२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर

पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर


काठमाडौं—नेपालमा पहिलो पटक कोरोनाबाट मृत्यु भएकी महिलाको संक्रमणको स्रोत त्रिवि शिक्षण अस्पताल नभएको ट्रेसिङ टोलीले प्रारम्भिक ठहर गरेको छ ।

त्रिवि शिक्षण अस्पतालसँग जोडिएका कोभिड—१९ केसको ट्रेसिङका लागि बनाइएको टोलीले गरेको अध्ययनले ती महिलाको संक्रमणको स्रोत उनी बसेको टोखातर्फ लक्षित गरेको छ । सो टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इडिसिडी, त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिस एण्ड भास्कुलर सेन्टरका गरी १२ जना रहेका थिए ।

टोलीले कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा ती महिलाको सम्पर्कमा आएका एक छिमेकीको पिसिआर र आरडिटी दुवै परीक्षणमा पोजेटिभ आएपछि संक्रमण स्रोत अध्ययन त्यतातिर सोझ्याएको छ । ट्रेसिङमा संलग्न एक अधिकारीकाअनुसार ती छिमेकी र मृतक महिलामा कोभिड—१९ को संक्रमण झण्डै एकै समयमा सुरु भएको देखिएको छ ।

सो टोलीले संक्रमित महिलामा सुत्केरी हुनु अगाडि नै संक्रमण सरिसकेको समेत अनुमान गरेको छ । ‘ती महिलामा सुत्केरी हुनु अगाडि नै संक्रमण सरेको हुन सक्ने प्रारम्भिक अनुमान अनुसन्धान टोलीले गरेको छ,’ अध्ययनमा संलग्न ती अधिकारीले भने, ‘तर, उनलाई अप्ठ्यारो अवस्था भने सुत्केरी भएर सिन्धुपाल्चोक पुगेपछि मात्रै आएको देखिन्छ ।’

१ जेठमा धुलिखेलमा अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलामा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यही दिन स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारण कोरोना भाइरस रहेको जनाएको थियो ।

मृत्यु हुँदा उनी ९ दिनकी सुत्केरी थिइन् । काठमाडौं टोखा अस्थायी बसोबास गर्दै आएकी उनी २३ बैशाखमा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट २४ बैशाखमा उनी सामान्य अवस्थामा सुत्केरी भएकी थिइन् । २५ बैशाखमा उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालमै १ जेठमा कपिलवस्तुकी एक ६ वर्षीया बिरामीमा कोभिड—१९ देखिएसँगै ती सुत्केरीलाई पनि त्यहीबाट कोरोना संक्रमण भएको आशंका गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ