काठमाडौं—मोटरसाइकललाई पनि एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने प्रस्वातसहितको मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिकाको मस्यौदा बनाउन डा. प्रदिप वैद्यको संयोजकत्वमा बनेको समितिले मोटरसाइकललाई समेत एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने प्रस्वातसहितको मस्यौदा तयार पारेको हो ।
‘बिरामीको ओसारपसार गर्नका लागि हवाईमार्ग एम्बुलेन्स, स्थल मार्ग मोटर, मोटरसाइकल तथा अन्य एम्बुलेन्सबाट सेवा सञ्चालन गरिनेछ,’ समितिको मस्यौदामा छ ।
मोटरसाइकल एम्बुलेन्सका लागि मोटरसाइकल चलाउन मान्यता प्राप्त लाइसेन्स भएको र आकस्मिक चिकित्सा प्राविधिक (ईएमटी) सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्ने योग्यता समेत मस्यौदामा प्रस्ताव गरिएको छ ।
यस्तै, मस्यौदामा एयर एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा स्टाफ नर्स अनिवार्य र बिरामीको अवस्थाअनुसा मेकिडल अधिकृत परिचालन गर्न सकिने मस्यौदामा उल्लेख गरेको छ । अहिले एक सिफ्टमा एक जना र भविष्यमा पनि कार्यबोझ बढेमा जनशक्ति थप गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो जनशक्ति प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण, ईएमटी सम्बन्धी आधारभूत तालिम प्राप्त तथा २ हप्ते पुनर्ताजकी तालिम प्राप्त गरेर १८ महिना ख वर्गको एम्बुलेन्समा काम गरेको हुुनुपर्नेछ ।
अन्य एम्बुलेन्स सेवाका लागि पनि जनशक्तिबारे मस्यौदामा स्पष्ट व्यवस्था गरिएको छ । क वर्गको एम्बुलेन्सका लागि हेल्थ असिस्टेन्ट वा स्टाफ नर्स ४ जना र आवश्यकताअनुसार मेडिकल अधिकृत पनि परिचालन गर्न सकिने व्यवस्था गरिएको छ । उनीहरुमध्ये एक सिफ्टमा एक जनालाई खटाइनेछ । क वर्गको एम्बुलेन्समा काम गर्ने स्वास्थ्य जनशक्ति सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको, इएमटी सम्बन्धी आधारभूत तालिम तथा दुई हप्ते पुनर्ताजकी तालिम लिएको र १८ महिना ख वर्गको एम्बुलेन्समा काम गरेको हुनुपर्नेछ ।
क वर्गको एम्बुलेन्समा ४ जना सवारी चालक हुनुपर्नेछ । एक सिफ्टमा एक जना परिचालन गरिनेछ । सवारी चालक २५ वर्ष पूरा भएको, ५ वर्ष सवारी चलाएको तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
यस्तै, ख वर्गको एम्बुलेन्समा एक सिफ्टमा १ जना परिचालन गर्ने गरी ४ जना स्टाफ नर्स वा हेल्थ असिस्टेन्ट हुनुपर्नेछ । आवश्यकताअनुसार मेडिकल अधिृकत पनि परिचालन गर्न सकिने व्यवस्था मस्यौदामा छ । ख वर्गमा काम गर्ने स्वास्थ्य जनशक्तिको योग्यता सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र, इएमटी सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ । यस्तो एम्बुलेन्समा पनि एक सिफ्टमा एक जना परिचालन हुने गरी ४ जना सवारी चालक हुनुपर्नेछ । जसले प्राथमिक उपचार सम्बन्धी तालिम लिएको हुनुपर्नेछ ।
ग वर्गको एम्बुलेन्समा अहेब वा अनमी ४ जना हुनुपर्नेछ । जसलाई सिफ्टमा एक जना हिसाबले परिचालन गर्ने र उनीहरुले सम्बन्धित विषयको कोर्ष गरेको र सामुदायिक मेडिकल प्राविधिक (सिईएमटी) सम्बन्धी दुई हप्ताको आधारभूत तालिम प्राप्त हुनुपर्नेछ । ग वर्गको एम्बुलेन्समा प्राथमिक उपचार सम्बन्धि तालिम प्राप्त ४ जना सवारी चालक हुनुपर्नेछ ।
डा. वैद्य संयोजक रहेको उक्त समितिका अन्य सदस्यहरुमा शकुन्तला प्रजापति, डा. सन्तोष पौडेल, डा. अनिल श्रेष्ठ, बालकृष्ण सेढाइ सदस्य छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारी छन् ।