२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहो म त्यहि नर्स ! कोरोना संक्रमणलाई जितेर आए

हो म त्यहि नर्स ! कोरोना संक्रमणलाई जितेर आए


जब कोही कोरोनाका बिरामी देख्दा वा स्वास्थ्यकर्मी देख्दा तपाईं के महसुस गर्नुहुन्छ ? विश्वव्यापी रुपमा फैलिरहेको कोभिड—१९ को महामारीमा म पनि संक्रमित हुन पुगेकी थिए । सुरुमा आफ्नो पोजेटिभ रिपोर्ट सुन्दा आत्तिए । मलाई मृत्युभन्दा पनि समाजले के भन्ला भन्ने ठूलो पीर थियो ।

किनभने म एक अस्पतालमा काम गर्ने नर्स । तर, मेरो समाजले मप्रति त्यस्तो व्यवहार देखाएन । सबैतिरबाट साथ, माया र सपोर्ट पाए । त्यही कारण मैले कोरोना सजिलै जिते । मैले हार नमानेकै कारणले होला आफ्नो परिवारको रिपोर्ट नेगेटिभ आउँदा खुसीको सिमा रहेन् ।

सबै जनमानिसमा एउटा सन्देश दिन चाहन्छु—हामीले सामान्य दैनिक रुपमा आवश्यक पर्ने तरकारी, फलफूल किन्न जान्छौँ । मैले यहाँ भन्न खोजेको के हो भने संक्रमण ल्याउन ती सामाग्रीहरु र त्यहाँसम्म जाने हामी नै काफी छौं । अस्पताल नै जानुपर्छ भन्ने छैन । हाम्रो वरपरबाट पनि सर्न सक्छ ।

आज म कोभिड—१९ को संक्रमणको फन्दामा परे । भोलि अर्को र पर्सी तपाईंको पालो नआउला भन्ने केही ग्यारेण्टी छैन । कुनै एउटा रोग लाग्नु पाप गरेको होइन्, यो संक्रमण जो कसैलाई हुन सक्छन् । तपाईं हामी, हाम्रो आफन्त र हामीले सबैभन्दा धेरै माया गरेका मान्छेहरु । हामी सबैले संक्रमितलाई हेय होइन्, आफ्नो मनोबल उच्च राख्नुपर्छ । मनोबल उच्च बनाउँदा जस्तोसुकै रोगलाई पनि जित्न सकिन्छ ।

म एक नियमित रक्तादाता पनि हुँ । म केही समयपछि कोरोनासँग लडिरहेका बिरामीहरुलाई प्लाज्मा दान गरेर सहयोग गर्नेछु । मेरो समाजमा पनि कोही संक्रमित हुनुभयो भने उहाँहरुलाई सहयोग र सेवा गर्नेछु । उहाँहरुको उपचारमा फ्रन्टलाइनमा डट्नेछु ।

यति भन्दैं गर्दा होम आइसोलेसनमा बस्दाँ आफूले केही नयाँ र फरक अनुभव पनि गरें । सामान्यतयाः मलाई कुनै पनि लक्षणहरु नदेखिएका कारण मैले होम आइसोलेसनमै बसेरै कोरोना परास्त गरे । स्वास्थ्यकर्मी मात्रै नभएर सामन्य मानिसले पनि होम आइसोलेसनमा बस्न सकिन्छ

 ।

होम आइसोलेसनमा बस्दा मैले सामान्य तरिकाले एउटा फराकिलो र खुल्ला कोठा रोजे । जहाँका सबै झयालहरु खुल्ला राखे । ढोका बन्द गरे । आफ्नो परिवार सबैलाई राम्ररी माक्स लगाएर मात्रै मेरो रेखदेखमा आउन आग्रह गरे । आफूले पनि ६ फिटको दूरी माक्स लगाएर उहाँहरुसँग दैनिकी चलाए ।

हाम्रो वाथरुम एउटै भएको कारण मलाई चाहिने साबुन, स्याम्पु, चप्पलजस्ता सामानहरु छुट्टाछुट्टै बनाए । मैले वाथरुम चलाइसकेपछि डिटोल, बेटाडिन, स्प्रिट जस्ता (Antiseptic solution) बाट सेनिटाइज गर्न लगाए । जसले गर्दा किटाणुहरु फैलिनबाट रोकथाम हुन्छ । दैनिक लगाएका कपडाहरुलाई डिटोल हालेर राम्ररी धोएर मज्जाले घाम आउने ठाउँमा सुकाउन लगाए । यी सबै मैले गरेका कामहरु सामान्य छन् । जसलाई सुरुवात गर्न कुनै स्वास्थ्यकर्मी नै चहिन्छ भन्ने छैन् । सञ्चार माध्यम, सोसल मिडियामा देखिएका, सुनिएका कुराहरुबाट सजिलै सिक्न सकिन्छ । एउटा चिकित्सक वा स्वास्थ्यकर्मीसँग फोनकै माध्यमबाट पनि सहयोग लिएर ‘सेल्फ अब्जर्वेसन’मा गर्न सकिन्छ ।

१८ दिन होम आइसोलेसनमा बस्दा मैले खानेकुरा, उपचार र दिनचार्य कसरी कटाए ? म दैनिक रुपमा विहान उठेर लामो श्वासप्रश्वास लिने जस्तो ब्यायाम गरे । जसलाई डिप ब्रेथिङ एण्ड कजिङ एक्ससाइज भनिन्छ । त्यसपछि दुध र एउटा अण्डा, ज्वानो, बेसार, कागती, लसुन, अदुवा पानी र सामान्य दाल भात तरकारी खाए । दिउँसो फलफूलजस्ता खानेकुराहरु लिन्थे । यी सबै कुरा आफूलाई सहज पर्ने तरिकाले जसरी पनि खान सकिन्छ । दुई घण्टाको फरकमा तातो पानी पिइरहे ।

विहान र बेलुका खानापछि च्वानप्रास र ड्राइफ्रुट (काजु, किसमिस, बदाम आदि) खाए । भिटामिन सी कम्तिमा पनि ११ घण्टाको फरकमा बिहान र बेलुका खानापछि लिए । त्यसैगरी, भिटामिन ई दिउँसो एक पटक खाए । बेलुकीको समयमा नियमित अरोबिक एक्ससाइज गरे । दिनको चारपटकसम्म मन तातो पानीमा नुन हालेर कुल्ला गर्ने र दिनको तीन पटक नुन पानीको बाफ लिए । आफ्नो शरीरको सरसफाइमा पनि एकदमै ध्यान दिए ।

सधैं आफ्नो मनोबल उच्च बनाउने खालका कार्यहरु गरे । पोजिटिभ भिडियोहरु हेरे, किताबहरु पढे, फोनमा कुराकानी गर्नेलगायतका काममा आफूलाई व्यस्त राखे । जसले गर्दा नराम्रा सोचहरु आउन सकेनन् । केही कुरामा नआतिने र सबै कुरालाई सहज ढंगबाट समाधान गर्ने गरे ।

म एक कोरोना संक्रमण जितेको नर्स भएको हुनाले जति पनि संक्रमित हुनुहुन्छ, उहाँहरुलाई भन्न चाहन्छु— नआतिनुस्, मर्छु भन्ने मनमा नराख्नुस् । यो रोग आफूलाई मात्र होइन्, सबैलाई लाग्न सक्छ भन्ने सम्झनुस् । सकारात्मक सोच राख्नुस् । अवश्य हामीले कोरोना संक्रमणलाई जित्न सक्छौं । र अन्तमाः कोरोना लागेकालाई हेला होइन्, हौसला प्रदान गरौं । यो विषम अवस्थामा फ्रन्टलाइनमा रहेर हाम्रो उपचार खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरौं । मेरो आइसोलेसन बसाइँ र उपचारमा सहज बनाइदिनु हुने सम्पूर्ण चिकित्सकलाई हृद्धयदेखि नै धन्यवाद भन्न चाहन्छु । परिवार र समाजले पनि कोरोना जित्न न्यानो साथ दिएकोमा आभार प्रकट नगरी रहन सक्दिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ