२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३२ हजार बालबालिका बीसीजी खोपबाट बन्चित

३२ हजार बालबालिका बीसीजी खोपबाट बन्चित


काठमाडौं—बीसीजी खोपलगाएका देशमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम भएको विभिन्न अनुसन्धानहरुले बताइरहेका बेला नेपालमा भने ठूलो संख्यामा बीसीजी खोप लगाउन बालबालिका छुटेका छन् । सरकारी तथ्यांकअनुसार कोभिड–१९ सुरु भएयता ३२ हजार बालबालिका बीसीजी खोप लगाउनबाट बन्चित भएका हुन् ।

मुख्यगरी चैतमा भएको लकडाउने बीसीजी खोपमा ठूलो असर पारेको सरकारी अधिकारीले बताएका छन् । परिवार कल्याण महाशाखाका अनुसार चैत महिनामा १२ हजार मात्रै बालवालिकाले बीसीजी खोप पाएको तथ्यांक छ ।

बीसीजी खोप जन्मनसाथ शिशुलाई लगाइन्छ । यस खोपले क्षयरोग (टि.बी.) का साथै भाइरल ज्वरो, श्वासप्रश्वासलगायत अन्य थुप्रै संक्रमणसँग जुध्ने र शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाउने काम गर्छ ।

बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले गत चैतमा बीबीजी (बासिल क्याल्मेट गुएरिन) खोप नलगाउने देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर धेरै बढी रहेको तथ्य पत्ता लगाएका थिए । तर, बीसीजी खोपले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युलाई रोक्ने र संक्रमणलाई कम गर्छ भन्ने एकिन भने भइसकेको छैन परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

क्षयरोगविरुद्ध दिइने यो खोप धेरैजसो देशमा सरकारी मापदण्डभित्र समावेश गर्दै अनिवार्य गरिएको छ । तर, नेपालमा कोभिड—१९ सुरु भएयता बीसीजी खोपको दायरा बढ्नुपर्नेमा आश्चर्यजनक रुपमा घटेको छ । कोरोनाभाइरस सक्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरी नै बहस चलिरहेको बेला नेपालमा भने ठूलो संख्यामा बालवालिका बीसीजी खोप पाउनबाट बन्चित भएको तथ्यांकले देखाएको छ ।

गत वर्षको चैतमा ४५ हजार बालवालिकाले बीसीजी खोप लिएका थिए । तर, यो चैतमा खोप लिनेको संख्या घटेर १२ हजार ७८५ मा झरेको छ । डा. गौतमका अनुसार नेपालमा चल्ने ११ वटा नियमित खोपमा बीसीजीको कभरेज सबैभन्दा राम्रो थियो । ‘तर, अहिले लकडाउने खोप पाउने दर घटेको छ,’ उनले भने । उनकाअनुसार चैत र बैशाखको कभरेज ३० प्रतिशत मात्रै रहेको छ । ‘अहिले पुनः नियमित खोप सेवा सुरु गरेका छौं । यसले खोपको कभरेजलाई बढाउँदै लैजाने विश्वास लिएका छौं,’ उनले थपे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ