२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँकेमा कोभिड—१९ पुष्टि भएका लक्षणबिहिनलाई अस्पताल नल्याइने

बाँकेमा कोभिड—१९ पुष्टि भएका लक्षणबिहिनलाई अस्पताल नल्याइने


काठमाडौं–बाँकेमा कोरोना संक्रमितको संख्या बढेसँगै कोभिड—१९ का लक्षण देखिएका संक्रमितहरुलाई मात्र अस्पताल ल्याउन थालिएको छ । संक्रमितको संख्या बढेसँगै आइसोलेसन बेड कमी हुँदा लक्षण नभएका संक्रमितलाई सम्बन्धित पालिकाले बनाएको क्वारेन्टाइनमै विशेष हेरचाहका साथ राख्न थालिएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले संक्रमित बढेसँगै लक्षण देखिएका र स्वास्थ्य समस्या भएकालाई मात्र अस्पताल ल्याउन थालिएको बताए ।

बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई कोभिड—१९ विशेष अस्पताल तोकिएको छ । सो अस्पतालमा ४० जनरल वेड र ८ वटा आईसीयु वेड रहेका छन् । संक्रमितको संख्या बढेसँगै सो अस्पतालमा वेड अपुग भएसँगै अहिले लाइन्स डेन्टल अस्पताल, खजुरा कृषि तालिम केन्द्र र कोहलपुर कृषि विकास केन्द्रका भवनलाई स्तरोन्नती गरी आइसोलेसन कक्षका रुपमा विकास गरिएको छ ।

सम्भावित संक्रमितको दर हेर्दा ती स्थान पनि अपुग हुने प्रक्षेपण गर्दै बाँकेको कोभिड—१९ व्यवस्थापन समितिले अब लक्षणबिहिन संक्रमितहरुलाई हाल सम्बन्धित पालिकाले तय गरेका क्वारेन्टाइनलाई व्यवस्थित गरी त्यही राख्ने निर्णय गरेको डा. थापाले जानकारी दिए ।

‘लक्षण बिहिनहरुलाई सम्बन्धित पालिकाले बनाएका क्वारेन्टाइनलाई व्यवस्थित गरी त्यही राख्ने र स्वास्थ्य समस्या देखिना साथ अस्पताल ल्याउने व्यवस्था गर्ने निर्णय भएको छ,’ हेल्थ आवजसँग उनले भने, ‘क्वारेन्टाइनमा खानपानको व्यवस्था राम्रो गर्ने र सम्बन्धित पालिकाको स्वास्थ्य टोली एम्बुलेन्ससहित अनिवार्य बस्ने गरी तयारी गरिएको छ ।’

बाँकेमा हालसम्म १ सय ४८ जनामा कोरोना भाइरसको संक्रमिण देखिएको छ । संक्रमितमध्ये १ सय ११ जना नरैनापुर गाउँपालिकाका छन् । बाँकेमा हालसम्म २२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ