२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ महानगरले चल्न दिएन दादुरा-रुवेला अभियान

काठमाडौँ महानगरले चल्न दिएन दादुरा-रुवेला अभियान


काठमाडौँ –  दादुरा–रुबेला महाअभियानको अन्तिम चरणमा काठमाडौँ महानगरपालीकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई असहयोग गरेको छ । नियमित खोप संचालन गर्ने विषयमा एक महिना अघि नै मन्त्रालयबाट खोप चलाउन निर्देशन जारी गरेको थियो तर काठमाडौँ महानगरपालिकाले नै त्यसको उल्लघन गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकाअनुसार काठमाडौँ महानगरपालिका बाहेक देशैभर खोप कार्यक्रम चलेको छ । एक साताभित्र सबै स्थानमा सकिने छ । तर, काठमाडौँ महानगरपालिकाभित्र सुरु हुने अवस्था देखिएको छैन । ‘उपत्यकाभित्र दादुरा रुबेलाका बिरामीहरु फेला परिरहेका छन् तर, महानगरपालिका खोप चलाउन दिने पक्षमा छैन, ‘महाशाखाका एक अधिकारीले भने ।

स्वास्थ्य अधिकारीहरुकाअनुसार महानगरपालिकाभित्र ३२ वडा रहेका छन् । यहाँ खोपका लागि ४०० केन्द्र बनेको छ । स्वास्थ्यकर्मी खोप चलाउन दवाव दिइरहेका छन् तर, मेयर विद्यासुन्दर शाक्यले भने मानिरहेका छैनन् । स्थानीय निकायले सामाजिक दुरीमा सहयोग नगर्दा सम्म खोप चलाउन नसकिने महाशाखाका खोप सुपरभाइजर भरत भण्डारीले बताए । काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयले अत्यावश्यक खोपमा अग्रसर भएर काम गर्नुपर्नेमा पछि हटेको विभागको बुझाइ छ ।

लकडाउनले ५० प्रतिशत खोप प्रभावित भएको थियो तर, पछिल्ला दिनमा काठमाडौँ महानगरबाहेक सबै सकिएको छ । दादुरा–रुबेला महाअभियानको पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३४ जिल्लाका १८ लाख २४ हजार चार सय ३३ बालबालिकालाई खोप लगाइएको थियो । तर, दोस्रो चरणअन्तर्गत चैतमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार सात सय ७१ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने तयारी भएको थियो । तर, लकडाउनले चैतमा लगाउने सबै प्रकारका खोप प्रभावित भएका थिए ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोपको आवश्यकता पर्दछ । नियमित खोप लगाउने बच्चाहरूको संख्या देशभर ६ लाख २० हजार छ । त्यस्तै, दादुरा रुबेला महाअभियानमा ३० लाख बढी बालबालिका सामेल गराउने सरकारी योजना थियो । यो अभियानमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका छन् । खोपका लागि देशभर १६ हजार खोप केन्द्र तय भएका थिए ।

भ्याक्सिन बोक्ने कोल्ड बक्सको दुरुपयोग

सरकारले कोभिड नियन्त्रणमा ८ अर्ब बढी खर्च गरेको बताएको छ । तर, कोभिड-१९ जाँचका लागि स्वाब बोक्ने कोल्ड बक्सर समेत खरिद गरेको छैन । स्वास्थ्य सँस्थाहरुले खोपको भ्याक्सिन बोक्ने कोल्ड बक्सर प्रयोग गरेको छ । कोभिड-१९को नमूना बोकेर प्रयोगशालामा छाड्ने फिर्ता नलाने परिपाटीको विकास हुँदा अत्यावश्यक खोप ढुवानीमा गम्भीर समस्या आएको अधिकारीहरुले बताएका छन् ।

‘कोल्ड बक्सर खरिद नगरे र स्वास्थ्य संस्थामा भएको प्रयोगमा ल्याए नियमित खोप प्रभावित हुने छ।, ‘भण्डारीले भने । कयौं कोल्ड बक्सरहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थुप्रिएका छन् । देशभर भ्याक्सिन स्टोरबाट हेल्थ पोष्ट सम्म पुर्याउने कोल्ड बक्सर १ हजारको संख्यामा रहेको छ भने स्वास्थ्य संस्थाबाट  फिल्डमा खोप लिएर जाँदा प्रयोग गर्ने भ्याक्सिन क्यारियर १०,००० रहेका छन् । तर, अधिकाशं कोभिड-१९मा प्रयोग गरिएको छ ।

अन्य खोप युनिसेफले चार्टर गरेर ल्याउँदै

मुलुकमा ११ नियमित खोप संचालनमा रहेका छन् । कोभिड-१९  र लकडाउनले केही महत्वपूर्ण खोपको मौज्दात सकिएको छ । महाशाखाकाअनुसार सरकार आफैले ल्याउन नसक्ने भए पछि रोटा, बिसिजी र एफआईपिभी भ्याक्सिन युनिसेफले विमान चार्टर गरेर  एक हप्ताभित्र ल्याउने सहमती भएको छ । खोपको व्यवस्थापन नर्मल बाटोबाट आउँदा समय लान्ने र कोल्ड चेन बिग्रन सक्ने भएपछि युनिसेफले आफै चार्टर गरेर ल्याउने भएको हो ।  डेनमार्कमा रहेको युनिसेफ सप्लाई डिभिजनबाट आउन लागेको हो । रोटा ३ लाख , बिसिजी ४ लाख, एफआइपिभी ४ लाख ल्याउन लागेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #दादुरा-रुवेला अभियान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ