो र उनीहरुको सम्पर्कमा आएका कति जनाको थप जाँच गरियो त्यसको तथ्यांक कतै पाइदैन् । सरकारी अधिकारीहरु आरडिटीमा मात्र पोजेटिभ देखिएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ हुन नसकेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुकाअनुसार ७५ हजार किट नै वितरण भइसकेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङाम मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४८ हजार ५ सय २९ जनाको आरडिटीबाट जाँच गरेको जानकारी दिए । झण्डै ४९ हजार जनामा आरडिटी जाँच गर्दा कति जनामा पोजेटिभ देखियो भन्ने तथ्यांक मन्त्रालय र माताहतका निकाय कही पनि पाइदैन् । स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका सहायक प्रवक्ता डा. समिर अधिकारी आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुको जानकारी संकलन हुन नसकेको बताउँछन् । ‘आरडिटीमा पोजेटिभ देखिएका व्यक्तिहरुको पिसिआर गरिन्छ,’ उनी भन्छन्, ‘त्यहाँ पोजेटीभ आए मात्र हामी कहाँ तथ्यांक आउँछ, नत्र सबैको आउँदैन् ।’

संक्रमित व्यक्तिहरुसँगको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको ट्रेसिङको जिम्मेवारी पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग पनि आरडिटी पोजेटीभ भएका व्यक्तिहरुको तथ्यांक छैन । महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे पनि आरडिटी पोजेटीभ देखिएका व्यक्तिहरुको पिसिआर गरेर कन्फर्म गरी तिनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको मात्र खोजी गरिने गरेको बताउँछन् । ‘पिसिआर पोजेटीभ छ भने मात्र उसको सम्पर्कमा आएका व्यक्तिको खोजी हुन्छ,’ उनी भन्छन्, ‘आरडिटी मात्र पोजेटिभ आयो तर पिसिआर नेगेटिभ आयो भने त्यसको कन्ट्रयाक ट्रेसिङ हुँदैन ।’

भाइरालोजिष्ट समेत रहेका डा. पाण्डे आरडिटीमा पोजेटिभ देखिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने बताउँछन् । ‘आरडिटीले एन्टीबडी बनिसकेपछि पोजेटिभ देखाउने हो,’ उनी भन्छन्, ‘कतै न कतै पहिले संक्रमित भएको पनि हुन सक्छ, त्यो बेला भेटेका अरुमा संक्रमण सरेको हुन सक्छ ।’

झापाको घटनाले पनि त्यो पुष्टी गर्छ । आरडिटी पोजेटीभ भएका व्यक्तिको परिवारका सदस्यमा ट्रेसिङ गरेर पिसिआर गर्दा पोजेटिभ आएको थियो । दमक नगरपालिका ढुकुरपानीका ३४ वर्षीय युवा लकडाउन अगाडि विदेशबाट नेपाल आएका थिए । विदेशबाट आएको ४२ दिनपछि आरडिटी जाँच गर्दा उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । उनीसँगै परिवारका अन्य तीन सदस्यहरुको पनि आरडिटी जाँच गर्दा श्रीमती र आमाको पनि पोजेटिभ देखियो तर बुवाको नेगेटिभ आयो । चारैजनाको स्वाव पिसिआर मेसिनमा जाँच गर्दा ६२ वर्षीय बुवाको पोजेटिभ देखियो भने ती युवालगायत अन्यको नेगेटिभ आयो ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर पोजेटिभ आएकाहरुको मात्र ‘कन्ट्रयाक ट्रेसिङ’ गरिरहेको छ । त्यसो गर्दा आरडिटी पोजेटिभ आएकाले सारेका संक्रमित छुटेको हुनसक्ने त्रिभुवन विश्वविद्यालयका अनुवंशिक विज्ञ प्राडा गिरीराज त्रिपाठी बताउँछन् । ‘आरडिटीमा पोजेटिभ हुनु भनेको त्यो व्यक्तिमा कोभिड—१९ पोजेटिभ थियो र अहिले उसमा एन्टीबडी बनिसक्यो भन्ने हो,’ उनी भन्छन्, ‘यदि आरडिटीको ‘कन्ट्रयाक ट्रेसिङ’ नगर्ने हो भने यो कोभिड—१९ जाच्ने टुल होइन भन्नुप¥यो ।’

आरडिटीले मान्छेको शरीरमा एन्टिवडी बनिसकेपछिमात्र पोजेटिभ देखाउने हुनाले पिसिआरमा पनि पोजिटीभ नै देखाउछ भन्ने निक्र्यौल नहुने उनको भनाइ छ । तर, त्यसो भन्दैमा आरडिटी पोजेटिभ आएकाहरुले अरुलाई नसारेका होलान भन्ने हुँदैन । ‘कुनै बेला उनीहरुमा पनि एक्टीभ भाइरस थियो भन्ने कुरा बुझ्नुपर्छ,’ डा. त्रिपाठी भन्छन्, ‘बरु पिसिआरमा देखिएको भर्खर सुरु भएको हुँदा धेरैमा सम्पर्क हुँदैन । तर, आरडिटीमा देखिएकाहरु लामो समयसम्म संक्रमित भएको हुँदा धेरै जनासँग भेटघाट भएको हुन सक्छ ।

प्रदेश १ मा भने आरडिटी पोजेटीभ देखिएकाको पनि ‘कन्ट्रयाक ट्रेसिङ’ गरी पिसिआर लिने गरिएको छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता प्रदेशले स्वाव कलेक्सन गरेर पिसिआर गरिरहेको बताउँछन् । ‘हामीले आरडिटी पोजेटिभ देखिएकाहरुको पनि ‘कन्ट्रयाक ट्रेसिङ’ गरी स्वाव लिएर पिसिआर जाँच गरिरहेका छौं,’ उनी भन्छन्, ‘हाम्रो प्रदेशले थाहा भएसम्म छुटाएको छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ