२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोना भाइरस संक्रमणले एकैदिन बनाएका ६ रेकर्ड

नेपालमा कोरोना भाइरस संक्रमणले एकैदिन बनाएका ६ रेकर्ड


काठमाडौं-नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका सबैभन्दा बढी ८३ केस मंगलबार देखिए । ३० बैशाखमा सबैभन्दा बढी केस देखिने क्रममा नेपालमा कोरोनाका ६ वटा फरक रेकर्ड पनि बनेका छन् ।

कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको झण्डै साढे तीन महिनाको अवधिमा नेपालमा पहिलो पटक एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ८३ जनामा कोरोना संक्रमण पुष्टी भएर एकैदिन सबैभन्दा बढी केस पुष्टी भएको रेकर्ड बन्यो । मंगलबार पर्सामा ५७ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ जना, भक्तपुर, महोतरी र धनुषामा २ जना, सर्लाही, बारा र काठमाडाैंमा १/१ जनामा  कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

नेपालमा एकै जिल्लामा एकै दिन ५७ जनामा कोभिड-१९ पुष्टी भएको पनि पहिलो पटक हो, यसअघि एकैदिन एकै जिल्लामा यति केस पुष्टी भएको थिएन । अहिलेसम्म यति धेरै केस एकै जिल्लामा देखिएको पनि छैन । पर्सामा कोभिड-१९ संक्रमितको संख्या ८२ पुगेको छ । अहिलेसम्म यति धेरै केस अन्य कुनै जिल्लामा पुष्टी भएको छैन ।

यसअघि नेपालमा २९ बैशाख (हिजो सोमबार)मा सबैभन्दा बढी २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । पर्सा, रुपन्देही, बारा, कपिलवस्तु, काठमाडौं, भक्तपुर, महोत्तरी, सर्लाही, धनुषा गरी ९ जिल्लामा कोभिड १९— पोजेटिभ देखिएको पनि मंगलबार पहिलो पटक हो । यसअघि यतिधेरै जिल्लामा एकैपटक कोरोना संक्रमणका केस नेपालमा यसअघि देखिएका थिएन ।

अर्को, नयाँ रेकर्ड नेपालमा पहिलो पटक दुई जना संचारकर्मी पनि संक्रमण पुष्टी भएको छ । पर्सा जिल्लामा कोभिड-१९ पुष्टी भएका ३९ जना संक्रमितमध्ये २ जना संचारकर्मी रहेका छन् । लकडाउनको अवधिमा पनि अघिल्लो पंक्तिमा रहेर समाचार पस्कदैं आएका संचारकर्मीमा संक्रमण देखिएको यो नेपालको पहिलो घटना हो ।

यस्तै, नेपालमा कोरोना उपचारमा अग्रपंक्तिमा रहेर बिरामीको सेवामा रहेका स्वास्थ्यकर्मीलाई यसअघि कोरोना पोजेटिभ देखिएको थिएन । तर, मंगलबार एकैपटक ५७ केस बाहिरिदा पहिलो पटक एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ पुष्टी भएको छ । कोरोना पोजेटिभ देखिएकी नर्स तौलिहवा अस्पतालमा कार्यरत रहेकी रहेकी छन् ।

नेपालमा देखिएको कोरोना संक्रमणका अन्य केही तथ्यहरुमध्ये धेरैजसोमा कोभिड-१९ संक्रमितमा कुनै लक्षण देखिएको छैन । यस्तै, भोजपुरमा कोरोना पोजेटिभ देखिएका एक युवकमा ट्राभल हिस्ट्रीको ४२ दिनपछि कोरोना पुष्टी भएको थियो । नेपालमा सबैभन्दा कान्छो कोरोना पोजेटिभ देखिएका शिशुको उमेर मात्र दुई महिनाको छ भने सबैभन्दा बढी उमेरकी कोरोना संक्रमित महिलाको उमेर ८१ वर्ष छ । कोभिड-१९ पोजेटिभ देखिएकी ८१ वर्षीया वृद्ध निको भएर घर फर्किसकेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ