२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमामा तीन वर्षदेखि थन्किएको सिटी स्क्यान र पाँच वटै अप्रेसन थिएटर संचालनमा

ट्रमामा तीन वर्षदेखि थन्किएको सिटी स्क्यान र पाँच वटै अप्रेसन थिएटर संचालनमा


काठमाडौं—तीन वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा थन्किएको २२ करोड मुल्यको अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान मेसिन संचालनमा आएको छ । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले तीन वर्ष अघि बिगारेर राखेको सो मेसिन कोभिड—१९ संक्रमण बढेसँगै संचालनमा ल्याएका हुन् ।

शल्यक्रिया गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटी स्क्यान बिग्रिए पनि यस अघिको नेतृत्वले बनाउने चासो समेत दिएको थिएन । सेन्टरमा निर्देशकको जिम्मेवारी पाएसँगै डा. पौडेलले लकडाउनको समयमा पनि उक्त मेसिन ३५ लाख रुपैयाँ खर्च गरेर संचालनमा ल्याएका हुन् । मेसिनमा अन्य ठुलो समस्या नभएपनि रेडिएसन चुहावट भएको थियो ।

त्यस्तै ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स सेवा संचालनको तयारी थालेको छ । बिरामीको सहजताका लागि पारामेडिक्ससहितको एम्बुलेन्स सेवा उपत्यकामा दिने तयारी थालेको उनले बताए । त्यस्तै कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न हरेक वार्डमा मनिटर जडान भएको छ । ट्रमा सेन्टरमा तीन वटा वार्ड छन् । आईसीयु, पोष्ट अप्रेटिभ वार्ड र इमर्जेन्सी वार्डको लोड घटाउन हरेक वार्डमा मनिटर जडान गरिएको उनले जानकारी दिए । यसले कोभिड—१९ को जोखिमलाई कम गर्ने चिकित्सकहरुको बुझाइ छ ।

सरकारले ट्रमा सेन्टरलाई कोभिड—१९ अस्पतालका रुपमा सूचीकृत गरेको छैन । तर, देशभरबार ट्रमाका बिरामी आउने भएकाले ५ शैय्या आइसोलेसन र १ वेड आईसीयु छ्ट्याएको छ । कोभिड—१९ को शंका लागेका बिरामी रिपोर्ट नआउँदासम्म आइसोलेसनमा राख्ने र गम्भीर भए आईसीयुमा राख्ने उद्धेश्यअनुसार काम भएको निर्देशक डा. पौडेलले बताए । देशभरबाट गरिब विपन्न बिरामी आउने भएकाले सेवा लिन आएका कुनै पनि बिरामीलाई फर्काउने पक्षमा अस्पताल छैन ।

सेन्टरमा पाँच वटा अप्रेशन थिएटर भएपनि तीन वटा मात्रै संचालनमा थिए । अप्रेशन थिएटरमा लाइट, बेड, कुर्सी, टेबुल बिग्रिएको वर्षौ भएपनि मर्मत भएको थिएन । यही समयमा निर्देशक पौडेलले बिग्रिएका सामानहरुको मर्मत गरी सबै अप्रेशन थिएटर संचालनमा ल्याएका छन् । केही मर्मत सुरु भएका छन् । अस्पतालका अनुसार अहिले पनि दैनिक ७० जना बिरामी सेवा लिन आइरहेका छन् । देशभरबाट बिरामी ट्रमा सेन्टर आएका छन् । सिभिल र टिचिङजस्ता ठूला अस्पतालले समेत बिरामी ट्रमा सेन्टरमा पठाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ