२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘बेनामे उजुरी’ले खोल्यो अवैध मिर्गौला प्रत्यारोपणको ‘पोल’

‘बेनामे उजुरी’ले खोल्यो अवैध मिर्गौला प्रत्यारोपणको ‘पोल’


काठमाडौं—२७ जेठ २०७६ मा चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइसेन्समा पहिलो मिर्गौला प्रत्यारोपण हुँदैं थियो । प्रत्यारोण गरिने व्यक्ति थिएँ, ललितपुरका ५६ वर्षीय एक पुरूष । उनको प्रत्यारोपण पनि सफल भयो । ती व्यक्तिलाई नातामा भान्जा पर्नेले मिर्गौला दान दिएका थिए । भान्जाले नै मामालाई मिर्गौला दिएपछि त्यो खासै चासोको विषय भएन । किनभने, मामाले भान्जालाई मिर्गौला दिनसक्ने कानुनी प्रबन्ध छ ।

त्यसयताका तीन महिना यो घटनामाथि खासै चर्चा चलेन । तर, २ असोज २०७६ मा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोमा नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको ‘बेनामे उजुरी’ परेपछि भने घटनाले अर्कै मोड लियो । बेनामे उजुरी हालेर प्रहरीलाई झुक्काएको हुन सक्ने सम्भावना पनि थियो । तर, प्रहरीले उक्त बेनामे उजुरीको गम्भीरतालाई मध्यनजर गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढायो ।

‘एकपछि अर्को हामीले तथ्यहरु संकलन गर्दै गयौं,’ ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले हेल्थआवाजसँग भने, ‘सबै डकुमेन्टहरु भेरिफाइ गर्दा लामो समय लाग्यो ।’ अन्ततः १० महिना लामो अनुसन्धानपछि प्रहरी नक्कली भान्जा खडा गरेर अवैध मिर्गौला प्रत्यारोपण भएको निष्कर्षमा पुग्यो । त्यसपछि उक्त मिर्गौला प्रत्यारोपणमा संलग्नहरुको खोजी सुरु गर्‍यो । त्यही क्रममा ब्यूरोको ५ जनाको टोली शनिबार चितवन पुग्यो । शनिबार ४ बजे मिर्गौला प्रत्यारोपण गरिएको मेडिकल कलेजका सिईओ डा. सुप्रभात श्रेष्ठ, ट्रान्सप्लान्ट सर्जन डा. राकेश बर्मा, डा. बालकृष्ण कालाखेती, अधिवक्ता रमेश काफ्ले र जिल्ला प्रशासन कार्यलय चितवनका शाखा अधिकृत रामचन्द्र ढकाललाई पक्राउ गरेर काठमाडौं ल्याइयो ।

आइतबार उक्त अवैद्य मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परे । जसमा ललिलपुर महानगरपालिका—३ का वडाध्यक्ष गोपाल महर्जन, प्रहरी सहायक निरिक्षक भीमप्रसाद खनाल, निलम्बित प्रहरी नायब निरिक्षक योगेन्द्रराज थपलिया रहेका छन् । यस्तै फर्जी नागरिकता बनाउन सहयोगी भूमिका खेलेको आरोपमा ललितपुर जिल्ला प्रशासनको नागरिकता फाँटका दुई जना पनि पक्राउ परेका छन् भने अन्य दुई महिला पनि रहेका छन् ।

प्रहरीकाअनुसार प्रत्यारोपणका लागि आवश्यक पर्ने सबै डकुमेण्टहरु ललितपुरमा तयार पारिएको हो । ‘डकुमेण्ट सबै ललितपुरमा तयार भएको देखिन्छ,’ प्रवक्ता थपलिया भन्छन्, ‘यसमा आवश्यक थप अनुसन्धान पनि हामीले जारी राखेका छौं ।’ ब्यूरोका प्रमुख एसएसपी देवबहादुर बोहराले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।

विदेशमा रहेका भान्जामा नाममा स्वदेशमा फर्जी डकुमेण्ट

ललितपुरका रिजनवीर जोशी विदेशमा रहेको प्रहरीले जनाएको छ । नेपालमा उनका मामाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । यही क्रममा उनीहरुले तिनै भान्जाको नाममा नेपालमा नक्कली भान्जा खडा गरे । नक्कली भान्जाको नाता प्रमाणितदेखि फर्जी नागरिकतासम्म बनाए । प्रहरीकाअनुसार २७ वर्षीय एक युवालाई प्रलोभनमा पारेर नक्कली रिजनवीर बनाइएको थियो ।

‘भान्जा रिजनवीर जोशीका नाममा अर्कै नक्कली व्यक्ति खडा गरेर नाता प्रमाणितदेखि नागरिकतासम्म बनाएर सबै डकुमेण्टहरु तयार पारेर मिर्गौला प्रत्यारोपण गरेको देखिन्छ,’ थपलिया भन्छन्, ‘भान्जा नाता पर्ने व्यक्ति विदशेमा छन् ।’ वडाध्यक्षले पनि आफूले चिनेको र मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिको नातेदार भएको भनेर नाता प्रमाणित गरेको उनले बताए । ‘रिजनवीर जोशीको नाममा अर्कै मिर्गौला निकालिएको व्यक्तिको फोटो हालिएको छ,’ उनले थपे, ‘सबै कुरा नक्कली बनाएर मिर्गौला प्रत्यारोपण गरेको देखिन्छ ।’

थपलियाले मिर्गौला प्रत्यारोपणमा चिकित्सक र अस्पताललाई झुक्काइएको हुन सक्ने तर्कलाई पनि अस्वीकार गरे ।

तस्वीरमाः अवैध मिर्गाैला प्रत्यारोपणबारे जानकारी दिदैं ब्यूरोका प्रमुख एसएसपी देवबहादुर बोहरा । तस्वीर: नवराज वाग्ले 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ