२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपचारका क्रममा बिरामीको मृत्युपछि दुई चिकित्सकमाथि हातपात

उपचारका क्रममा बिरामीको मृत्युपछि दुई चिकित्सकमाथि हातपात


काठमाडौं—जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका छन् । बुधबार विहान ६ः५० मा श्वासप्रश्वासको समस्या भएपछि आरुबारीकी ५७ वर्षीया महिलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

अस्पताल आएको एक घण्टापछि बेहोस भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पताल आइपुग्दा नै उनमा अक्सिजन कमी देखिएको उपचारमा संलग्न डा. श्रीकुमार श्रेष्ठले बताए ।

‘बिरामी ल्याइपु¥याउँदा नै अक्सिजनको मात्रा कमी थियो,’ डा. श्रेष्ठले भने, ‘हामीले उपचार गर्दागर्दै ७ः४० मा बेहोस हुनुभयो । उहाँलाई बचाउन सकिएन ।’

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृत्युको कारणबारे जानकारी दिइरहँदा मृतकका आफन्तले आफू र डा. राकेश सिंहलाई हातले र लाठीले हानेको उनले बताए । ‘बिरामीमा श्वासप्रश्वासको पनि समस्या देखिएपछि हामीले कोभिडको हिस्ट्री सोधिरहेका थियौं,’ उनले थपे, ‘उपचार गर्न जाँदैनस् अनि कोभिड लागेको भनेर भन्छस् भन्दैं हातले र लाठीले हान्नुभयो ।’

सो घटना घट्दा इमर्जेन्सीमा आफूहरु दुई जना मेडिकल अफिसर, दुई जना इन्टर्न र दुई जना नर्समात्रै रहेको उनले बताए । ‘तर, बिरामीको मृत्यु भएको १५ मिनेट पनि नबित्दैं उहाँहरुले अस्पतालमा १ सयजनाभन्दा बढीलाई बोलाइसक्नुभएको छ,’ उनले भने, ‘एक्कासी हामीमाथि आइलाग्नुभयो । किन आइलाग्नुभयो थाहा पाउन सकिएन ।’

वौद्ध प्रहरी वृतका प्रमुख नवीन कार्कीले विहान उपचारमा आएकी एक जना बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकहरुले उपचारमा नेग्लीजेन्स गरेको भन्दै आक्रोशित भएको बताए । उनले अहिले त्यहाँ अस्पताल र बिरामीका आफन्तबीच छलफल भैरहेको जानकारी दिए ।

डाक्टर सोसाइटी अफ नेपालकी महासचिव तोषिमा कार्कीले कोभिड—१९ को महामारीका बेला फ्रन्टलाइनमा रहेर सेवामा खटिरहेका चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको बताइन्। ‘यत्रो माहामारीबीच सुरक्षा सामाग्री बिना उपचारमा खटिइरहँदा पनि यो आम नेपाली समाजले हामीमाथि रत्तिभर पनि विश्वास नगर्ने हो ?,’ उनले प्रश्न गरिन्, ‘बिरामीको जीवन बचाउन लागि पर्ने चिकित्सकमाथि नै हातपात र कुटपिट कहिलेसम्म ?’ उनले सरोकारवालाहरुले यसमा ध्यान दिएर चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्न पनि आग्रह गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ