२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी दुरूपयोग गरी बेच्ने फार्मेसी संचालक पक्राउ

औषधी दुरूपयोग गरी बेच्ने फार्मेसी संचालक पक्राउ


विराटनगर—लागत मूल्यभन्दा तीन गुणा बढी पैसा लिएर औषधीको दुरूपयोग गरी बेच्ने फार्मेसी संचालक पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरको टोली र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान–७ भानुचौकस्थित सुमन फार्मेसीका संचालक विनयकुमार गुरूङलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका फार्मेसी संचालक गुरूङले चिकित्सकको ‘पेस्क्रीप्सन’ बेगर औषधीको दुरूपयोगले गरेको आरोपमा पक्राउ गरिएको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जीव शर्मा कट्टेलले जानकारी दिए । ५० देखि ६० रुपैयाँ पर्ने उक्त औषधी सुमन फार्मेसीका संचालक गुरूङले २ सय रुपैयाँमा बिक्री गर्ने गरेको विभागले जनाएको छ ।

पक्राउ परेका फार्मेशी संचालक गुरूङलाई औषधी ऐन—२०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने कट्टेलले जानकारी दिए । उनका अनुसार फार्मेसी संचालक गुरूङले एपाबालिन –७५ कम्पनीको ‘प्रिगावालिन’ यस्तै ‘प्रेगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधीको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गरेको पाइएपछि पक्राउ गरिएको बताए ।

औषधी व्यवस्था विभागमा दर्ता भएपनि ‘प्रिगावालिन’, ‘पे्रगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधी चिकित्सकले पूर्जीमा लेखिदिएको खण्डमा मात्र विक्री वितरण गर्न पाइन्छ । तर, चिकित्सकले लेखिदिएको पूर्जा बेगार औषधी बिक्री गरेको पाइएपछि पक्राउ गरिएको औषधी व्यवस्था विभागले जनाएको छ । चिकित्सकको सल्लाहबेगर बिक्री गरिएको औषधीहरू नशाको समस्या भएका बिरामीहरूले सेवन गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले जानकारी दिए ।

‘प्रिगावालिन र डाइसाइक्लोमिन औषधी मिक्स गरेर सेवन गर्दा नशा लाग्ने गर्दछ । त्यही भएर यो औषधी चिकित्सको सल्लाहमा मात्र विक्री वितरण गर्न पाइन्छ,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘सुमन फार्मेसीले औषधीको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको छ ।’ अहिले औषधी व्यवस्थापन विभागको शाखा कार्यालय विराटनगरमा ल्याएर थप अनुसन्धान भइरहेको उनले बताए ।

लागूऔषध प्रयोगकर्ता पक्राउ परेपछि यसरी खुल्यो पोल

धरानका सुमन फार्मेसीका संचालक विनयकुमार गुरूङले पैसाको लोभमा तेब्बर मुल्यमा धरान १० बस्ने २० वर्षीय सम्यक श्रेष्ठ, सोही ठाउँका २२ वर्षीय सहबाज सिद्धिकी, धरान १५ का २९ वर्षीय अमिर नेपाली र २२ वर्षीय अर्जुन बराइलीलाई सो औषधी सोमबार बिक्री गरेका थिए ।

पक्राउ परेका लागूऔषध प्रयोगकर्ताहरु हुन् । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछको क्रममा सुमन फार्मेसीबाट सो औषधी खरिद गरेको जानकारी दिएपछि औषधी व्यवस्था विभागसँग समन्य गरेर फार्मेसीमा छापा मारेको थियो । प्रहरी र औषधी व्यवस्था विभाग छापा हानेर प्रिगावालीन ४० पत्ता, प्रेगास्टार ४० र डाइसाइक्लोमिन ४० पत्ता बरामद गरेको छ ।

प्रहरीले पक्राउ गरेको चार जना लागूऔषध प्रयोगकर्ता रहेको र आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको इप्रका धरानका डिएसपी शैलेन्द्र बस्नेतले जानकारी दिए । लकडाउनको समयमा लागूऔषध प्रयोग गर्न नपाएपछि बरामद भएको औषधीलाई नशाको रुपमा प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ