२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. लोहनीलाई स्वास्थ्य सचिव बनाउने योजनामा वीर अस्पतालमा प्रमुख विशेषज्ञ पद थपिदैं

डा. लोहनीलाई स्वास्थ्य सचिव बनाउने योजनामा वीर अस्पतालमा प्रमुख विशेषज्ञ पद थपिदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा. गुणराज लोहनीलाई सचिव बनाउने गरी वीर अस्पतालमा १२ औं तहको नयाँ दरबन्दी सिर्जना गर्न कसरत सुरु गरेका छन् । एक वर्षदेखि रिक्त रहेको स्वास्थ्य सचिवको दरबन्दी पूर्तिका लागि वीर अस्पतालमा १२ औं तह सिर्जना भएपछि ४ जना प्रमुख विशेषज्ञबाट स्वास्थ्य सचिव छान्ने प्रक्रियामा जाने तयारी मन्त्रीले गरेका छन् ।

६ महिनाअघि वीर अस्पतालले ११ औं तहसम्मका कर्मचारी थप गर्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावमा १२ औं तह भने माग गरिएको थिएन । वीर अस्पतालले कर्मचारी थप गर्न माग गरेको आधारमा स्वास्थ्य मन्त्रालयले थप १२ औं तहको दरबन्दी सिर्जना गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृती दिएको थियो ।

मन्त्रालयको स्वीकृतीपछि वीर अस्पतालले एक महिनाअघि १२ औं तहको प्रमुख विशेषज्ञ पद सिर्जना गरी ओएनएम मन्त्रालय पठाएको हो । वीरको उक्त ओएनएम प्रस्ताव प्राप्त भएपछि मन्त्रालयले प्रमुख विशेषज्ञ दरबन्दीको योग्यता मापनका लागि लोकसेवा आयोग पठाइसकेको छ ।

आयोगबाट स्वीकृत भएर आएपछि उक्त प्रस्ताव अर्थ, सामान्य प्रशासन मन्त्रालय हुँदैं मन्त्रिपरिषद्मा लगिनेछ । स्रोतकाअनुसार अर्थ र सामान्य प्रशासन मन्त्रालयसँग प्रमुख विशेषज्ञ पद थप्ने विषयमा अनौपचारिक सहमति भइसकेको छ । ‘अब प्रक्रियामात्रै बाँकी छ,’ सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘अनौपचारिक रुपमा सबै कुरा भइसकेको छ । औपचारिक पत्र आउन मात्रै बाँकी छ ।’

मन्त्रिपरिषद्को गत १४ जेठमा बसेको बैठकले अत्यावश्यकबाहेक संगठन तथा व्यवस्थापन सर्वेक्षण स्थगित गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले उक्त निर्णय विपरित वीरमा डा. लोहनीलाई १२ औं तहमा बढुवा गर्ने गरी प्रमुख विशेषज्ञको नयाँ दरबन्दीको योग्यता मापनका लागि लोकसेवा पठाएको हो ।

एक वर्षदेखि खाली भएको स्वास्थ्य सचिव नियुक्तिमा सिफारिस गर्नुको साटो नयाँ दरबन्दी सिर्जना गर्न स्वास्थ्यमन्त्री लागि परेका छन् । स्वास्थ्य मन्त्रालय उच्चस्रोतका अनुसार मन्त्रालयमा कार्यरत ११ औं तहका डा. लोहनीलाई १२ औं तहमा सिफारिस गरी सचिव बनाउने योजनाअनुसार मन्त्री ढकालले यस्तो प्रस्ताव ल्याउन लगाएका हुन् । मन्त्री ढकाल हाल १२ औं तहमा रहेका तीनै जना प्रमुख विशेषज्ञहरुले आफू अनुकूल काम नगर्ने देखेपछि डा. लोहनीलाई सचिव बनाउन तयारीमा लागेका हुन् ।

क्याबिनेटको निर्णयलाई आधार मान्दा अहिलेको अत्यावश्यकबाहेकको अवस्थामा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पाउँदैन् । ‘वीर अस्पतालमा अहिले नभएको १२ औं तहको दरबन्दी थप्नु अत्यावश्यक भित्र पर्दैन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘महामारीका बेला कुनै व्यक्ति विशेषलाई १२ औं तहमा बढुवा गराएर सचिव बनाउन चलखेलमा लाग्नु शोभनीय देखिदैंन् ।’

न्याम्सले वीर अस्पतालको आम्दानी घटेको भन्दैं कर्मचारी कटौंती वा बेतलबी बिदामा राख्ने तयारी गर्दैगर्दा हतार—हतारमा कर्मचारी थप गर्नेसहितको ओएनएम गर्नु शंकास्पद देखिन्छ । न्याम्सले वीर अस्पतालमा कर्मचारीलाई तलबभत्ता दिन नसकेको भन्दैं ओपीडी समय घटाएर भत्ता नदिने विषयमा समेत छलफल चलाइरहेको छ ।

कर्मचारी पुनःसंचरना हुनुअघि स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञको चार दरबन्दी थियो । चार वटा विशेषज्ञको आवश्यकता नभएको भन्दैं संघीय संरचनामा तीन वटा मात्रै कायम गरिएको थियो । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार एक अस्पतालमा मात्रै प्रमुख विशेषज्ञको दरबन्दी थप गर्नु भनेको विवाद बल्झाउनु हो । प्याकुरेल भन्छन्, ‘सरकारले अत्यावश्यक भएको खण्डमा दरबन्दी थप गर्न सक्छ । तर, वीर अस्पताल मात्रै गर्ने हो भने स्वार्थ देखिन्छ । देशभर १७ संघीय अस्पताल छन् । उनीहरु सबैमा १२ औं तहको दरबन्दी राख्नुपर्छ ।’

डा. प्याकुरेलले प्रमुख विशेषज्ञको दरबन्दी ११ औं तहका १० चिकित्सकभन्दा बढी भएको स्थानमा राख्न सकिने बताए । ‘तर, पूर्ण कार्यकारी अधिकारसहित कर्मचारीको सरुवा, बढुवा सबै गर्न पाउने अधिकार उसमा निहीत हुनुपर्छ,’ उनी भन्छन् ।

विगतमा स्वास्थ्य मन्त्रालय मातहत ४ वटा १२ औं तहको दरबन्दी थियो । वीर अस्पताल, स्वास्थ्य सेवा विभाग, कान्ति बाल अस्पताल र प्रसुति गृहमा १२ औं तहको दरबन्दी राख्ने प्रस्ताव तयार गरिएको थियो । तर, विशिष्ट श्रेणीको व्यक्ति अस्पतालको प्रमुख भएर अधिकारविहिन अवस्थामा बस्न नसक्ने भएपछि त्यसलाई लागु गरिएन ।

ढकालको नजरमा किन परे डा. लोहनी ?

हक्की स्वभावका डा. गुणराज लोहनी आर्थिक मामलामा अहिलेसम्म मुछिएका छैनन् । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भएका बेला पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ट्रम नमिलेपछि उनलाई कोशी अस्पताल विराटनगरमा सरुवा गरिएको थियो ।

सरुवा भएको ६ महिना नबित्दैं उपेन्द्र कानून मन्त्रालयमा सारिए भने स्वास्थ्यमन्त्रीको रुपमा भानुभक्त ढकाल आए । कोशी अस्पतालमा काम गरिरहेका डा. लोहनीलाई गृहजिल्ला मोरङ भएका ढकालले नचिन्ने कुरै भएन । कोशी अस्पतालमा गएर केही सुधारका काम सुरु गरेका लोहनीलाई ढकालले काज सरुवा गरेर मन्त्रालय ल्याए ।

१२ औं तह खाली रहेका बेला डा. लोहनीलाई उक्त तहमा बढुवा गर्ने चर्चा मन्त्रालयमा निकै चुलिएको थियो । ढकालले पनि विभिन्न सार्वजनिक फोरममा दक्ष व्यक्तिलाई १२ औं तह बनाउने भन्दैं अप्रत्यक्ष रुपमा लोहनीको पक्षमा मत राखेका थिए ।

तर, बढुवा समितिले डा. लोहनीको अंक नपुगेको भन्दैं उनलाई बढुवा सिफारिस नै गरेन । मन्त्रीले आश्वासन दिएर पनि बढुवा हुन नसकेका डा. लोहनी केही समय १२ औं तह क्याबिनेटबाट नै फर्काउने कसरतमा पनि लागे । तर, त्यसमा उनी सफल हुन सकेनन् ।

मन्त्री ढकालले १२ औं तह बनाउन नसकेपछि उनलाई उचित जिम्मेवारी दिने भन्दैं थम्थमाएका थिए । १२ औं तह क्याबिनेट स्वीकृत हुनु दुई दिनअघि मन्त्री ढकालले डा. लोहनीलाई मन्त्रालयको सबैभन्दा पावरफूल महाशाखा नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखमा बनाए । महाशाखाको प्रमुख बनाउँदैं गर्दा विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि देखिन थाल्यो । संक्रमण देखिन थालेसँगै नियमित कामबाहेक अन्य कार्यक्रमहरु रोकिएर सबै काम स्वास्थ्य मन्त्रालयले एन्सीडेन्ट कमाण्ड सिष्टम बनाएर त्यसकै अधिनमा रहेर गर्न थाल्यो । सो सिष्टमको कमाण्डर पनि मन्त्रीले डा. लोहनीलाई नै बनाए ।

मन्त्रालयमा संरचनागत हिसाबमा उनीभन्दामाथि सचिव र १२ तहका प्रमुख विशेषज्ञ रहेतापनि हरेक निर्णय डा. लोहनीबाटै हुने गरेका छन् । तत्काल निर्णय गर्न सक्ने, सूचनालाई आफू अनुकूल प्रयोग गर्ने र कमाण्डिङ खुबी भएका कारण मन्त्रीको रोजाइमा उनी परेका हुन् । त्यो भन्दा अझ नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट रहेका डा. लोहनी मन्त्रीका लागि दाहालसँग जोड्ने कडी भएकाले पनि उनको कुरा मन्त्रीले काट्न सक्दैनन् । डा. लोहनीलाई सचिव बनाउँदा सबै कुरा आफू अनुकूल हुने देखेपछि मन्त्री ढकाल उनलाई १२ औं तहमा बढुवा गरेर सचिव बनाउने मुड रहेको स्रोतको दावी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ