२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२० प्रहरी, ९ सेना र ४ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

२० प्रहरी, ९ सेना र ४ सशस्त्र प्रहरीमा कोरोना पुष्टि


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) को विश्वव्यापी महामारीकाबीच नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । फ्रन्टलाइनमा खटेर कोरोना नियन्त्रणमा संलग्न सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।

हेल्थआवाजलाई प्राप्त विवरणअनुसार आइतबारसम्म नेपाली सेनाका ९ जना, नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरी बलका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका देशभित्र ४ जना र देशबाहिर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको हो,’ हेल्थआवाजसँग उनले भने, ‘जसमध्ये ७ जना आइसोलेसनमा उपचाररत हुनुहुन्छ, दुई जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि घर फर्किसक्नुभएको छ ।’

प्रवक्ता पाण्डेकाअनुसार नेपालभित्र महोत्तरी र बारामा २/२ जनामा कोरोना संक्रमण देखिएको हो । महोत्तरीमा संक्रमण देखिएका दुवै जना एपीएफ अस्पताल बलम्बुमा उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । बाराका दुई जनाको भने गण्डक अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । देशबाहिर भने युएन मिसन सेन्ट्रल रिपब्लिक अफ अफ्रिकामा २ जना, बालीमा २ जना, साउथ सुडान १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, नेपाल प्रहरीका २० जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीकाअनुसार २ जना भने निको भएर घर फर्किसकेका छन् । नेपाल प्रहरीतर्फ बारामा ७ जना, कपिलवस्तुमा २ जना, धनकुटामा २ जना, बाँकेमा १ जना, धनुषामा २ जना, सप्तरी २ जना र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका २ जना प्रहरी भने संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । अहिलेसम्म १८ जना प्रहरी कोरोना संक्रमणपछि विभिन्न अस्पतालका आइसोलेसनमा उपचार गरिरहेका छन् ।

सशस्त्र प्रहरीको ४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जना काठमाडौं र दुई जना उपत्यकाबाहिरका रहेको सशस्त्रका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ