२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा.डा. केसीको आक्रोश, ‘मान्यता मिचेर डिन बनेका ‘महाराजा’का कार्यकर्तालाई म स्वीकार गर्दिनँ’

प्रा.डा. केसीको आक्रोश, ‘मान्यता मिचेर डिन बनेका ‘महाराजा’का कार्यकर्तालाई म स्वीकार गर्दिनँ’


म अहिले सदूरपश्चिममा छु । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा नयाँ डिन नियुक्त भएको केही समयअघि मात्र थाहा पाए । हामीले पहिलेदेखि बरिष्ठताका आधारमा आईओएमका सबै पदाधिकारी नियुक्त हुनुपर्छ भन्दै आएका हौं । यसको कारण पार्टीका कार्यकर्ता वा आफ्ना मान्छे पदाधिकारी बनाउँदा उनीहरुले संस्थाको दोहन गरेर धरासायी बनाएका थिए । त्यस्तो नहोस भनेर वरिष्ठताको आधार एउटा मापदण्ड हुन्छ भनेर हामीले भनेको हो ।

उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, निर्देशक, क्याम्पस प्रमुखलगायतको मापदण्ड बनाउनुपर्छ भन्ने सत्याग्रहको एउटा माग थियो । तेस्रो पटकको सत्याग्रहमा एउटा मापदण्ड बनाउने समिति बन्यो र विश्वविद्यालयका पदाधिकारीको मापदण्ड बन्यो । त्यहीअनुसार बनाउनुपर्छ भनेर हामी लड्यौ । यसपटक पनि हामीले त्यही मापदण्डअनुसार विश्वविद्यालयको भिसी बनाउनुपर्छ भन्यौ त्यो पनि भएन ।

ओलीजी (प्रधानमन्त्री केपी शर्मा ओली)ले आफूलाई महाराजा सम्झेका छन् । राजा पनि होइन्, महाराजा नै सम्झन्छन्, हामी सबै रैती । उनले जे भन्यो त्यही हुनुपर्छ भन्ने छ । उनले जनताको हकहितभन्दा पनि आफ्नो दम्भका आधारमा पार्टीको कार्यकर्तालाई नियुक्ति दिइरहेका छन् । उनले आफ्ना कार्यकर्ता भर्ति गर्ने ठाउँ बनाएका छन् । त्यसकारणले गर्दा यो पनि नहुने, उ पनि नहुने । यत्रो समयसम्म आन्दोलन गरियो । बरिष्ठताका आधारमा हुनुपर्छ भनिरहिएकै छ । १२ वर्षदेखि मैले त्यही कुरा भनिरहेको छु । केही समयदेखि वरिष्ठताको आधारमा नियुक्ति भइरहेको थियो । अहिले आएर ओलीजीले म राजा हुँ, महाराजा हुँ मेरो मान्छे हुनुपर्छ भन्ने भाव देखाए । जहाँ पनि मेरा कार्यकर्ता हुनुपर्छ भन्ने ओलीजीमा दम्भ छ ।

कुनै व्यक्ति विशेष हुनुभन्दा पनि सिष्टमको कुरा हो । व्यक्ति विशेष रुचि होइन कि पालो मिचेर आउने, मान्यता मिचेर आउने गलत कुरा हो । पालो र मान्यता मिचेर डिन बनेका ‘महाराजाका’ कार्यकर्तालाई म स्वीकार गर्दिन । मलाई स्वीकार्य छैन । त्यो कुरा मात्र होइन्, अब अस्पतालको डाइरेक्टर पनि कुन कार्यकर्ता भर्ने हुन । यो कार्यकर्ता भर्ति गरेर दोहन गरेर खाने सोच हो । सरकारी शिक्षा र स्वास्थ्यलाई ओलीजीका कार्यकर्ता र अन्य दलका कार्यकर्ताले व्यापार गरेर खाने भाडो बनाएका छन् । एकातिर सरकारी शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलाई आफ्ना कार्यकर्ताहरु भर्ति गरेर दोहन गरी धरासायी बनाउने अर्कोतिर माफियालाई सहयोग गर्ने महाभ्रष्ट हुन् । यो सरकारले आफै भ्रष्टाचारीको संरक्षण गरिरहेको छ । मलाई यो चाहिँ स्वीकार्य छैन । सच्चिएन भने के गर्नुपर्छ पछि गरौला, अहिले यति नै ।

(सुदूरपश्चिममा रहेका डा. गोविन्द केसीसँग गरेको टेलिफोन कुराकानीमा आधारित ।)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ