२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुरक्षाकर्मीलाई छल्दै लकडाउनमा भारतबाट औषधि तस्करी

सुरक्षाकर्मीलाई छल्दै लकडाउनमा भारतबाट औषधि तस्करी


विराटनगर—कोरोना रोकथाम र नियन्त्रणका लागि राज्यले गरेको लकडाउनको फाइदा उठाउँदै अवैध रूपमा भारतबाट औषधिको तस्करी हुने गरेको पाइएको छ । दुई देशीय नाकामा आवतजावतमा रोक लगाइएको भएपनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको आँखा छल्दै औषधि व्यवस्था विभागमा दर्ता नभएका र नेपालमा पाइने औषधिहरु पनि तस्करी हुने गरेको पाइएको हो ।

विभागमा दर्ता नभएका र यहाँ सहज रूपमा पाइने औषधिहरू पनि मोरङका सीमावर्ती नाका हुँदै भारतबाट नेपाल तस्करी हुने गरेको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका डिडेजाइसमेन्ट ५ सय एमजीका इन्जेक्सन र विभागमा दर्ता भएका नेपालमा पाइने टाइजेबेस्ट, बक्सल्टन, ह्युमेन रेविज इमिनोग्लोवुलिन, भासप्रेसन इन्जेक्सन, ल्याबेटालोल इन्जेक्सन, म्यारोपेनेन इन्जेक्सनको तस्करी हुने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

औषधि मात्र होइन औषधिको लेबल प्याकेजिङ पनि तस्करी हुने गरेको छ । यस क्षेत्रका जानकारहरुका अनुसार तस्करी धन्दामा लागेका गिरोहले भारतबाट अवैध रुपमा नक्कली औषधि ल्याएर लेबल लगाएर प्याकेजिङ गरेर दोब्बर मुल्यमा बिक्री गर्दछन् । दोब्बर मुनाफा आर्जन गर्ने उद्देश्यले औषधिको तस्करी धन्दामा लागेको हुन् । केही वर्ष अगाडि भारतबाट अवैध रुपमा विराटनगरसहित पूर्वी सहरमा नक्कली औषधिको तस्करी गर्ने गिरोहलाई प्रहरीले रंगेहात पक्राउ गरेसँगै तस्करी नियन्त्रणमा आएको थियो । अहिले आएर पुनः भारतबाट विराटनगर हुँदै पूर्वको विभिन्न सहरहरूमा रहेको हस्पिटलका फार्मेसी अन्य खुद्रा पसलहरूमा औषधिको तस्करीको धन्दा सलबलाएको बुझिएको छ ।

सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । तर, पनि सीमावर्ती नाकाहरूबाट खुल्लेआम अवैध रुपमा औषधि तस्करी हुने गरेको हो ।

तस्करीको औषधि र मास्क बरामद

इलाका प्रहरी कार्यालय रानी विराटनगरले दुई साता अगाडि विराटनगर महानगरपालिका– १६ बाट ठूलो परिणामको औषधि र मास्क बरामद गरेपछि दुई देशीय नाकामा आवतजावतमा रोक लगाइएको भएपनि तस्करी धन्दा बाहिर आएको छ । नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको सीता तामाङको खाली घरमा बाहिरबाट ताला लगाउँदै लुकाएर राखेको अवस्थामा प्रहरीको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले औषधि र मास्क बरामद गरेको थियो ।

तस्करीमा संलग्नले अवैध रुपमा ल्याएपछि दशगजा नजिकै बनाइएका घरमा स्टक गरेर राख्ने र सुरक्षाकर्मी अन्तै व्यस्त भएको मौका छोप्दै सीमा कटाउने गरेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए । दशगजा नजिकैको घरबाट औषधि र मास्क बरामद भएपछि तस्करले अपनाउने गरेको नयाँ उपायका बारेमा थाहा भएको उनको भनाइ छ । ‘औषधि स्टक गरेर राखिएको विशेष सूचनाका आधारमा दशगजा नजिकैको खाली घरमा छापा हान्दा भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको औषधि बरामद भयो,’ उनले भने, ‘भारततिर तस्करी गर्न तयारी अवस्थामा राखिएको मास्क पनि त्यही घरबाट बरामद भएको छ ।’ बरामद भएको औषधि र मास्क ८ लाख २८ हजार ढ सय ९५ रुपैयाँ मूल्य बराबरको रहेको छ ।

तस्करीमा संलग्नले भारतबाट ल्याएर अस्पताल र औषधि पसलमा बिक्री गर्दछ । भारतमा सस्तोमा औषधि खरिद गरेर अवैध रुपमा नेपालमा ल्याएपछि दोब्बर बढी मुल्यमा बिक्री हुने गर्दछ ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेल विभागमा दर्ता नभएका औषधि ल्याउन पूर्ण रुपमा प्रतिबन्ध रहेको बताए । केही दिन अगाडि प्रहरीले बरामद गरेको ३ प्रकारको औषधि व्यवस्था विभागमा दर्ता नभएको विभिन्न ५ प्रकारका विभागमा दर्ता भए पनि अवैध रुपमा ल्याउँदा बरामद गरिएको उनले बताए । अवैध रुपमा हुने औषधिको तस्करी रोक्न प्रहरी प्रशासन र सबैको साथ सहयोगले नियन्त्रण गरिनुपर्ने बताए । बरामद भएको औषधि शरीरभित्र हुने संक्रमण रोक्न र मुटुको समस्या भएका बिरामीले तथा बच्चा जन्माउने बेलामा प्रसव पीडा भएका महिलामा प्रयोग गर्ने औषधिहरु रहेको बताइएको छ ।

तस्करी रोक्न माग राख्दै ज्ञापनत्र

नेपाल औषधि व्यवसायी संघ मोरङले अवैध रुपमा भारतबाट हुने औषधीको तस्करी रोक्न माग राख्दै प्रहरी र औषधी व्यवस्था विभागमा ज्ञापन पत्र बुझाएका छन् । संघका पदाधिकारीहरूले मोरङ प्रहरी र औषधी व्यवस्था विभाग विराटनगरमा अवैध आयत रोक्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

औषधि व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देबन्धु ढकाल र महासचिब दिनेश ठाकुरले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख र औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जीव कट्टेललाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ