२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचार चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

चार चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


काठमाडौं–कोभिड—१९ बाट फ्रन्टलाइनमा खटिएका २३ जना स्वास्थ्यकर्मी संक्रमित भएको पुष्टि भएको छ । बुधवारसम्म पुष्टि भएका स्वास्थ्यकर्मीहरुमा ४ चिकित्सक, १० नर्स, ३ हेल्थ असिस्टेन्ट, २ ल्याब टेक्नीसियन, १ फर्मासिस्ट, १ एएनएम र ५ जना कम्युनिटी मेडिसिन असिस्टेन्ट (सिएमए) रहेका छन् ।

प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार हालसम्म प्रदेश ४ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । जसमा चारै जना धनकुटा जिल्ला अस्पतालमा कार्यरत रहेका छन् । जसमा २ जना नर्स तथा दुई जना हेल्थ असिस्टेन्ट रहेका छन् ।

सबैभन्दा बढी संक्रमितको संख्या रहेको प्रदेश २ मा ३ जना स्वास्थ्यकर्मी कोभिड—१९ बाट संक्रमित भएका छन् । जसमा कोभिड—१९ को हब अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा काम गर्ने नर्स कोभिड संक्रमण भएर निको भइसकेकी छन् भने वीरगन्ज छपकैयाकै एक फर्मासिस्टले पनि संक्रमण जितिसकेका छन् । प्रदेश २ मा सप्तरी वेदवसाइनका एक हेल्थ असिस्टेन्टमा भने आइतबार संक्रमण पुष्टि भएको हो ।

बागमती प्रदेश कोभिड—१९ व्यवस्थापन इकाईका प्रवक्ता डा. पुरुषोत्तमराज सेडाइले दिएको जानकारी अनुसार बुधवारसम्ममा यो प्रदेशमा ८ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा ४ जना चिकित्सक तथा ४ जना नर्स रहेका छन् । काठमाडौं मेडिकल कलेजका १ चिकित्सक २ नर्समा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरी, मनमोहन सामुदायिक अस्पतालमा काम गर्ने सुनसरीकी १ नर्समा पनि कोभिड—१९ संक्रमण पुष्टि भएको छ । सोमबार चितवनको नारायणी सामुदायिक अस्पतालमा काम गर्ने दुई चिकित्सकमा पनि कोभिड—१९ पुष्टि भएको छ । त्यसैगरी चितवनमै एक नर्समा पनि कोभिड—१९ पुष्टि भएको छ । चितवनमा कोभिड—१९ पुष्टि भएकी नर्सको भने विस्तृत जानकारी आइनसकेको सेडाइले जानकारी दिए ।

नेपालमै पहिलो पटक ललितपुरका घर भएका एक चिकित्सकमा कोभिड—१९ पुष्टि भएको थियो । उनी स्वास्थ्य सेवा विभागअन्तर्गत करारमा भर्ना भइ कन्ट्रायाक ट्रेसिङमा कपिलवस्तु गएर फर्किएका थिए ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कोभिड—१९ नियन्त्रण समितिका प्रवक्ता डा. उमाशंकर प्रसाद चौधरीका अनुसार सो प्रदेशमा अहिलेसम्म ५ जनामा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । प्रदेश ५ को तौलिहवामा काम गर्ने नर्समा पहिलोपटक कोभिड—१९ पुष्टि भएको थियो, उनी नेपालमा कोरोना संक्रमित हुने पहिलो नर्स हुन् । उनी अहिले संक्रमण मुक्त भइसकेकी छन् । त्यसैगरी बाँकेको खजुरा कोभिड—१९ नियन्त्रणमा खटिएकी नर्समा पनि संक्रमण देखिएको थियो । दुई दिन अघि उनी पनि संक्रमण मुक्त भएर घर फर्किएको प्रवक्ता चौधरीले जानकारी दिए । संक्रमण देखिएका कोरोना अस्पताल बुटवलका १ जना हेल्थ असिस्टेन्ट र दाङ राप्तिका दुई स्वास्थ्यकर्मी कम्युनिटी मेडिसिन असिस्टेन्ट (सिएमए)को भने आइसोलेसनमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेशअन्तर्गत जुम्लामा तीन जना स्वास्थ्यकर्मी कोभिड—१९ बाट संक्रमित भएका छन् । तीनै जना संक्रमित संक्रमण मुक्त भएर फर्किसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले जनाएको छ । संक्रमित तीनै जना नेपाल सरकारका अन्तर्गतका कम्युनिटी मेडिसिन असिस्टेन्ट (सिएमए) कर्मचारी हुन् ।

सुदूरपश्चिम प्रदेश कोभिड—१९ व्यवस्थापन केन्द्रका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा ३ जना स्वास्थ्यकर्मी कोभिड—१९ बाट संक्रमित भएका छन् । उनका अनुसार संक्रमित हुनेमा कन्चनपुर पुनर्वासका २ ल्याव असिस्टेन्ट र डडेल्धुराको निजी क्लिनिकमा काम गर्ने अनमी रहेकी छन् ।

कोभिड—१९ नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै फ्रन्टलाइनमा खटिएका ३६ प्रहरीमा पनि संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ