२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था लागु गर्न मस्यौदा समिति गठन

एक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था लागु गर्न मस्यौदा समिति गठन


काठमाडौं–सरकारले सुरु गर्न लागेको एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यन्वयन गर्नका लागि मस्यौदा समिति गठन भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीको नेतृत्वमा ९ सदस्य समिति गठन गरेको छ ।

१२ असारमा मन्त्रीस्तरीय निर्णय गरी एक चिकित्सक/एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था मस्यौदा तर्जुएसम समिति गठन गरेको हो । सो समितिको कार्यअवधि असार मसान्तसम्म तोकिएको छ ।

मस्यौदा समितिको सदस्यहरुमा वीर अस्पतालका चिकित्सक डा. रविन खड्का, सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, एनएसआईका डा. कासिम शाह, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधी, मेडिकल काउन्सिलका प्रतिनिधी, नर्सिङ्ग एसोसिएसनका प्रतिनिधी, पारामेकिल एसोसिएसनका प्रतिनिधी रहेका छन् । समितिका सदस्य सचिवको रुपमा वरिष्ठ स्वास्थ्य सेवा प्रशासक माधवप्रसाद लम्साललाई तोकिएको छ ।

२०७२ सालमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले एक चिकित्सक एक नर्स कार्यक्रम लागु गर्न अस्पतालहरुमा विस्तारित सेवा कार्यक्रम निर्देशिका ल्याएका थिए । केही अस्पतालले सो सेवा सुरु गरेतापनि पूर्ण रुपमा लागु भएको छैन ।

वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा एक स्वास्थ्यकर्मी एक चिकित्सक कार्यक्रम लिएर गएका थिए । तर, नीति तथा कार्यक्रममा सम्बोधन नभएतापनि बजेटबाट सो कार्यक्रमलाई समेटिएको थियो । आगामी वर्षको बजेटअनुसार सो कार्यक्रम अगाडि बढाउन मस्यौदा तयारी समिति बनिएको हो ।

सरकारी चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले एक चिकित्सक/स्वास्व्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम ल्याएर चिकित्सकहरुलाई धेरै तिर चहार्नुपर्ने बाध्यता अन्त्य गरिनुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटी बारम्बार अनुरोध गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सक, #नर्सिङ्ग एसोसिएसन, #भानुभक्त ढकाल, #सरकार


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ