२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व

महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व


आज मे २८ तारिख ‘महिनावारी स्वच्छता व्यवस्थापन दिवस’ यो दिवस सन् २०१४ मा जर्मनीको ‘वास युनाइटेड’ नामको एनजिओद्वारा नामाकरण गरिएको हो । महिलाहरुको महिनावारी चक्र २८ दिनको हुने भएकोले मे २८ तारिखलाई रोजिएको हो । सन् २०१८ को एक तथ्यांकअनुसार विश्वभर ५ करोड महिला र किशोरीहरु महिनावारी स्वच्छता सम्बन्धी सुविधाको उचित पहुँचमा छैनन् । सुविधा र सामाग्रीहरुको पहुँचमा कमी, महिनावारीका बेला हुने दुखाइ, गोपनीयता भंग हुन्छ कि भन्ने डर र ज्ञानको अभाव लगायत यसका मुख्य कारण मानिएका छन् ।

पपुलेसन सर्विस इन्टरनेशनल—२०१७ का अनुसार नेपालमा ८९ प्रतिशत महिलाहरुलाई कुनै न कुनै किसिमको रजस्वला भएको बेलामा प्रतिबन्ध लगाइन्छ । हाम्रो देशमा सन् २००६ मा युनिसेफले वाटर, स्यानिटेसन एण्ड हाइजिन (वास) इन स्कुल (वीन्स) नेपालमा भित्र्याएको थियो । युनिसेफले सन् २०१८ मा बाजुरा, अछाम र पर्सा जिल्लाको अनुसन्धान गर्दा वीन्स कार्यक्रम लागु भएका विद्यालयहरुमा महिनावारी सम्बन्धी जानकारी किशोरीहरूमा ५७ प्रतिशत रहेको देखियो भने उक्त कार्यक्रम नभएको विद्यालयमा ४८ प्रतिशत जानकारी रहेको देखियो ।

अझ पर्सा जिल्लाको स्कुलका ७६ प्रतिशत किशोरीहरुमा त महिनावारी भनेको के हो र यो किन हुन्छ भन्ने जानकारी नै नभएको अनुसन्धानले बताउँछ । यी तथ्यांकहरुले महिनावारी स्वच्छता व्यवस्थापनको ज्ञान अझै आम महिला तथा किशोरीमा पुगेको छैन भन्ने बुझिन्छ ।

महिनावारी भनेको के हो ?

प्रत्येक महिना पाठेघरबाट योनी हुँदै निस्किने रगतलाई महिनावारी भनिन्छ । यो प्रत्येक महिना औसत १५ वर्षदेखि ४९ वर्षसम्मको महिलाहरुमा ३ देखि ५ दिनसम्म सामान्यतः ६० देखि ८० मिलि जति रगत बग्ने गर्दछ ।

महिनावारीको समयमा देखिन सक्ने सामान्य समस्याहरुः
१. तल्लो पेट दुख्ने
२. छाती दुख्ने वा भारी हुने
३. तनाव र थकान हुने
४. उदासता बढ्ने, खिन्नता बढ्ने
५. दिक्क लाग्ने
६. टाउको तथा ढाड कम्मर दुख्ने
७. कालो वा खैरो रगत बग्ने

महिनावारी स्वच्छता व्यवस्थापन भनेको के हो ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफ ज्वाइन्ट मोनिटरिङ प्रोग्राम २०१४ अनुसार महिला र किशोरीहरुले आफ्नो स्वच्छ महिनावारी व्यवस्थापनका लागि प्रयोग हुने सामाग्रीको मद्दतले रगत सोस्ने वा संकलन गर्ने र आवश्यताअनुसार परिवर्तन गर्न सक्ने, साबुन पानीको प्रयोग गरी आवश्यताअनुसार शरीर सफा गर्न सके र प्रयोग गरिएको सामाग्रीहरुको फोहोर मैला सुरक्षित किसिमले व्यवस्थापन गरिएमा त्यसलाई महिनावारी स्वच्छता व्यवस्थापन भनिन्छ । महिनावारी सरसफाइ राम्रो नभएमा र ज्ञानको कमी भएमा स्वास्थ्यमा विभिन्न जोखिमहरु आउन सक्छन् ।

१. फोहोर महिनावारी सामाग्रीको प्रयोगले योनीदेखि पाठेघरसम्म संक्रमण हुन सक्छ ।
२. महिनावारीको सामाग्री (प्याड वा कपडा) समयमै परिवर्तन नगरेमा चिसो प्याडको कारणले किटाणुको संक्रमणलाई बढाउँछ, जसले गर्दा छालामा चिलाउने र घाउ आउनेसम्म हुन सक्छ ।
३. योनी भित्र फोहोर सामाग्री छिराएमा पाठेघरको संक्रमण हुन सक्छ ।
४. ट्याम्पनको लामो प्रयोगले टक्सिक सक सिन्ड्रोम हुन सक्छ ।
५. योनी सफा गर्दा पछाडिबाट अगाडि ग¥यो भने मलद्वारको जीवाणु योनीमा आएर संक्रमण गराउँन सक्छ ।
६. महिनावारीको समयमा प्रयोग भएको सामाग्री राम्रोसँग डिस्पोजल नगरिएमा र साबुन पानीले हात नधोएमा रगतबाट सर्ने रोगजस्तै हेपटाईटीस बी र एचआईभीजस्ता रोग लाग्न सक्छ ।
७. योनी भित्र पानी हालेर सफा गर्न खोज्दा पानीमा रहेको जीवाणुले संक्रमण बढाउन सक्छ ।

महिनावारी हुँदा गर्नुपर्ने कार्यहरु

१. विहान साँझ साबुनपानीले यौन अंग सफा गर्ने ।
२. सफा सामाग्री प्याड वा कपडा प्रयोग गर्ने, बायो प्याडको प्रयोग गर्दा आफूलाई साथै वातावरणलाई पनि फाइदा हुन्छ । बायोप्याड सफा गरी पटक—पटक प्रयोग गर्न सकिन्छ । आर्थिक रुपले बचत हुने र वातावरणमा कुहिने हुन्छ ।
३. योनी सफा गर्दा अगाडिबाट पछाडि सफा गर्ने, प्रत्येक ४ देखि ६ घन्टाको फरकमा वा आवश्यकताअनुसार महिनावारीको सामाग्री परिवर्तन गर्ने ।

महिनावारी हुँदा देखिने सामान्य समस्याको घरेलु व्यवस्थापन कसरी गर्ने ?

१. दुखाइ कम गर्न तातोले सेक्ने, व्यायाम गर्ने, चिल्लो पिरो क्याफिन रक्सी चुरोट सेवन नगर्ने ।
२. केरामा पोटासियमको मात्र रहने हुनाले तल्लो पेटको दुखाइ कम गर्न यसको सेवनले मद्दत गर्दछ ।
३. अदुवा र कागती पानीको सेवनले दुखाइ कम गर्न र संक्रमण कम गर्न मद्दत गर्दछ ।
४. कालो वा खैरो रगत देखिनु : प्राय धेरैलाई कालो वा खैरो रगत देखिँदा डराउने चलन छ । यस्तो रगतको प्रकृति सामान्य नै हो, डराउनु पर्दैन । अमेरिकन एकेडेमी अफ अब्स्ट्रेटिसियन र गाइनेकोलोजिस्टका अनुसार महिनावारी चक्रको अवधिअनुसार रगतको रंग परिवर्तन हुन्छ भनिएको छ । पाठेघरबाट रगत बग्न समय लाग्यो वा ढिलो बग्यो भने पनि अक्सिजनसँग मिल्न गई रगत कालो वा खैरो हुन सक्छ, जुन सामान्य नै हो ।

५. महिनावारी हुनु अगाडि वा भएको समयमा दिक्क लाग्ने, खिन्नता बढ्ने आदि मानसिक समस्या भएमाः हर्मोनल परिवर्तनको कारणले यस्तो हुन गएको पनि हुन सक्छ । यस्तो अवस्थाले महिनावारी हुनुभन्दा ५ देखि ११ दिन अगाडिबाटै ‘प्रिमेन्चुरल सिन्ड्रोम’ देखिन्छ । यो बेलामा इस्ट्रोजन र प्रोजेस्टेरोनको मात्र बढ्न गइ सेरोटोनिनको मात्रामा गडबढी हुन जान्छ र यस्तो हुन्छ । यस्तो समस्याको जटिलता बढ्यो भने २/३ प्रतिशत महिलामा मानसिक समस्या पनि आउन सक्छ । जसका लागि एकान्तमा बसेर एक्लोपन महसुस गर्नु ठीक हुँदैन ।

(आचार्य इन्स्टिच्युट अफ मेडिसिनमा मास्टर इन नर्सिङ अध्ययनरत छन् ।)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ