२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट मृत्युः चिया खाजा खाइसक्ने बित्तिकै ढलेका उनी उठ्दै उठेनन्

कोरोनाबाट मृत्युः चिया खाजा खाइसक्ने बित्तिकै ढलेका उनी उठ्दै उठेनन्


सुर्खेत—‘रिपोर्ट बेलैमा आएको र दुल्लु नगरपालिका—६ मा रहेको आइसोलेसन वार्डमा राखेर उपचार गर्न सकेको भए सायद उनलाई हामी बचाउन सक्थ्यौ कि ?’ शनिबार क्वारेन्टाइनमा मृत्यु भएका स्थानीय ३५ वर्षीय युवाका विषयमा दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले भने ।

तर, तीन दिनसम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन मै राख्नु परेकोले उनलाई बचाउन नसकिएको गुनासो पनि उनले पोखे । उनको यो भनाइबाट कतै न कतै ती संक्रमितको ज्यान छिटो कोरोना पहिचान हुँदा बचाउन सकिने थोरै आशा झल्किन्छ । यदि चाँडो कोरोनाको पहिचान भएको भए उनले चाँडो उपचार पाउन सक्थे ।

दैलेखको यो प्रतिनिधी घटना हो । यसले ढिलो परीक्षण र अव्यवस्थित क्वारेन्टाइनको यथार्थ झल्काउँछ । कर्णाली प्रदेशमा संक्रमितको सख्या बढेसँगै आइसोलेसन बेडको अभावका कारण संक्रमित पनि क्वारेन्टाइनमै बस्न बाध्य बनेका छन् । त्यस्तै, कोरोना परीक्षणकै रिपोर्ट आउने प्रक्रियामा ढिलाइ हुने हुँदा संक्रमितको पहिचान छिट्टो हुन् सक्दैन जसले गर्दा चाँडो उपचार हुन् पाउँदैन ।

कोभिड—१९ बाट दैलेखको दुल्लु नगरपालिका—११ का ३५ वर्षीय पुरुषले शनिबार ज्यान गुमाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उनको मृत्यु कोभिड—१९ बाट भएको पुष्टि गरिसकेको छ ।

कलिलैमा परिवारका आफन्त गुमाएपछि उनका परिवार यतिखेर गहिरो शोकमा डुबेको छ । यसको साथै कोरोनाका लक्षणबिहीन उनको मृत्युको कारण कोभिड—१९ नै हो वा होइन भन्ने विषयमा पनि परिवार अन्योलमा छ ।

लक्षणविहिन रहेका उनको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा रिपोर्टमा पोजेटिभ आयोे । मृतक युवा पहिले त्यस्तो कुनै दीर्घ रोगका बिरामी नभएको उनका परिवारले जानकारी दिएको नगरप्रमुख भण्डारीको भनाइ छ ।

पटक—पटक भारत गइरहन्थे उनी 

मृतक बसेको क्वारेन्टाइन

भारतको गुजरातस्थित अहमदावादमा एक होटलमा कुकको काम गर्ने उनी पटक—पटक भारत गइरहन्थे । यसपटक पनि उनी १ वर्ष भारतमा बसेर दैलेख फर्केका थिए । रेल सेवा संञ्चालन भएसँगै नेपाल फर्किएका उनी जेष्ठ ९ गते नेपाल–भारत सिमा रुपैडिया आइपुगेका थिए । दुल्लु नगरपालिकाले ब्यवस्थापन गरेको गाडीमा जेष्ठ १० गते तल्लो डुगेश्वर पुगेका उनी सिधै दुल्लु नगरपालिका—७ मा विद्युत शव स्टेशनमा बनाइएको क्वारेन्टाइनमा आएका थिए । १५ गते उनीसहितको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

उनीसहित अन्य २ जना एउटा कोठामा बस्थे । उनीसँगै बस्ने दुई जना मृतक नजिकका गाउँका हुन् । शनिबार चिया खाजा खाएपछि उनी एक्कासी ढलेको दुल्लु नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिए । उनी बेहोस भएको पाँच मिनेटमा इन्सपेक्टर हिक्मत बोहोराको टोली र १५ मिनेटमै दुल्लु अस्पतालको डाक्टर पुजा बिसी उनलाई उपचार गर्नको लागि एम्बुलेन्स लिएर पुगेका थिए । उनले भने, ‘उनी पल्टिएकै ठाउँमा उनको मृत्यु भइसकेको रहेछ । हामीले इको र इसिजी गर्ने र जसरी पनि उनलाई बचाउने भन्नेर तत्काल सबै ब्यवस्थापन गरेका थियौ तर सकेनौं ।’

शनिबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । नगर प्रमुख भण्डारीकाका अनुसार बाहिरबाट आउने धेरै भएका क्वारेन्टाइनमा नेपाल सरकारको मापदण्डअनुसार राख्न सकिएको छैन । हालसम्म दुल्लु नगरपालिकामा मात्र करिब २५ सय बढी भित्रिसकेका छन् ।

अहिलेसम्म स्थानीय सरकाले सक्दो भार थेगे पनि अब प्रदेश सरकार र संघीय सरकारले चासो दिएर उपचार सामाग्री बढाउनुपर्नेमा उनको जोड छ । त्यस्तै, पिसिआर रिपोर्टलाई तीब्रता नदिने हो भने उनीजस्तै मृत्यु भएपछि मात्र कोरोना पुष्टि हुने र उपचार नपाएर धेरैले ज्यान गुमाउनपर्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ