२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघरघरमै मोबाइल दन्त उपचार

घरघरमै मोबाइल दन्त उपचार


‘हेलो । ओम समाज डेन्टल ।’
‘हजुर हो । के समस्या छ भन्नुहोस् ?’
‘मेरो भाइ हिडडुल गर्न सक्दैन । उसको दाँतको समस्या एकदमैं बल्झिएको छ । हजुरहरुले यस्ता व्यक्तिलाई निःशुल्क मोबाइल उपचार सेवा उपलब्ध गराउनु हुँदोरहेछ । एकदमै समस्या छ, यही आएर उपचार गरिदिनुपर्‍यो ।’

मुलुकमा  लकडाउन जारी रहँदा केही दिनअघि चाबहिलस्थित ओम समाज डेन्टलको मोबाइल उपचार सेवा ९८५१२१९३४२ मा भएको संवाद हो यो । लगतै अस्पतालले बिरामी हिडडुल गर्न सक्ने/नसक्ने, लोकेसनलगायतका सबै कुरा बुझ्यो । बिरामी जेनयुन देखिएपछि उपचारको सम्पूर्ण प्रविधी फिट भएको अत्याधिक एम्बुलेन्स चिकित्सक र सहयोगीसहित बिरामीको घरतर्फ हुइँकियो । दाँतमा समस्या देखिएका बिरामीको घरबाहिर पुगेपछि बिरामीलाई एम्बुलेन्समा ल्याइयो र उपचार सुरु गरियो । उपचारपछि ती बिरामी सन्चो भएँ ।

लकडाउनको अवधिमा सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेका बेला ओम समाज डेन्टलले भने अपांग, अशक्त, हिडडुल गर्न नसक्ने, बिरामी र वृद्धवृद्धालाई घरमै पुगेर मोबाइल उपचार सेवा प्रदान गरिरहेको छ । लकडाउनको एक हप्तापछि सुरु गरिएको निःशुल्क मोबाइल उपचार सेवाबाट अहिलेसम्म ३ सय बढी यस्ता दन्त रोगका बिरामीहरु लाभान्वित भएको अस्पतालका प्रमुख डा. सुभाष घिमिरेले जानकारी दिए ।

‘हिडन नसक्ने, अपांग, अशक्त, बिरामी र वृद्धवृद्धाहरुलाई हामीले घरघरमै पुगेर निःशुल्क मोबाइल उपचार सेवा प्रदान गरिरहेका छौं,’ डा. घिमिरेले भने, ‘लकडाउनको एक हप्तापछिबाट सुरु गरिएको यो सेवामार्फत अहिले ३ सय बढी लाभान्वित भैसकेका छन् ।’ उनकाअनुसार कोरोना भाइरसको उच्च जोखिमका बीच दाँतको पीडाले झन रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने भएकाले अस्पतालले कमजोर इम्युनिटी पावर भएका वर्गलाई लक्षित गरी यो सेवा निःशुल्क उपलब्ध गराइरहेको बताए ।

केही दिनअघिमात्रै अस्पतालमा ठमेलस्थित बह्मकुमारीको कार्यलयमा पुगेर ४० वर्षअघि एक्सीडेन्ट भएपछि प्यारालाइसिस भएकी माताको उपचार समेत अस्पतालले सम्पन्न गरेको थियो । ब्रेन ह्यामरेज र प्यारालाइसिस भएकी ती माता सन् १९८० मा एक्सीडेन्ट परेकी थिइन् ।

ओम समाज डेन्टलको आधिकारिक फेसबुक पेज, वेबसाइट र विभिन्न मिडियामार्फत अस्पतालले उपलब्ध गराएको फोन नम्बर ९८५१२१९३४२ र ९८५१२२९३४१ मार्फत बिरामीहरुले अस्पताललाई सम्पर्क गर्ने गरेका छन् । बिरामीको सम्पर्कपछि ओम समाज डेन्टलले बिरामीको विश्लेषण गरी पीपीईलगायतका सुरक्षा उपकरण लगाएर चिकित्सकहरु उपचारका लागि मोबाइल एम्बुलेन्समार्फत घरसम्म पठाउँछ । घरबाहिरै एम्बुलेन्समा बिरामीहरुको उपचार गर्ने गरिन्छ । मोबाइल भ्यानमा चिकित्सक र सहयोगीसहित तीन जना चिकित्सक बिरामीको घरसम्म पुग्छन् । पीपीई, डिस्ट्यान्सीङलगायतका कुराहरु विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार पालना गरी बिरामी उपचार गरिन्छ ।

डा. घिमिरेकाअनुसार अहिलेसम्म दाँतको पीडाका कारण बेहोस भएका, गिजा सफाइ गर्नुपर्ने, क्युरेट गर्ने, दाँत निकालदिने, दाँत भर्ने, रुट क्यानल ट्रिटमेन्टलगायतका सेवाहरु मोबाइल उपचारमार्फत निःशुल्क उपलब्ध गराइएको छ । अस्पतालको आन्तरिक स्रोतबाटै अशक्त, विरामी, वृद्धवृद्धा र असहायहरुलाई यस्तो सेवा निःशुल्क प्रदान गरिएको उनले जानकारी दिए । ‘चिकित्सकमा समाजको पनि लगानी भएकाले ओम समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सेवा प्रदान गरिरहेको छ,’ उनले भने, ‘लकडाउन अवधिभर यो सेवा जारी राख्छौ ।’

उनले अन्य सामान्य बिरामीहरुको हकमा भने अस्पतालले मोबाइल उपचार सेवा उपलब्ध नगराउने बताए । कोभिड–१९ पछि धेरै डेन्टल तथा अन्य अस्पतालहरुले आफ्नो सेवा बन्द गरेपनि ओम समाजले भने अहिलेसम्म सेवा दिइरहेको छ । ‘हाम्रो अस्पताल कहिल्यै पनि बन्द भएन, खुल्ला छ । अस्पतालले आएका बिरामी हेर्न पनि छाडेको छैन्,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ