२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआफ्नाकै साथ छैन स्वास्थ्यमन्त्रीलाई, कोर टिममा को भित्रिए, को बाहिरिए ?

आफ्नाकै साथ छैन स्वास्थ्यमन्त्रीलाई, कोर टिममा को भित्रिए, को बाहिरिए ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल यतिबेला सहयोगीहरुको बलियो घेरामा हुनुपर्ने हो । किनभने, कोरोना महाव्याधि विरुद्ध लड्ने मोर्चा पहिलो कमाण्ड उनकै हातमा छ । तर, अवस्था अलि भिन्न देखिन्छ । पार्टी निकट स्वास्थ्य संगठनले उनले गरेका कामको स्वामित्व ग्रहण गर्ने अनिच्छा देखाइरहेका छन् भने मन्त्रीको कोर टिममा रहेका उनका बलिया सहयोगीहरु पनि टाढिदैं गएका छन् ।

तर, मन्त्री ढकालकै दावीलाई मान्ने हो भने नेपालमा कोरोना बढेको ५ महिनाका अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति राम्रो काम गरिरहेको छ । त्यसकै कारण अहिलेसम्म कोरोना समुदायमा नफैलिएको प्रत्येक दिन मन्त्रालयले गर्ने कोभिड—१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ताले दावी गर्दै आएका छन् । साथै, दक्षिण एसियामै कोभिड—१९ नियन्त्रणमा तेस्रो राम्रो काम गर्ने देश भएको नियमित ब्रिफिङमा सुनिन्छ ।

यति राम्रो काम गरिरहेको बताउने मन्त्रालयको कामका विषयमा नेपालमा भने एकपछि अर्को आलोचना भैरहेको छ । ओम्नी खरिद प्रकरणदेखि सुुरु भएको आलोचना श्रृंखला पछिल्लो समय पिसिआर परीक्षण कम गराएर निजीलाई परीक्षण खुला गरेसम्मको पुगेको छ । स्वास्थ्य मन्त्रालय एकपछि अर्को आलोचना हुँदैं गइरहेका बेला मन्त्री ढकाललाई नजिकबाट सहयोग गरिरहेकाहरु टाढिदैं गएका छन् भने उनकै दल निकट स्वास्थ्यसँग सम्बन्धित पेशागत संगठनहरु पनि रुष्ट भएर चुपचाप बसेका छन् ।

अब कुरा सुरु गरौं सत्तारुढ दल नेकपा निकट संगठनहरुबाट । स्वास्थ्य क्षेत्रमा नेकपा निकट संगठन निकै बलियो देखिन्छ । पूर्व एमाओवादी र एमाले गरेर पाँच वटा संगठन अहिले पनि क्रियाशील छन् । यी पाँच वटै संगठन एकीकृत हुने तयारीमा छन् । स्वास्थ्य मन्त्रालय मातहत रहेका २७ हजार स्वास्थ्यकर्मीमध्ये झण्डै १८ हजारभन्दा बढी यी पाँच वटा संगठनमा आवद्ध छन् ।

यति ठूलो जनशक्तिको समर्थन रहेको पार्टीबाट स्वास्थ्यमन्त्री बनेका ढकाललाई ती संगठनले पूर्ण रुपमा सहयोग गरेको देखिदैन् । यसको ज्वलन्त उदाहरण संगठनको नेतृत्वकर्ताले स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले गरेका कामको स्वामित्व लिएर समर्थन गरेको नगर्नु हो । किन त ? पार्टी निकट संगठन नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष चित्रजंग शाही भन्छन्, ‘संगठनको सल्लाहमा काम गरेको स्वामित्व लिन सकिन्थ्यो । तर, सरसल्लाह शुन्य सरह छ ।’ उनी मन्त्री, सचिवालय र संगठनबीच ठूलो ग्याप रहेको बताउँछन् । ‘हामीले मन्त्रीलाई सल्लाह÷सुझाव दिने धेरै प्रयत्न ग¥यौं,’ शाही थप्छन्, ‘केही हप्ता अगाडि बल्लबल्ल संयुक्त रुपमा एक पटक भेट्ने मौका पाइयो ।’

शाहीको जस्तै अनुभव नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान लिम्बुको पनि छ । ‘संगठनात्मक रुपमा मन्त्री र सचिवालयले हामीसँग समन्वय गरेको छैन्,’ लिम्बु भन्छन्, ‘हामीले चासो राख्यौं भने मन्त्रीज्यूले चिया खान बोलाउनुहुन्छ । तर, खासै उपलब्धिमूलक छलफल हुँदैन् ।’ तत्कालीन एमाले निकट यो संगठनलाई मात्र महत्व दिदा पार्टी एकता सन्देश नदेखिने हुन सक्ने मन्त्रीले ठानेको हुन सक्ने उनी बताउँछन् । उनी अहिलेको कोरोना महामारी र मन्त्रालयका नियमित काम कारवाहीका लागि टिम बनाएर जानुपर्नेमा निश्चित व्यक्तिहरुलाई मात्रै मन्त्रीले लिएर अगाडि बढेको बताउँछन् ।

पूर्व एमाओवादी निकट अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्की त झन स्वास्थ्य मन्त्रीको कार्यशैलीको चर्को विरोध नै गर्छन् । ‘औपचारिकताका लागि कहिलेकाही सुझाव माग्नुहुन्छ । तर, गर्नुपर्ने काम गर्नुहुन्न्,’ उनी आक्रोश पोख्छन्, ‘चित्तबुझ्दो काम केही पनि गरेको देखिदैन् ।’ कार्की स्थानीय तहदेखि केन्द्रसम्म स्वास्थ्यकर्मीहरुको गुनासो आफूहरुलाई आउने र ती गुनासा सम्बोधन गर्न मन्त्रीलाई पटक—पटक भन्दा पनि हुँदैन नभन्ने तर काम चाहिँ नगर्ने गरेको दावी गर्छन् ।

तत्कालीन एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा. रमेश ढकालको बुझाइ भने अलिकति फरक छ । सुरुका दिनमा मन्त्री ढकालले संगठनलाई सोधीखोजी गरेतापनि पछिल्ला दिनमा वेवास्ता गर्दै गएको उनले गुनासो छ । ‘सुरुमा हामीले हाम्रो पार्टी निकट मन्त्री आएपछि झकझकाउने काम गरेका थियौं । मन्त्रीज्यूले पनि चासो र चिन्ता व्यक्त गर्नुभएको थियो,’ उनी भन्छन्, ‘पछिल्ला दिनमा संगठनप्रति उहाँको त्यति ध्यान गएको देखिदैंन् ।’ स्वास्थ्यमन्त्रीमा ढकाल नियुक्त भएदेखि जेठ पहिलो सातासम्म नियमित रुपमा मन्त्रालय जाने गरेका डा. ढकाल मन्त्रीले जुन टिम लिएर अगाडि बढे त्यसमा असन्तुष्ट रहँदैं त्यसयता मन्त्रालय जान छाडेका छन् । ‘हामीसँग प्रत्यक्ष जोडिएको ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’जस्तो संवेदनशील कार्यक्रम बनाउँदैं गर्दा हामीलाई सामेल नै गराइएन,’ उनी गुनासो गर्छन् ।

मन्त्रालयले गरेका कामहरुको बारेमा मन्त्री निकट पार्टीका संघ संगठनहरुले बचाउ गर्न नचाहनु भनेको नेतृत्वले संगठन परिचालन गर्न नसक्नुको गतिलो उदाहरण भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघका संस्थापक अध्यक्ष प्रा.डा. विदुर वस्ती बताउँछन् । ‘राजनीति गर्ने नेतृत्वले आफ्नो संघसंगठनहरुलाई परिचालन गर्न सक्नुपर्छ,’ वस्ती भन्छन्, ‘अहिले स्वास्थ्य मन्त्रालयमा मन्त्री नचाहेर हो वा सचिवालयले नजानेर हो संगठन परिचालन भएको पाइदैन् ।’ उनी स्वास्थ्यका संगठनहरु चुप लाग्नुलाई राष्ट्रिय रोगका रुपमा ब्याख्या गर्छन् । ‘माथिदेखि देखिएको गुटको प्रभाव यहाँ पनि देखिन्छ,’ उनी भन्छन्, ‘मन्त्रीको सचिवालय पनि नचाहेकोजस्तो देखिन्छ भने संगठनहरुले पनि साथ नदिएको हो कि भन्ने लाग्छ ।’ आफू लामो समयदेखि काठमाडौं बाहिर रहेकाले यी दुई निकायबीच किन तालमेल मिलिरहेको छैन भन्ने कुरा आफूले भित्रबाटै बुझ्न नपाएको उनले बताए ।

कोर टिममा को भित्रिए, को बाहिरिए ?

स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा भानुभक्त कमाण्ड सम्हालेपछि उनको कोर टिममा भित्रिनेभन्दा बाहिरिनेको संख्या बढी छ । सधैंभरि पूर्व एमाले निकट मन्त्रीले मन्त्रालय हाँक्दा मन्त्रालय भित्रबाट टिममा जनस्वास्थ्यविद् महेन्द्रप्रसाद श्रेष्ठ छुट्दैन्थे । ढकालले मन्त्रालय सम्हाल्दाका सुरुवाती दिनमा पनि उनी मन्त्रीको दायाँ हातको भूमिकामा मन्त्रालयका क्रियाशील देखिन्थे । तर, ओम्नी खरिद प्रकरण एकपक्षीय रुपमा सम्झौता रद्ध गरेसँगै मन्त्रीसँग टसल प¥यो । जसको परिणामस्वरुप उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट हटाएर सिसिएमसीमा खुम्चाइएका छन् ।

त्यसैगरी पूर्व एमालेबाट स्वास्थ्य मन्त्री रहेका बेला भित्रियाका रुपमा काम गर्ने प्रशासनतर्फका उपसचिव लीलाराज पौडेल पनि मन्त्रीको कोर टिमबाट बाहिरिएका छन् । उनले मन्त्रीका निजी सचिव नै भएर लामो समय काम गरेका थिए । तर, मन्त्रीका विज्ञ सल्लाहकार रुपमा डा. खेम कार्की भित्रिएसँगै चुलिएको विवाद कारण उनी मन्त्रीको कोर टिमबाट आउट भएका हुन् ।

कोभिड—१९ को महामारी सुरु हुँदैं गर्दा मन्त्रीको विश्वासपात्र भएका नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला पनि अहिले उनको कोर टिममा छैनन् । पिसिआर परीक्षणको दायरा घटाएकोमा चित्त नबुझेपछि डा. कोइराला मन्त्रीबाट टाढिएका हुन् ।

कोभिड—१९ महामारीकै बेला देशभरि पिसिआर ल्याब स्थापना र सन्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका त्रिभुवन विश्वविद्यालयका आनुबांशिक विज्ञ प्राध्यापक डा. गिरिराज त्रिपाठी पनि मन्त्री र सचिवालयको कार्यशैलीबाट असन्तुष्ट बन्दैं मन्त्रीको कोर टिमबाट बाहिरिएका छन् ।

अहिले मन्त्रीको कोर टिममा मन्त्रालयभित्रबाट डा. गुणराज लोहनी र डा. रोशन पोखरेल पहिलो लाइनमा छन् । त्यस्तै, बाहिरबाट उनलाई दह्रो काँध थाप्नेमा विज्ञ सल्लाहकार डा. खेम कार्की रहेका छन् ।


तस्वीरः नवराज वाग्ले/हेल्थआवाज


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ