२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपकुलपतिले ल्याए वीर अस्पतालमा १० देखि १ बजेसम्म मात्र ओपिडी चलाउने प्रस्ताव

उपकुलपतिले ल्याए वीर अस्पतालमा १० देखि १ बजेसम्म मात्र ओपिडी चलाउने प्रस्ताव


काठमाडौं—सरकारले ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ अवधारणा ल्याएर सरकारी अस्पतालको सेवा सुविधा बढाउनेबारे नीति बनाउन लागिरहेका बेला देशकै पुरानो र ठूलो सरकारी अस्पतालमा ओपिडी सेवा समय घटाउने प्रस्तावमाथि छलफल सुरु भएको छ ।

काठमाडौंको महावौद्धमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आम्दानी कम भएको भन्दैं उपकुलपति प्रा.डा. डिएन साहले पदाधिकारी बैठकमा ओपिडी समय घटाएर कर्मचारीको सुविधा कटौती गर्ने प्रस्ताव अगाडि सारेका छन् । सेवा सुविधा बढाएर अस्पतालको आम्दानी बढाउने वैज्ञानिक योजना बनाउनुको साटो डा. साह कर्मचारी र बिरामीले पाउँदैं आएको सुविधामा कैची चलाउने अदूरदर्शी योजनामा ल्याउन लागेका हुन् ।

लकडाउनकै समयमा ल्याइएको सो प्रस्तावमाथि छलफल गर्न समिति बनाउने निर्णय भएतापनि कर्मचारीहरुबाट विरोध आएपछि सो समितिमा बस्न कसैले पनि नमानेको न्याम्स स्रोतले हेल्थआवाजलाई जानकारी दिएको छ । वीर अस्पतालमा काम गर्ने चिकित्सक तथा कर्मचारीले अतिरिक्त ५० प्रतिशत भत्ता पाउँदैं आएका छन् ।

उपकुलपति साहले ओपिडी समय विहान १० बजेदेखि १ बजेसम्म सिमित गरेर सो ५० प्रतिशत भत्ता कटौती गर्ने प्रस्ताव न्याम्स पदाधिकारीहरुको बैठकमा लगेका थिए । अहिले वीरमा ९ बजेदेखि ५ बजेसम्म ओपिडी चल्दैं आएको छ ।

ओपिडी समय घटाएर भत्ता कटौती गर्ने विषयमा छलफल भएतापनि निर्णय भइनसकेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । ‘कोभिड—१९ का कारण अस्पतालको आम्दानी घटेको हुँदा तत्काललाई भत्ता कटौती गरी ओपिडी समय पनि कम गर्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘समिति बनाउने भनिएतापनि बनेको छैन् । तत्काललाई स्थगित गर्ने भन्ने कुरा आएको थियो ।’

अस्पताल स्रोतकाअनुसार सामान्य अवस्थामा वार्षिक ३५ करोडभन्दा बढी आम्दानी हुने वीर अस्पतालमा कोभिडका कारण यस वर्ष २५ करोडभन्दा बढी आम्दानी हुन सकेको छैन । अतिरिक्त भत्तामा खुवाउन न्याम्सले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्दा आफै बेहोर्न भनेपछि उपकुलपति ओपिडी समय घटाएर भत्ता कटाउने प्रस्ताव पदाधिकारी बैठकमा लगेका हुन् ।

डेढ वर्षअघि उपकुलपति नियुक्त भएका डा. साह न्याम्स र वीर अस्पतालको आम्दानी र सेवा विस्तार गर्न भन्दा पनि आफ्नो जागिर मात्रै जोगाउने धाउन्नेमा लागेका भन्दैं कर्मचारी असन्तुष्ट बनेका छन् । ‘विहानै आउनुहुन्छ, आफ्नो कोठामा बस्नुहुन्छ, ५ बजेपछि गाडी चढेर घर फर्किनुहुन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक पदाधिकारीले भने, ‘भिसी नै जागिर खान मात्रै लागेपछि प्रतिष्ठान र अस्पतालको हालत के होला ?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ