२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा बढ्दो कोरोना कहर, ३५ प्रतिशत लक्षण भएका संक्रमित

काठमाडौं उपत्यकामा बढ्दो कोरोना कहर, ३५ प्रतिशत लक्षण भएका संक्रमित


काठमाडौं– पछिल्लो ९ दिनमा उपत्यकामा ४ हजार ५ सय ६२ जना कोरोना संक्रमितको व्यवस्थापन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ । पछिल्ला दुई दिनमा मात्र १३ सय ६० जना व्यवस्थापन गरिएको छ । यी दुई दिन उपत्यकामा तीन हप्ता निषेधाज्ञा गरी खोलिएका सुरुका दुई दिन हुन् ।

निषेधाज्ञाको दोस्रो हप्तालाई हेर्ने हो भने करिब—करिब दैनिक कोरोना संक्रमित हुनेहरुको संख्या स्थिर देखिएको छ । पहिलो हप्ता अति कडा गरिएको निषेधाज्ञाको परिणाम दोस्रो हप्ता संख्या स्थिरमा रहन मद्धत पुगेको जनस्वास्थ्य तथा महामारीविद्हरु बताउँछन् । दोस्रो हप्तापछि निषेधाज्ञा जारी रहेतापनि आवत—जावतमा केही खकुलो गरेपछिको तेस्रो हप्ता पुनः संक्रमितको संख्या बढ्न थालेको उनीहरुको दावी छ ।

तर, यो दावीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम मान्न तयार छैनन् । ‘अहिले बढेको संख्या निषेधाज्ञाकै बीचमा संक्रमित र तत्कालीन समयमा संक्रमण नभएका मानिसहरुको संसर्गबाटै होे,’ उनी भन्छन्, ‘निषेधाज्ञा खोलेर होइन यदिन निषेधाज्ञा खुलेपछिको हेर्ने हो भने अझै ८/१० दिन पछि मात्र त्यसको आँकलन हुन्छ ।’ उनी अबका दिनमा विस्तारै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै नियमित दिनचर्यामा फर्कनुको विकल्प नभएको बताउँछन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस घुमिरहेको हुँदा निषेधाज्ञापछि मानिसको भेटघाटका आधारमा यसको फैलावटले आकार लिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ प्रा.डा. केदार बराल बताउँछन् । ‘काठमाडौंमा रोग लाग्न हामी मानिस पनि प्रशस्त नै छौं । रोग लगाउने भाइरस पनि घुमिरहेको छ,’ उनी भन्छन्, ‘यसको अबको फैलावट हामी कति भेटघाटलाई बाक्लो बनाउँछौ, त्यसैमा भर पर्छ ।’ उनी स्वास्थ्य सुरक्षाका मापदण्डलाई हाम्रो नियमित अभ्यासमा बदल्नु नै प्रमुख सावधानी देख्छन् ।

‘अहिलेलाई खोप भनेकै अनुहार छोप्ने, भेटघाट कम गर्ने र हात धुने हो,’ उनी भन्छन्, ‘यी कुराहरुलाई अब हाम्रो दैनिकी बनाउनुपर्छ ।’ यसमा व्यक्ति, परिवार, समाज र राज्यव्यवस्थाका आ आफ्नै काम थाले आ आफ्ना काम गरे नियन्त्रण सम्भव रहेको उनको बुझाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा देखिएका पछिल्ला कोरोना संक्रमितहरुको अवस्था विश्लेषण गर्दा समूहगत संक्रमितको संख्या धेरै पाइएको छ । कतै पनि टाभल हिस्ट्री नभएका धेरै छन् । निश्चित ठाउँभन्दा पनि काठमाडौका सबै ठाउँमा संक्रमित देखिन थालेका छन् । बढी संक्रमित हुनेहरुमा स्वास्थ्य संस्थामा काम गर्ने, सुरक्षा निकायमा काम गर्ने, बैकिङ स्टाफ, व्यवसायीहरु र एक जना कोरोना संक्रमित भएका परिवारका अधिकांश सदस्य संक्रमित देखिएका छन् ।

पछिल्लो समय जसरी उपत्यकाको निषेधाज्ञा खोलेर एकैपटक मानिसको आवत—जावतलाई खुकुलो बनाइयो यसले संत्र,मणको दर बढाउने सम्भावना देखिएको जनस्वास्थ्य विज्ञ समेत रहेका महाशाखाका वरिष्ठ जनस्वास्वास्थ्य अधिकृत उत्तम कोइराला बताउँछन् । ‘केस दैनिक रुपमा बढिरहेका बेला उपत्यकामा एक्कासी निषेधाज्ञा खुलेको हुँदा अबका दिनमा संक्रमितको संख्या अझै बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘अझै एक चरण एनालाइसिस गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाएर मात्र खोल्नु उपयुक्त हुन्थ्यो ।’

जनसंख्या र बसोवासको हिसाबले काठमाडौं उपत्यका र देशका अन्य भागलाई एकै तरिकाले सोचेर व्यवस्थापनको मोडल तयार गर्नु सही नहुने उनको बझाइ छ । ‘जनघनत्व बाक्लो छ । संक्रमण समाजमा जानलाई गाह्रो छैन,’ उनी भन्छन्, ‘तर, व्यवस्थापन गर्न गाह्रो छ । त्यसैले उपत्यकामा अन्तभन्दा फरक तरिकाले सोच्नुपर्छ ।’

संक्रमितको संख्या बढेसँगै लक्षण भएका संक्रमितको दर पनि बढिरहेको छ । पहिलो लकडाउनमा संक्रमितमध्ये ५ देखि ८ प्रतिशतको हाराहारी संक्रमितहरुमा लक्षण देखिएको थियो । तर, इडिसिडीले गरिरहेको अध्ययनमा उपत्यकामा देखिएका संक्रमितमध्ये झण्डै ३५ प्रतिशतमा लक्षण देखिएको कोइराला बताउँछन् । ‘पहिले लक्षण नदेखिएका संक्रमित मात्र थिए,’ उनी भन्छन्, ‘अहिले व्यवस्थापन भइरहेका संक्रमितमध्ये दैनिक ३० देखि ३५ प्रतिशतसम्म लक्षण भएका पाइएको छ ।’

लक्षण देखिएका संक्रमितले संक्रमण नभएका मानिसलाई सार्ने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्ला ९ दिन इडिसिडीले व्यवस्थापन गरेका कोरोना संक्रमितको संख्या
भदौ २६                         :                ७२५
भदौ २५                         :                ६३५
भदौ २४                         :                ५०३
भदौ २३                         :                ४४१
भदौ २२                         :                ३५४
भदौ २१                         :                ३९४
भदौ २०                         :                ५०८
भदौ १९                         :                ५०६
भदौ १८                         :                ४९६


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ