२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधुलिखेल ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको मृत्यु

धुलिखेल ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको मृत्यु


काठमाडौं—नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया ती महिला ९ दिनकी सुत्केरी थिइन् ।

श्वासप्रश्वासमा समस्या देखिएर धुलिखेल अस्पताल ल्याइएकी उनको अस्पतालकै गेटमै आइपुग्दा मृत्यु भैसकेको अस्पतालका एक चिकित्सक बताए । ‘श्वास प्रश्वासका कारण उनको मृत्यु भएपछि हामीले उनको थ्रोट स्वाब बिहीबार नै लिएका थियौं । धुलिखेल अस्पतालकै ल्याबमा जाँच गर्दा आज (शनिबार) उनको रिपोर्टमा कोरोना पोजेटिभ देखियो,’ उनले भने, ‘नेपालमा पहिलो केस भएको हुँदा थप पुष्टीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका हौं ।’

विज्ञहरुकाअनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको त्यही नमुना अर्को पिसिआरमा मेसिन नेगेटिभ आउने सम्भावना हुँदैन ।

सिन्धुपाल्चोकको बाह्रबिसेकी ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । समयअगावै सुत्केरी भएकी उनको बच्चा सामान्य तौलभन्दा केही कम भएतापनि नर्मल डेलिभरी भएका कारण अस्पतालले उनलाई डिस्चार्ज गरिदिएको थियो ।

डिस्चार्जपछि दुई दिन काठमाडौंमै बसेर बाह्रबिसे फर्किएकी उनलाई गत बुधबार श्वास प्रश्वासमा समस्या देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

स्वास्थ्य समस्यामा सुधार नभएपछि बिहीबार उनलाई पुनः एम्बुलेन्समा राखेर शिक्षण अस्पताल ल्याउने क्रममा बाटैंमा स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि धुलिखेल अस्पताल लगिएको थियो ।

पहिलो केस आएपछि त्यसलाई कसरी बाहिर ल्याउने भन्ने विषयमा मन्त्रालयमा छलफलमा भैरहेको मन्त्रालयका एक अधिकारी बताए ।

धुलिखेल अस्पातलका प्रवक्ता डा. सुमनराज ताम्राकारले आफूहरुले ती महिलाको रिपोर्ट काठमाडौं पठाएको र त्यसको बारेमा आधिकारिक जानकारी मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा आउने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ