२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ महिने शिशुदेखि ८१ वर्षीया वृद्धासम्मले सिटामोल पनि नलिई जिते कोरोना

४ महिने शिशुदेखि ८१ वर्षीया वृद्धासम्मले सिटामोल पनि नलिई जिते कोरोना


काठमाडाैं– नेपालमा कोभिड-१९ को संक्रमण सुरु भएदेखि बिहिबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ सय ५६ जनामा संक्रमण भएको छ । जसमा १ सय ८७ जना (बिहिवार बेलुका नारायणी अस्पतालबाट डिस्चार्ज भएका थप ४ सहित)ले यो संक्रमणलाई जितिसकेका छन् । चारजनाको भने मृत्यु भएको छ । संयोग नै मान्नुपर्छ कोभिड—१९ बाट मृत्यु भएका भनिएका चारमध्ये तीन जनाको मृत्यु भइसकेपछि पुष्टी भएको छ भने एक जनाको पनि भेन्टीलेटरमा पुगिसकेपछि मात्र कोरोना पुष्टी भएको थियो ।

नेपालमा भएको कोरोना संक्रमणका दुखद् पक्ष मात्र छैनन् । चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगन्जकी चार महिनाकी शिशु हुन् वा काठमाडौंकी ८१ वर्षीया वृद्धा दुवैले सिटामोल समेत नलिई कोरोनालाई जितेर घर फर्किए । ‘अस्पतालमा आमा १५ दिन बस्नुभयो’ पाटन अस्पतालका कोभिड—१९ व्यवस्थापन टिमका संयोजकसमेत रहेका फिजिसियन डा. विमल पाण्डे भन्छन्, ‘कुनै दिन एक ट्याबलेट सिटामोल पनि लिनुपरेन ।’  ८१ वर्षको उमेरमा पनि कुनै रोग नभएकी ती आमामा इम्युनिटी हाई भएका कारण सहज रुपमा कोरोनालाई जितेको डा. पाण्डे बताउँछन् ।

त्यसो त आमाको काखमा खेल्दै गरेकी वीरगन्जकी ४ महिनाकी शिशुले पनि कोभिड—१९ लाई सहज जितेर आमासँगै घर फर्किन् । आमासँगै अस्पताल आउदा जुन अवस्थामा थिइन्, फर्कदा पनि सोही अवस्थामा फर्किएको नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंह बताउँछन् । ‘चार महिनाको बच्चालाई पनि संक्रमण हुँदा हामी धेरै डराएका थियौ,’ उनले भने, ‘तर, एक दिन सिटामोल पनि खुवाउनु परेन ।’ उनी मात्र नभएर उनकी आमा (चार महिनाकी सुत्केरी)लाई पनि कुनै समस्या नभई घर फर्किइन् । चार महिनाकी शिशु १४ दिन अस्पतालको आइसोलेसनमा बसेपछि संक्रमण मुक्त भएर घर फर्किएकी थिइन् ।

अझ रमाइलो कुरा त के भने नेपालगञ्जमा २ महिनाकी सुत्केरीलाई पनि कोभिड—१९ संक्रमण भएको थियो । उनी सँगै ती २ महिनाकी शिशुलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । आमासँगको प्रत्यक्ष सम्पर्क हुँदा पनि ती शिशुलाई कोरोना संक्रमण देखिएन । ‘२ महिनाकी सुत्केरी महिलालाई कोभिड—१९ पुष्टि भएको थियो,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘तर, दुई महिनाकी शिशुलाई न त सुरुमा देखियो, न त डिस्चार्ज हुने समयमा नै ।’

विश्व स्वास्थ्य संगठनले उच्च जोखिम समूहमा वृद्धवृद्धालाई राखेको छ । तर, नेपालमा देखिएका अघिकांश संक्रमित लक्षणबिहिन छन् । अहिलेसम्म कोरोना पुष्टी भएका ६० वर्षमाथिका १ जना व्यक्तिको मात्र मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अहिले आइसोलेसनमा रहेका कुनै पनि संक्रमितको अवस्था गम्भीर छैन ।

नारायणी अस्पताल वीरगन्जबाट कोरोना जितेर फर्किएका बालबालिका

पाटन अस्पतालका चिकित्सक डा. पाण्डे नेपालका संक्रमितको अवस्था हेर्दा उमेरले भन्दा पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा संक्रमणको गाम्भीर्यता देखाएको बताउँछन् । ‘हाम्रोमा एज फ्याक्टरमा असर गरेको देखिएन्,’ उनी भन्छन्, ‘सायद प्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ होला ।’

नेपालमा हालसम्म १० वर्षमुनिका २६ जनामा कोभिड—१९ पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्षका १ सय ८१ जना, २१ देखि ३० वर्षका ३ सय १९, ३१ देखि ४० वर्षका २ सय २२, ४१ देखि ५० वर्षका ८९ जना, ५१ देखि ६० वर्षका ७० जनामा कोरोना देखिएको छ । यस्तै, ६१ देखि ७० वर्षका १४ जना, ७१ देखि ८० वर्षका ४ जना र ८० वर्ष माथिका १ जनामा संक्रमण पुष्टि भएको छ ।

६० वर्षदेखि माथिका १९ जनामा कोभिड—१९ देखिएकोमा मृत्युपछि कोभिड—१९ पुष्टी भएका ७५ वर्षीय १ जनाबाहेक उनीहरु सबै सामान्य अवस्थामा नै छन् । त्यसो त २० वर्ष मुनिका पनि सामान्य अवस्थामा नै छन् ।

हालसम्म कोरोना जित्नेहरु

कोशी कोरोना विशेष अस्पतालबाट—३० जना
नारायणी अस्पतालबाट— १०१ जना
टेकु र पाटन अस्पतालबाट— ११ जना
बाग्लुङ अस्पतालबाट—२ जना
कोरोना विशेष अस्पताल बुटवल र भेरी अस्पतालबाट— ३८ जना
सुदूरपश्चिम प्रादेशिक अस्पतालबाट—५ जना
जम्माः १८७ डिस्चार्ज


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ