२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा.डा. दिव्या सिंह शाह आईओएमकी डिन नियुक्त

प्रा.डा. दिव्या सिंह शाह आईओएमकी डिन नियुक्त


काठमाडौं-त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्रा.डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्ले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा. डा. शाहलाई आईओएमको डिनमा नियुक्त गरेको हो ।

प्रा. डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित डिन सिफारिस समितिले मंगलबार साँझ तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरेकामध्ये दोस्रो नम्बरमा परेकी डा. शाहलाई आईओएमको डिन बनाइएको हो । उनी बरिष्ठताका आधारमा १९ नम्बरमा छन् ।

सिफारिस समितिले बरिष्ठता, कार्यक्षमता र भिजनका आधारमा प्रा.डा प्रदिप वैध, प्रा.डा दिव्या सिंह शाह र प्रा.डा. उत्तमकुमार श्रेष्ठलाई डिनका सिफारिस गरेको थियो ।

तर, त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्रा.डा. शाहलाई डिनमा नियुक्ति गरेको हो । त्रिवि उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओलीकै रोजाइमा प्रा.डा. शाहलाई आईओएमका डिनमा नियुक्त गरिएको हो ।

त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटा भने बरियता मिच्दा विवाद हुने भन्दैं सिनियारिटीकै आधारमा डिन नियुक्त गर्ने अडानमा थिए । उनले बरियता मिचेर डिन नियुक्त गर्दा पुनः विरोध सुरु हुन सक्ने भन्दै सिनियारिटीका आधारमा मात्रै डिन नियुक्त गर्नुपर्ने अडान राख्दैं आएका थिए । तर, प्रधानमन्त्रीको रोजाइ अगाडि त्रिवि नेतृत्वले आफ्नो अडान कायम रहन सकेन ।

प्रधानमन्त्रीकै रोजाइमा बनाइएको डिन सिफारिस समितिमा प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा.डा. सुवास आचार्य र प्रा.डा. जीवन शेरचन थिए । प्रा.डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त थियो ।

नवनियुक्त डिन शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् । प्रधानमन्त्रीले उनलाई विभिन्न जिम्मेवारी दिएका छन् । चिकित्सा शिक्षा आयोगको सदस्य, मानव अंग प्रत्यारोपण सिफारिस कमिटिको संयोजकको भूमिका पनि उनी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ