२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशशारदानगर स्वास्थ्य चौकी अस्पतालका रुपमा विकास हुन सकेन (भिडियोसहित)

शारदानगर स्वास्थ्य चौकी अस्पतालका रुपमा विकास हुन सकेन (भिडियोसहित)


चितवन-वि.सं. २०७० सालदेखि अस्पताल बन्ने चर्चामा रहेको भरतपुर महानगरपालिका-१९ मा अवस्थित शारदानगर स्वास्थ्यचौकी अझै अस्पतालको रूपमा विकास हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन चितवन क्षेत्र-४ बाट चुनाव जितेका स्व. सुशील कोइराला प्रधानमन्त्री समेत भए । तर, चुनावका बेला २५ शैर्‍याको अस्पताल बनाउने प्रतिबद्धता गरेका उनले स्वास्थ्यचौकीलाई स्तरोन्नती गर्न सकेनन् ।

त्यसपछि २०७३ चैतमा तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापालाई शारदानगर स्वास्थ्यचौकी २५ शैय्याको हुने गरी स्तरवृद्धि गर्न माग गर्दै स्थानीयले गठन गरेको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझायो । प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले शारदानगर स्वास्थ्यचौकीलाई स्तरवृद्धि गरी २५ शैय्याको बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । तर, स्वास्थ्यचौकीको स्तरोन्नती अझै हुन सकेको छैन । गगन थापादेखि अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्म आइपुग्दा शारदानगरको स्वास्थ्यचौकी अस्पतालमा रुपान्तरण हुन सकेको छैन ।

पश्चिम चितवनमा पनि सेवा आवश्यक देखिएको भन्दै शारदानगर माविको एक कोठाबाट सुरु भएको शारदानगर प्राथमिक स्वास्थ्य केन्द्र गाउँपञ्चायतले जग्गा उपलब्ध गराएपछि शारदानगर स्वास्थ्य चौकी बन्यो । यो भरतपुर महानगरको सबै भन्दा पुरानो स्वास्थ्यचौकी हो ।

महानगरपालिका बनिसकेपछि भरतपुर अस्पताल मात्रै पर्याप्त नहुने हुँदा पश्चिम क्षेत्रको मध्यभागमा पर्ने र सबैलाई सुविधा हुने शारदानगरमा अस्पताल बनाउनुपर्ने माग उठेको छ तर स्वास्थ्य मन्त्रालयले स्वीकृती नदिँदा शारदानगर हेल्थपोस्टको स्तरोन्नती हुन सकेको छैन ।

२०७३ सालमा शारदानगर हेल्थपोस्टलाई अस्पताल बनाउन प्रदेश सांसद विजय सुवेदीको नेतृत्वमा अस्पताल पहल समिति बनेको थियो । जुन समितिको उपाध्यक्षमा भीम गुरूङ रहेका थिए । उक्त समितिले अस्पताल बनाउन पहल गरे पनि त्यसले हालसम्म साकार रुप लिन सकेको छैन ।

भरतपुर महानगरको नगरकार्यपालिकाको गएको कात्तिक ७ गते बसेको ३४ औं बैंठकले १५ शैय्याको अस्पतालका रुपमा ‘अपग्रेड’ गर्न अनुरोध गरी पठाउने निर्णय गरेको थियो । महानगरभित्रकै गीतानगर, मेघौली स्वास्थ्य चौकीका लागि मन्त्रालय धाइरहेकाले कुनलाई सिफारिस दिने भन्नेमा महानगर अलमलमा थियो । हरेक स्थानीय तहमा १ अस्पताल बनाउने नीतिअनुसार महानगरले जग्गा पर्याप्त भएको र पश्चिम चितवनको केन्द्र भागमा रहेको भन्दै शारदानगरलाई नै अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गर्यो ।

शारदानगर स्वास्थ्यचौकीका कार्यालय प्रमुख बद्रीप्रसाद खकुरेलले छिट्टै अस्पताल बन्ने वातावरण बनेको हेल्थ आवाजलाई बताए। “बिरामीको चाप बढ्दो छ, भित्री बस्ती बाट समेत सेवा लिन आउने केन्द्रका रुपमा चिनिएको छ । अस्पतालका रुपमा स्वीकृति पाउने पखाईमा छौं,” उनले भने । हालको स्वास्थ्य चौकीबाट दैनिक ५० जनाले सेवा लिँदै आएका छन् ।

भरतपुरबाट झन्डै १५ किलोमिटर दूरीमा रहेको शारदानगर स्वास्थ्यचौकीमा ४ वटा भवनहरु रहेका छन् । पुरानो भवन, तालिम भवन, स्वास्थ्य चौकी भवन, आवासीय भवन छन् । कार्यालय सहयोगी सहित यहाँ आठ जना कर्मचारीहरु रहेका छन् । प्राविधिकतर्फ एक एचए, एक ल्याब टेक्निसियन र तीन जना नर्सहरु रहेकोमा ती मध्य तीन जना करारमा छन् । स्वास्थ्यचौकीले आन्तरिक स्रोतबाट प्रयोगशाला चलाएको छ । भरतपुर महानगरपालिका-१७, १८, १९, २०, २१, २६ का स्थानीयलाई सेवा पुर्याइरहेको छ ।

भिडियो हेर्नाेस




क्याटेगोरी : बाग्मती प्रदेश, भिडियाे, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ