२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलोत्तमाका अधिकांश वडामा आधारभूत स्वास्थ्य केन्द्र

तिलोत्तमाका अधिकांश वडामा आधारभूत स्वास्थ्य केन्द्र

सबै वडामा सेवा विस्तारको अभियानमा नगरपालिका


बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अधिकांश वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका छन् । नगरपालिकाले सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा विस्तारको कामलाई तीव्रता दिएसँगै स्वास्थ्य केन्द्रहरु संचालनमा आउन थालेका हुन् ।

चालू आर्थिक वर्षमा सबै वडाहरुमा स्वास्थ्य संस्था पु¥याउने नीति लिएको नगरपालिकाले सो कार्यलाई तीव्रता दिएको छ ।

नगरपालिकाको वडा नं १ र ३ मा दुई वटा सरकारी स्वास्थ्य संस्था एकै दिन सञ्चालनमा ल्याएसँगै नगरक्षेत्र भित्र सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ । ‘नगरपालिकामा रहेका सवै वडाहरुमा स्वस्थ्य केन्द्रहरु स्थापनाको तयारीमा छौं । नगर सरकारले लिएको नीतिअनुरुप काम भैरहेको छ,’ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले भने, ‘आधारभूत स्वास्थय सेवाबाट कोही बञ्चित हुनुहुँदैन् । सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ । तपाईहरु विश्वस्त हुनुहोस् ।’

नगरपालिकामा एउटा आयुर्वेद औषधालय समेत संचालनमा छ । प्राचीन उपचार पद्धतिलाई अवलम्बन गर्नुपर्छ भन्ने मान्यताअनुरुप औषधालय संचालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख मोती पौडेलले बताए ।

नगरपालिकाले केही दिनभित्रैं वडा नं ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गर्ने तयारी गरेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने गरी काम भैरहेको छ । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु समेत निर्माण भैरहेका छन् ।

हालसम्म तिलोत्तमाका वडा नं १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आइसकेका स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत रहने छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ