२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यमा ‘कोखदेखि शोकसम्म’ अभियानदेखि सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसम्म

स्वास्थ्यमा ‘कोखदेखि शोकसम्म’ अभियानदेखि सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसम्म


विराटनगर–स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड दिइएको छ ।

स्वास्थ्यलाई प्राथमिकता राखेको प्रदेश सरकारले ‘कोखदेखि शोकसम्म’ अभियान संचालन गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महिलामा देखिने आङ खस्ने रोग, पाठेघर क्यान्सर, स्तन क्यान्सर, अब्स्टेट्रिक फिस्टुलाका समस्याहरूको रोकथाम तथा उपचार व्यवस्थापन सहज बनाउने भएको छ ।

‘कोख देखि शोक सम्म’ अभियान सञ्चालन गरी गर्भवती र सत्केरी महिला लक्षित निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी महिलाका लागि पोषणसम्बन्धी कार्यक्रम अगाडि बढाउने भएको छ ।

यस्तै, विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई प्रदेशस्तरीय संक्रामक रोग तथा सघन उपचार केन्द्रका रूपमा विकास गरिने भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई रिफरेन्स ल्याबका रूपमा विकास गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रूपमा विकास गरिने भएको छ । झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शैय्याको प्रादेशिक आयर्वेुद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ ।

गर्भवती महिलाहरुको पूर्व प्रसुती सेवा, प्रसुती सेवा तथा प्रसुती पश्चात गरिने परीक्षणहरूलगायतका सम्पूर्ण स्वास्थ्य सेवाहरू प्रदेश मातहतका अस्पतालहरूबाट निःशुल्क प्रदान गरिने भएको छ । स्थानीय तहसँगको सहकार्यमा ‘एक वडा एक वर्थिङ्ग सेन्टर’ स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

यस्तै प्रदेश माहतका सबै जिल्ला अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्तिको व्यवस्था गर्ने भएको छ । अस्पतालवाट हाल प्रवाह भइरहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलिमेडिसिन प्रणाली सञ्चालन गरिने भएको छ । प्रेषण (रेफरल) सेवा थप विस्तार गरिने सरकारको योजना रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ