काठमाडौं—गृह मन्त्रालयले काठमाडौं बाहिरबाट फर्कने मानिसहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ । मंगलबार गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र लेखेर गर्दै बाहिरबाट उपत्यकामा आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्ने र उक्त अवधिमा कुनै लक्षण देखिएमा मात्रै पिसिआर गर्ने व्यवस्था मिलाउन भनेको हो ।
गृहले स्वास्थ्य मन्त्रालयले जारी गरेको नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड—१९ अनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने र त्यो अवधिमा लक्षण देखिएमात्रै पिसिआर परीक्षण गर्न भनेको छ ।
अहिले काठमाडौं उपत्यका बाहिरबाट आएकालाई घरबेटीहरुले पिसिआर रिपोर्ट भएमात्रै प्रवेश गर्न दिने भन्दैं घर प्रवेशमा रोक लगाउन थालेको गुनासो आउन थालेको छ । घरबेटीले पिसिआर रिपोर्ट माग्न थालेपछि दैनिक १ हजारभन्दा बढी संख्यामा पिसिआर परीक्षणका लागि काठमाडौं बाहिरबाट फर्किएकाहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने गरेका छन् ।
पिसिआर परीक्षणका लागि टेकु पुगेका सर्वसाधारणहरुले त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दबाब दिन थालेका छन् । उक्त दबाब झेल्न हम्मे परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृह मन्त्रालयलाई उक्त दबाब रोक्न गृह मन्त्रालयलाई गुहारेको छ । स्वास्थ्यबाट पत्र प्राप्त भएपछि गृहले मंगलबार तीनै जिल्ला प्रशासनलाई निर्देशन दिदैं चिकित्सक र स्वास्थ्यकर्मीमाथि दबाब नदिने व्यवस्था मिलाउन भनेको हो ।