२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन महिनाको छोरो भेट्ने चाहना

तीन महिनाको छोरो भेट्ने चाहना


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) आएको झण्डै ५ वर्ष हुन लागेछ । यो मंसिरमा पाँच वर्ष पूरा हुन्छ । कर्णालीकै नाममा अध्ययन गरेर यहाँ आउँदै गर्दा मानिसका फरक खालका भनाइ थिए । काठमाडौंमा कर्णालीलाई सोच्ने तरिका नै फरक थियो । त्यहाँको बुझाइ नै रोग, भोक र अशिक्षाको पर्यायका रुपमा कर्णालीलाइ लिइन्थ्यो । कर्णालीका विकटतालाई लिएर धेरै दन्त्यकथाहरु थिए ।

जब यहाँ आइपुगे । यहाँको वातावरणसँग घुल्न मलाई समय लागेन । हो, यहाँको विकटता, गरिबी र अशिक्षा यथार्थ हो । तर, यहाँका सम्भावनालाई कहिल्यै पनि राज्यले चासो दिएको रहेनछ भन्नेमा म पुगे । मलाई राज्यले त्यसैका विरुद्ध लड्न यहाँ पठाएको हुँदा मेरो ध्यान त्यसैमा केन्द्रित थियो ।

हुन त एउटै ब्याजका एकै ठाउँ पढेका सबै साथीहरु एकैपटक आउनुको कारण पनि त्यो थियो होला । यहाँ आइसकेपछिका पाँच वर्ष बितेको पत्तै पाइएन भन्दा पनि हुन्छ । हामी एउटा टिम भएर आएका कारण पनि बस्न र घुलमिल हुन सहयोग पुग्यो ।

पूर्वी तराईमा जन्मिएको मान्छे, पहाडी इलाका कमै मात्र गएकाले मलाई कर्णाली पुग्दा पनि खासै फरक लागेको थियो । यी ५ वर्ष काममा जसरी भिजियो । जीवनका महत्वपूर्ण सिकाइहरु भए ।

यो अनौठो ठाउँमा सुरुका दिनमा आउँदा एउटा जिज्ञासासँगै कौतुहलता पनि थियो । त्यही जिज्ञासाले मलाई यहाँको परिवेससँग घुलमिल बनाइदियो । यतिका बर्षसम्म शान्त रहेको ममा पछिल्ला ३ महिनामा केही बेचैनी बढेको छ । केही छटपटाहट भएको छ ।

एकातिर महामारीको सिपाही भएर फ्रन्टलाइनमा लड्नु त स्वभाविक नै हो । यो महामारी कहिलेसम्म जान्छ भन्ने टुंगो छैन ।

महामारीका कारण विश्वमा थोरै मान्छेमा मात्र बेचैनी नहोला र छटपटाहट नहोला । तर, मेरो छटपटाहट अलि फरक छ । एउटा बाबु र एउटा छोराको पहिलो भेटका लागि आतुर भएको छटपटाहट हो । सुनेको थिएँ, लाहुर गएका बाबुहरुले छोरासँग वर्षौपछि पहिलोपटक भेट गर्थे रे । अहिले मलाई त्यही भान भइरहेको छ । म लाहुर गएको छु । फरक यति छ अरु विदेशमा लाहुरे भएर जान्छन् म एक गर्भवती श्रीमतीलाई छोडेर देश भित्र अहिलेको महामारीसँग जुध्न एउटा सिपाही भएर लडिरहेको छु ।

महामारीसँग लडिरहेको बेला त मलाई अन्य कुनै सम्झना हुँदैन् । छटपटाहट हुँदैन । तर, जब काम सकेर कोठामा आइपुग्छु अनि पुनः छटपटाहट सुरु हुन्छ । त्यो छटपटाहटलाई शान्त पार्न म ल्यापटप खोल्छु अनि सप्तरीको राजविराजमा रहेकी मेरी श्रीमतीलाई भिडियो खोल्न लाएर तीन महिनाको त्यो कलिलो अनुहारलाई अर्चुअल दुनियाँमै हेरेर चित्त बुझाउँछु ।

मेरो जिन्दगीमा आएको एउटा खुसीलाई मैले अहिलेसम्म भर्चुअल दुनियाँबाट मात्र अनुभव गरिरहनु परेको अवस्था छ । जसलाई मैले प्रत्यक्ष भेट्न पाएको छैन । त्यो खुसीलाई प्रत्यक्ष भेटेर स्पर्श गर्न, अंकमाल गर्न र स्पर्श लिन म आतुर छु, छटपटाइरहन्छु । तर, कहिले त्यो संयोग जुर्ने हो, ठेगान छैन । एउटा चिकित्सक भएको नाताले मलाई के थाहा छ भने कोभिड—१९ महामारी तत्काल रोकिने सम्भावना छैन ।

मलाई यो पनि थाहा छ, यो महामारीमा कर्णालीवासीको ठूलो भरोसा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आशा भरोसा हामी नै हौ । यो संकटको घडीमा मैले मेरो व्यक्तिगत छटपटाहटभन्दा पनि कर्णालीवासीको छटपटाहटलाई महत्व दिनुपर्छ । यो तीन महिनामा मैले मन बुझाएको यसरी नै हो ।

एउटा स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुनुको नाताले श्रीमती गर्भवती अझ सुत्केरी हुने बेला श्रीमानको साथ कति आवश्यक छ । आफै सो विषयको चिकित्सक भएर पनि म बाबु जन्मदासँगै हुन पाइन । उता मेरी श्रीमती गर्भवती भएको दिन ८ जना सुत्केरी भएका थिए । अहिले पनि दैनिक ८ देखि १० जना आमा बन्नुहुन्छ । श्रीमतीलाई मैले त्यही भनेर सम्झाएको थिए । ‘सप्तरीमा त नजिकै धेरै सुविधाजनक अस्पताल छन् । यहाँ त म भइन भने अर्को एक जना डाक्टर मात्र हुनुहुन्छ । उहाँले सबैलाई कन्डक्ट गर्न भ्याउनुभएन भने अकालमा ज्यान जान्छ ।’

जनस्वास्थ्य अध्ययन गरेकी मेरी श्रीमतीले यति कुरा नबुझने कुरै भएन । तर, श्रीमतीलाई त्यसरी सम्झाइरहँदा मलाई भने भित्रभित्रै बेचैन उत्पन्न भइरहेको थियो । छटपटाहट भइरहेको थियो । जुन आजसम्म पनि छ ।

(डा. साह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्त्री तथा प्रसुती रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ