२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना विज्ञापनमा दाताको मात्रै २० करोड खर्च, रकम नखुलेको उति नै

कोरोना विज्ञापनमा दाताको मात्रै २० करोड खर्च, रकम नखुलेको उति नै


काठमाडौं—सरकारले कोरोना भाइरस (कोभिड—१९)मा दातामार्फत मात्रै विज्ञापनमा झण्डै २० करोड बढी खर्च गरेको देखिएको छ । विभिन्न दातृ निकायबाट लिएर सरकारले कोभिड—१९ विज्ञापनका लागि रकम खुलाएर नै १९ करोड ८४ लाख ११ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

हेल्थ आवाजलाई प्राप्त सूचीअनुसार रकम नखुलाई झण्डै यही हाराहारीमा विज्ञापन गरिएको मन्त्रालयलाई बुझाएको विवरणमा देखिन्छ । दाताबाटमात्रै सरकारले कोरोना जनचेतनामा यति ठूलो खर्च गरेको देखिएपनि त्यसको प्रभावकारिता भने देखिएको छैन् ।

अहिले पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मास्क नलगाएर हिड्नेहरु उल्लेख्य देखिन्छन् । जसलाई नियन्त्रण प्रहरीलाई हम्मे परिरहेको छ । कतिसम्म भने मास्क नलगाएर हिड्नेको जमात बढ्न थालेपछि गृह मन्त्रालयले नै पक्राउ गरेर जरिवाना गर्ने निर्देशन ७७ जिल्ला प्रशासनलाई नै जारी गरेको छ । तर, यत्रो ठूलो खर्च गर्दा पनि कोरोनाबाट कसरी बच्ने भन्नेसम्मको जानकारी सर्वसाधारणसम्म पुगेको छैन ।

सामाजिक दूरी कायम गर्ने, सरसफाइजस्ता कुराहरुमा पनि जनचेतनाको अभाव देखिन्छ । कतिसम्म भने क्वारेन्टाइनको उदेकलाग्दो भद्रगोलले दातृ निकायले जनचेतनामा खर्चेको भनिएको यति ठूलो रकममाथि प्रश्न चिन्ह उठेको छ । तर, सोही प्रयोजनमा यति ठूलो रकम खर्च देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग झण्डै २० करोड रकम कोभिड—१९ को विज्ञापनमा कुन मोडालिटीमा खर्च गरियो भनेर जिज्ञाशा राख्दा आफूलाई यसबारेमा विस्तृतमा जानकारी नभएको बताए । ‘म केही समयअघि मात्रै प्रवक्तामा भएको हुँ, यति रकम खर्च नहुनुपर्ने हो । कुन मोडालिटीमा खर्च भयो मलाई जानकारी भएन ।’

कोभिड—१९ विरुद्धको जनचेतनामा सबैभन्दा बढी खर्च गरेको युएसएडका नेपालमा प्रतिनिधी नुर पन्तले युएसएडले कुनै पनि काम आफै नगर्ने र नेपाल सरकारमार्फत खर्च गर्ने गरेको बताए ।

कसको कति खर्च ?

१) युनिसेफ, डब्लूएचओ (खर्च नखुलेको) : राष्ट्रिय शिक्षा, स्वास्थ्य तथा सूचना केन्द्रमार्फत अडियो, भिजुअल बनाएको, नेपाल टेलिभिजनबाट कोरोना केयर कार्यक्रम, कायाकैरनबाट चलाएको, साझा खबरबाट कार्यक्रम चलाएको

२) युएनएफपीए— (खर्च नखुलेको) : राष्ट्रिय शिक्षा, स्वास्थ्य तथा सूचना केन्द्रमार्फत सामाजिक सन्जालमा विज्ञापन प्रशारण गरेको

३) जिएफ÷एसएफ— (खर्च नखुलेको) : ५ वटा लोकल एफएममा हात धुने सम्बन्धी भिडियो देखाएको

४) युएसएड—१.१ मिलियन (१३ करोड १४ लाख ६ हजार रुपैयाँ) : राष्ट्रिय शिक्षा, स्वास्थ्य तथा सूचना केन्द्र र परिवार कल्याण महाशाखामार्फत १२० वटा एफएममा अवधि र नेपाली भाषामा विज्ञापन बजाएको ।

५) वाटर एड—(खर्च नखुलेको) : थारु र मैथिली भाषामा पोष्टर र पम्पलेट बनाएको, १० लाख मान्छेले सुन्ने रेडियो जिंगल बनाएको

६) आईएफआरसी र एनआरसीएस—२४ हजार ५ सय ७९.८३ स्वीस फ्रयांक (३१ लाख ३५ हजार ४ सय ३ रुपैयाँ) : रेडियो, टिभीमा म्यासेज प्रशारण, टक शो चलाएको, अनलाइनमार्फत सन्देश प्रवाह गरेको, गाउँ—गाउँका स्कुलमा भोलिन्टियर सन्चालन गरेको

७) वल्र्ड भिजन इन्टरनेशल— १ हजार ४ सय ८६ डलर (१ लाख ७७ हजार ५ सय १७ रुपैयाँ) : प्रचार—प्रसारमा खर्च गरेको

८) प्लान इन्टरनेशल—५ हजार ५ सय डलर (६ लाख ५७ हजार रुपैयाँ) : सात जिल्लाका एफएम स्टेशनमा विज्ञापनमा खर्च

९) युएसएड— ५ लाख डलर खर्च (५ करोड ९७ लाख ३० हजार रुपैयाँ) : १२९ रेडियो स्टेशनमार्फत विभिन्न जनचेतना कार्यक्रम गरेको

१०) डिएफएटी—३० हजार ३ सय ३३ अष्ट्रेलियन डलर (२५ लाख २९ हजार ४ सय ६८ रुपैयाँ): रिस्क कम्युनिकेशनका लागि खर्च गरेको

११) युएसएड—६ हजार ५ सय डलर (७ लाख ७६ हजार ४ सय ९० रुपैयाँ): विभिन्न जिल्लाका विज्ञापनमा खर्च गरिएको

१२) आईएफआरसीले नेपाल रेडक्रसमार्फत—७७ जिल्लामा रिस्क कम्युनिकेसनमा—नखुलेको


(रकमको नेपाली रूपान्तरण आजको विदेशी विनिमय दरमा आधारित छ ।) 


तस्वीरः युएसएड नेपालको फेसबुकबाट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ