२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक

३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक


काठमाडौं—स्टार हस्पिटलमा मृत्यु भएका रौतहटका २९ वर्षीय युवकमा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । शनिबार मृत्यु भएका उनको सोमबार बिहान आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

स्टार अस्पतालका कोभिड—१९ फोकल पर्सन डा. अनिल पोखरेलले मृतक युवक ३ महिना पहिलेदेखि नै निमोनियाबाट ग्रसित रहेको बताए । ‘उहाँ ३ महिना अगाडिदेखि नै निमोनियाबाट ग्रसित हुनुहुँदोरहेछ,’ डा. पोखरेलले हेल्थआवाजसँग भने, ‘उहाँको भारतका विभिन्न हस्पिटलहरुमा पनि ट्रिटमेन्ट भएको रहेछ ।’

उनलाई शनिबार ४ बजे उपचारका लागि स्टार अस्पताल ल्याइएको थियो । अस्पतालमा बिरामीका आफन्तले अस्पतालका चिकित्सकसँग एक महिना अगाडि पिसिआर गर्दा कोभिड—१९ रिपोर्ट नेगेटिभ आएको मौखिक जानकारी दिएका थिए । त्यही मौखिक जानकारीकै आधारमा अस्पतालले उनलाई भर्ना गरेर उपचार प्रक्रिया अगाडि बढाएको डा. पोखरेलले बताए ।

डा. पोखरेलकाअनुसार बिरामी अस्पताल भर्ना गर्दाखेरि नै निकै क्रिटिकल अवस्थामा थिए । उनलाई श्वास फेर्न निकै गाह्रो परिरहेको थियो । ‘लगतै हामीले उहाँलाई आईसीयुमा भर्ना गरेर भेन्टिलेटरमा राख्यौं,’ डा. पोखरेलले थपे, ‘स्वास्थ्य परीक्षण गर्दा दुवै फोक्सोमा निमोनियाले ग्रस्त थियो ।’

आईसीयुमा भर्ना गरिएको ४ घण्टापछि नै उनको मृत्यु भएको थियो । डा. पोखरेलले मल्टिपल हस्पिटलको ट्राभल र कोरोना हटस्पटबाट आएकाले उनमा त्यही कतै कोरोना संक्रमण भएको हुन सक्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ