२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवनमा स्क्रब टाइफसका कारण ३२ वर्षीय पुरुषको मृत्यु

चितवनमा स्क्रब टाइफसका कारण ३२ वर्षीय पुरुषको मृत्यु


चितवन– चितवनमा स्क्रब टाइफस संक्रमणका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा बस्ने ३२ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

ज्वरोसँगै श्वासप्रश्वास, मुटु र कलेजोमा समेत समस्या देखिएपछि उनी असार २९ गते उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका उनको उपचारकाक्रममा मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाराज पौडेलले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उनको खर्चको अभाव भएपछि थप उपचारका लागि गत सोमबार भरतपुर अस्पतालमा ल्याइएको थियो । मृत्युको कारणमा स्क्रबटाईफस लगायत अन्य समस्या रहेको अस्पतालले जनाएको छ ।

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टिरियाको कारणले हुने रोग हो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन सुरू हुन्छ ।

यसमा विशेषरी उच्चज्वरो आउने, शरीरमा रातो–रातो दाना देखिने, अत्याधिक टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, आँखाको सेतो भाग रातो हुने, टोकेको ठाउँमा कालो पाप्रा देखिने जस्ता लक्षण देखिन्छन् ।

त्यसैले किर्नाले टोकेको ठाउँ कोला पाप्रा देखिएको छ, उच्चज्वरो आएको छ र आँखा रातो आएको छ भने स्क्रब टाइफस लक्षण हो भनेर बुझ्नुपर्छ । यसको उपचारकालागि सामान्य एन्टिबायोटिक चलाइन्छ ।

एन्टिबायोटिक चलाएको सामान्यतया ४८ घन्टापछि ज्वरो घट्दै जान्छ । यसबाट बच्न घरमा मुसा नआउने वातावरण बनाउनुका साथै घरवरिपरि झाडी, खुलाचौरमा बस्दा थ्याच्च नबस्ने, बाहुला भएको कपडा लगाउने गर्नुपर्छ । त्यसैले मुसा नियन्त्रण गर्नु नै यसबाट बच्ने उत्तम उपाय हो ।

कसरी पत्ता लगाउने ?

यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यस अन्तर्गत लिभर फङसन टेस्ट, सीबीसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण समेत गरिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ