कैलाली—सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय बढी अटाउने आइसोलेसन भएपनि अधिकांश संक्रमितलाई घरमा पठाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ६ सय ९८ रहेको छ ।
उनीहरुमध्ये तीन सय १४ जना संक्रमितलाई घरमै राखिएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कैलालीमा दुई सय ५८ जना सक्रिय संक्रमितलाई घर पठाइएको छ ।
यस्तै, कञ्चनपुरका २५, डडेल्धुराका ९, बैतडीका ८, डोटीका ७, अछामका ५ र दार्चुलाका दुई जना सक्रिय संक्रमितलाई घर पठाइएको छ ।
निर्देशनालयका अनुसार अहिले प्रदेशको संस्थागत आइसोलेसनमा दुई सय ८२ संक्रमितलाई मात्रै राखिएको छ । कैलालीका ९६, बझाङका ६२, डोटीका ६१, कञ्चनपुरका ४७, डडेल्धुराका ९, दार्चुलाका ४ र अछामका ३ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।
उनीहरुमध्ये लक्षण देखिएका ५२ जनाको मात्रै अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा ७३ हजार बढीको कोरोना परीक्षण
सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
धनगढी प्रयोगशालामार्फत ३८ हजार ८ सय २६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १५ हजार तीन सय र डोटी जिल्ला अस्पतालको प्रयोगशालामार्फत दुई हजार ५ सय ६६ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ७५ हजार दुई सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार ५५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरिएका ९ प्रतिशत अर्थात ६ हजार ६ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढी कैलालीमा दुई हजार एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा एक हजार ३१, अछाममा ९ सय ९२, कञ्चनपुरमा ७ सय ५१ र बाजुरामा ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बझाङका चार सय ८२, बैतडीका तीन सय ८१, डडेल्धुराका तीन सय ४१ र दार्चुलाका ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ५ हजार सात सयले कोरोना जितेको दावी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।