डा. सन्तोष सापकोटा र अमिता श्रेष्ठ । ४० को उकालोमा हिडिरहेका यो जोडी संसारकै सबैभन्दा व्यस्त जीवनशैली भएको देश मानिने अमेरिकाको फिनिक्स एरिजोनामा बस्छ । सन्तोष पेशाले चिकित्सकहरुलाई हेल्थ इन्फर्मेशन पद्धतिबारे पढाउने काम गर्छन् भने अमिता नर्स भएर काम गर्छिन्।
श्रव्य, दृश्य साझेदार गर्ने सोसल एप ‘टिकटक’मा यो जोडी विगत दश महिनादेखि सक्रिय छ । सचेतना जगाउनेदेखि हँसाउनेसम्मका भिडियो बनाउँदैं आएको यो जोडीका प्रशंसकहरु पनि बढिरहेका छन् । १० जेठमा रुकुमको सोतीमा घटेको घटनापछि यो जोडीले ‘किन हुन्छ यो भेद र भाव…’ गीतमा बनाएको छोटो टिकटक भिडियोले त चौतर्फी तारिफ बटुल्यो । ‘धेरै जनाले त्यो भिडियोको सोचेभन्दा बढी नै प्रशंशा गर्नुभयो,’ अमेरिका नेपाल मेडिकल फाउण्डेसनका निवर्तमान अध्यक्ष समेत रहेका डा. सन्तोष भन्छन्, ‘टिकटक एक सचेतना जगाउने राम्रो संजाल पनि हुन सक्ने सम्भावना देखियो।’
छोटो-छोटो भिडियो सजिलै बनाउन सकिने र समय पनि धेरै नलाग्ने भएकोले टिकटकतर्फ आकर्षित भएका हुन्। नयाँ-नयाँ सोच प्रयोग गरिरहने स्वभावका डा. सन्तोषका लागि त यो झन उत्कृष्ट माध्यम प्रमाणित भयो। ‘बनाउन मन लागेका बेला थोरै समयमै रमाइला भिडियोहरु बनाउन सकिन्छ,’ उनी सुनाउँछन्, ‘धेरैजसो १५ सेकेण्डका भिडियोहरु छन्।’
उनीहरु दुवैको बेग्ला—बेग्लै टिकटक एकाउण्टहरु छन् । डा. सन्तोष @idk_santosh मार्फत भिडियो सेयर गर्छन् भने @idk_amita नामक एकाउण्टमार्फत अमिता । डा. सन्तोष टिकटकमा हाँस्यव्यंग र नाचका भिडियोहरु बढी राख्छन् । अमिता भने खाना पकाएको, फुलवारी र छोराछोरीसँगका भिडियोहरु आफ्नो टिकटकमा राख्छिन् । ‘हामीले सबैलाई मनोरन्जन दिने खालका भिडियोहरु नै राख्ने प्रयास गर्छौं,’ अमिता भन्छिन्। सकारात्मक सोचाइ विकास गर्ने खालका भिडियोहरु नै हाम्रो प्राथमिकतामा पर्छन् ।’ यो जोडीको उद्देश्य अरुलाई भरपुर मनोरन्जन दिने र थोरै भएपनि सचेतना फैलाउने हो।
अरुहरुको टिकटक भिडियोहरु हेर्दाहेर्दै डा. सन्तोषको रुची पनि टिकटकमा गएको हो। सुरुमा टिकटक बनाउँदा दुवै जनालाई खासै अनुभव थिएन् त्यसैले जस्तो आयो, त्यही रमाइलो बनाउन प्रयास गरे । हुनत टेक्नोलोजीमा एकदमै आकर्षित हुने डा. सन्तोष थप्छन्, ‘लौ शुरु गरौ न त भनेर यतातिर लागियो ।’ अहिलेसम्म बनाएका भिडियोहरुबाट यो जोडीले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । कतिपय त ‘यो भिडियो गर्दिए हुन्थ्यो, उ गर्दिए हुन्थ्यो’ भनेर अनुरोध पनि गर्छन् ।
कुन विधामा यो जोडीले टिकटक बनाउन रुचाउँछ त ? ‘टिकटक भिडियोहरुका लागि कुनै निश्चित विधा छैन् । जतिसक्दो मान्छेले मनोरन्जन लिउन भन्ने सोचका साथ भिडियो बनाउँछौं,’ सन्तोष भन्छन्, ‘धेरैजसो भिडियोहरु फेसबुकमा पनि राखिदिन्छु।’ उनलाई अहिले पनि आफूले बनाएका भिडियोहरु किन रुचाइएका होलान भन्नेमा विश्वास छैन् । ‘फेसबुकमा हजारौं र टिकटकमा लाखौं लाख पटक पनि हेरिन्छन। फेसबुकमा चिनेका मान्छेले हेर्ने भएकाले रमाइलो लाग्छ तर अहिले अलि अलि चिनेका साथीहरु टिकटकमा जोडिदैछन्। कोही फोन गरेरै भिडियोले मन छोएको कुरा सुनाउँछन्, कोही मन पर्यो र अर्को कहिले आउँछ भनेर कमेन्ट गर्छन्, म्यासेज पठाउँछन्।
६० सेकेण्डसम्मका भिडियोहरु बनाउन सकिने भएकाले कुनै-कुनै भिडियो चार पाँच मिनेटमै बनाउन सकिन्छ । कतिपय भिडियोका यो जोडीले एक टेकमै बनाएको पनि छ । तर, केही फरक खालका र नयाँ आइडियामा बनाएका भिडियोहरुमा भने अलि समय लाग्छ । फुर्सदको समयमा बनाइने भएपनि सचेतनामूलक भिडियोहरु बनाउन समय खर्चिनुपर्छ । नाचका भिडियोहरुमा स्टेप छनोट, रिहर्सल, पोशाक छनोटजस्ता कुराहरुमा ध्यान दिनुपर्ने भएकाले बढी समय लाग्छ । ‘डान्सिङ भिडियोहरु गर्दा दुई जनाले सिक्नुपर्ने हुन्छ, त्यसमा पनि समय लाग्छ,’ अमिता सुनाउँछिन्, ‘पहिले जे जायो त्यही गथ्र्यौ । अहिले धेरैजनाले हेर्ने भएकाले मिलाएर गरौं भन्ने कुरामा पनि ध्यान दिन्छौं ।’
रमाइला आइडियाहरुका लागि दुवै जना बसेर भिडियो बनाउनुपूर्व छलफल गर्छन् । ‘टिकटकमा कसैको भिडियो मन पर्यो भने धेरैले जस्ताको तस्तै पनि उतार्छन् तर हामी पूरै नक्कल गर्दैनौं । केही आफ्ना मौलिक कुराहरु पनि थप्छौँ । समसायिक घटनाहरु घटिरहँदा अलि फरक आइडियाहरु आइरहेका हुन्छन् । तिनै बिषयमा टिकटक गर्यो भने केही अर्थ राख्छ भन्ने सोच्छौं,’ डा. सन्तोष सुनाउँछन्, ‘मेरा लागि यो प्रयोग नै हो । टिकटकका बारेमा अझै सिक्दैछौं ।’ परिणाम नै मान्नुपर्छ, कालापानी मुद्धा चर्किदा यो जोडीले त्यसैमा केन्द्रित भिडियो बनाउँछ भने कोभिड—१९ सचेतनाका लागि पनि भिडियो बनाइरहेको हुन्छ । रुकुम घटनापछि जातीय भेदभाव गलत हो भन्ने सन्देश प्रवाहित गर्ने भिडियो पनि फरक कन्सेप्ट नै हो ।
मानिसहरुमा कसरी सकारात्मक सोचाइहरु बढाउन सकिन्छ भन्नेमै यो जोडीको बढी ध्यान केन्द्रित रहन्छ। त्यसबाहेक मनोरन्जन उनीहरुले टिकटक भिडियोमार्फत पस्किने अर्को महत्वपूर्ण खुराक हो । अहिलेसम्म यो जोडीले चार पाँच सय टिकटक भिडियोहरु बनाइसकेको छ । ‘अहिलेसम्म धेरैजनाले मन पराएको सोसल डिसक्रिमिसनमाथि बनाइएको टिकटक भिडियो हो,’ दुवै जनाले एकसाथ भने, ‘एकदमै राम्रो भनेर प्रतिक्रिया आयो, धेरैले रुवायो भनेर पनि प्रतिक्रिया दिनुभयो ।’ कति जोक्सका भिडियोहरु त एक टेकमै मिनेटमै तयार हुने भएपनि यो भिडियो कन्सेप्ट, पहिरन, डान्स प्रयाक्टिस, पहिरनसम्म सुटिङसम्म गरी ४ घण्टा लगाएर बनाइएको हो । भविष्यमा यो जोडीले टिकटक भिडियोहरु ४—५ मिनेटका कम्पाइल गरेर युट्युबमा पनि राख्ने सोच बनाएको छ । अन्तिममा यो भन्न करै लाग्छ—अश्लीलता फैलाएको र समय किल गरेको भन्दैं कुनै देशमा बन्देजसम्म लगाइएको यो श्रव्य—दृश्य भिडियो सेयरिङ एपको यति गहकिलो र सिर्जनशील प्रयोगमार्फत सकारात्मक सन्देश प्रवाहित गर्ने दम्पत्तीलाई सलाम ।