२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नगरपालिकाकाे गोदाममै औषधि थन्किँदा लहानका स्वास्थ्य चौकीमा सिटामोलदेखि जीवनजलसम्मको अभाव

नगरपालिकाकाे गोदाममै औषधि थन्किँदा लहानका स्वास्थ्य चौकीमा सिटामोलदेखि जीवनजलसम्मको अभाव

नगरपालिका भन्छ, ‘मापदण्ड विपरितका औषधि आएकाले वितरण गर्न सकिएन’


जनकपुर– लहान नगरपालिको स्वाथ्य चौकीहरुमा सिटामोलदेखि जीवनजलसम्मका औषधिको अभाव देखिएको छ । कोरोना महामारीका बेलामा लहान नगरपालिकाकाे गाे स्वास्थ्य संस्थाहरुमा सामान्य प्रकारका औषधिको समेत अभाव भएको हो ।

लहानका स्वास्थ्य चौकीहरुमा सिटामोल, जीवनजल र गर्भवती महिलाले खाने आइरन चक्की लगायतका औषधिको अभाव देखिएको हो ।
अत्यावश्यक आधारभूत स्वास्थ्य सेवा र औषधि गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकीहरु मार्फत् उपलब्ध गराउने भनिए पनि सेवाग्राहीहरु गाउँको स्वास्थ्य चौकीमा सिटामोल र जीवन जल समेत नपाएको गुनासो गर्छन् ।

दैनिक ५० जनाभन्दा बढी मानिसहरु विभिन्न स्वास्थ्य समस्या लिएर स्वास्थ्य चौकी आउँछन् तर उनीहरुलाई दिनुपर्ने औषधि दिन नसक्दा बिरामीबाट उल्टै गाली खानुपरिरहेको विसनपुरस्थित स्वास्थ्य चौकीकी अनमी ललिता कुमारी बताउँछिन् । ‘दैनिक तीनदेखि चार दर्जन सेवाग्राही विभिन्न स्वास्थ्य सम्बन्धी समस्या लिएर जचाउन आउँछन् औषधि नहुँदा गालीगलौज गरेर फर्किन्छन्,’ उनी भन्छिन्, ‘स्वास्थ्य चौकी भवन नजिकै घर भएकी एक महिला शरीरमा घाउ खटिराको समस्या लिएर आएकी थिइन् । औषधि नभएकाले छैन भन्दा स्वास्थ्य चौकी बन्द गरेर जानुस् भन्दै रिसाएर फर्किइन् ।’

अनमी चौधरीका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाबाट खोजेर ल्याएको आठ पत्ता सिटामोल समेत सकिएपछि स्वास्थ्य चौकी अत्यावश्यक औषधि विहीन भएको छ । गर्भवती महिलाले नियमित सेवन गर्नुपर्ने आइरन चक्की समेत स्वास्थ्य चौंकीमा नभएको उनले सुनाइन् ।

स्वास्थ्य चौकीका प्रमुख प्रमोदकुमार दास औषधि नभएपछि बिरामीहरुको संख्या पनि घटेको बताउँछन् । ‘अहिले दैनिक १५ देखि २० जनामा बिरामी मात्र जाँचका लागि स्वास्थ्य चौकी आउँछन्,’ उनले भने, ‘औषधि नभएकै कारण सेवाग्राहीको गालीगलौज सुन्नु परेको छ ।’
लहान नगरपालिका–१५ मा रहेको स्वास्थ्य चौकीमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि पुग्छन् । तर औषधि नहुँदा बिरामी रित्तो हात फर्कनु परेको छ । स्वास्थ्य चौंकीका इन्चार्ज सि.अहेव रामसुन्दर चौधरी स्वास्थ्य चौंकीमा सामान्य तर अतिआवश्यक सिटामोल र जीवनजल समेत नभएको सुनाउँछन् ।

लहान नगरपालिकाका २४ वटा वडा रहेको नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र १ सहरी स्वास्थ्य क्लिनिक छन् । तर, ती सबैमा एक महिनादेखि औषधि अभाव छ । सरकारले स्वास्थ्य चौकीमा ५९ प्रकारको औषधि निःशुल्क वितरण गर्नुपर्ने अनिवार्य गरेको छ । तर, नगरपालिकास्थित स्वास्थ्य शाखाले औषधि नपठाएकै कारण नगरपालिका क्षेत्रका स्वास्थ्य चौंकी औषधि बिहिन छन् । जसको प्रत्यक्ष मारमा गरिब तथा निम्न वर्गका जनता परिरहेका छन् ।

नियमित सेवन गर्नुपर्ने औषधि नहुँदा गर्भवती महिलामा समस्या परेको छ । यतिबेला लहानका स्वास्थ्य चौकीहरुमा गर्भवतीले नियम सेवन गर्ने आइरन चक्कीको समेत अभाव छ । ‘स्वास्थ्य चौकीमा सामान्य चोटपटक लागेको बिरामीको मल्हमपट्टी गर्ने काम मात्र भएको छ’ लहान नगरपालिका–१८ का स्वास्थ्य केन्द्र प्रमुख दासले भने ‘कहिलेकहीँ मल्हमपट्टी गर्ने सामानको समेत अभाव झेल्दै आएका छौं ।’

स्वास्थ्य चौकीमा ३६ देखि ५८ खालको औषधि आउनु पर्ने भएपनि २०–२२ खालको औषधि मात्र आउने गरेको त्यो पनि माग अनुसार नगरपालिकाबाट नियमित आपूर्ति नहुँदा समस्या झेल्नु परिरहेको उनले बताए । ‘जति औषधि आउँछ, त्यति न बाँड्ने हो’ उनले भने, ‘मागे अनुसार नगरपालिकाको स्वास्थ्य शाखाबाट नै आउँदैन, के बाँड्नु ?’ लामो समयदेखि आँखामा लगाउने, घाउ खटिरामा लगाउने मल्हम पनि नआएकाले सामान्य चेकजाँच गरेर फर्काउनुको विकल्प नरहेको उनको गुनासो छ ।

चैतबाट सुरु भएको लकडाउनको अवधिमा नियमित खोप सेवा समेत आंशिक रुपमा प्रभावित भए । महिलाले अस्थायी परिवार नियोजनको रुपमा प्रयोग गर्ने साधनहरु डिपो, पिल्सको समेत अभाव झेलिरहेको दासले बताए ।

स्वास्थ्य चौकीमा औषधिको चरम् अभाव भएपनि नियमित रुपमा स्वास्थ्य चौकी खोलेर बसिरहेको जानकारी दिंदै उनले भने ‘त्यसका अतिरिक्त खोप सेवा, गाउँघर क्लिनिक पनि चलाइरहेका छौं तर औषधि भने अनुसारको दिन सकिएको छैन ।’

नगरपालिकामैं थन्किए औषधि

यता औषधि नपाएर बिरामी रित्तो हात फर्किन बाध्य छन् भने उता औषधि भने लहान नगरपालिका कार्यालयको गोदाममा अढाई महिनादेखि थन्किएको छ । लहान नगरपालिकाले निःशुल्क वितरण गर्नुपर्ने ५९ प्रकारको औषधि खरिदका लागि ३५ लाख रुपैयाँ बजेटसहित २०७७ जेठ २२ मा शिलबन्दी दरभाउपत्र आह्वान ग¥यो ।

लहान नगरपालिकाकाे गाेदाममा थन्किएका औषधि

दरभाउपत्र आव्हान गरेपछि २२ कम्पनीले दरखास्त दिए । तीमध्ये भक्तपुरस्थित जनप्रिया मेडिसिन सप्लायर्सले खरिद ठेक्का पायो । जनप्रियाले ३५ लाखको औषधि खरिद ठेक्कामा १५ लाख ३८ हजार ३७ रुपैयाँमा सकार ग¥यो । जनप्रियाको ठेक्का नगरपालिकाबाट २०७७ असार १५ मा स्वीकृत भयो ।

ठेक्का स्वीकृत भएपछि जनप्रियाले असार २५ गते तोकिएको औषधि नगरपालिकालाई बुझायो । तर नगरपालिकाको स्वास्थ्य शाखाले जनप्रियाले ल्याएको औषधि विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस अनुसार मापदण्ड नपुगेको भन्दै इन्कार गरिदियो । त्यही औषधि अहिले लहान नगरपालिका कार्यालयमा थन्किएको छ ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले स्वास्थ्य चौंकीहरुमा औषधि अभाव भएको स्वीकार गरे । टेन्डर प्रक्रियाबाट खरिद गरिएको औषधि डब्लुएचओको जिएमपी मापदण्डअनुसार नभएकाले वितरण नगरिएका कारण औषधि अभाव भएको यादवले बताए । उनले यो आर्थिक वर्षको औषधि खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले नगरपालिकाको स्वास्थ्य शाखाको कमजोरीका कारण औषधि अभाव हुन गएको बताए । ‘अघिल्लो आर्थिक वर्षमा टेण्डर मार्फत औषधि खरिद गरिएपनि केही औषधिको मापदण्ड नपुगेको भन्ने आयो, त्यस कारण औषधि वितरण हुन नसक्दा औषधि अभाव भएको हो,’ उनले भने, ‘स्वास्थ्य शाखालाई तत्काल अभाव पूर्ति गर्नका लागि औषधि खरिद प्रक्रिया अगाडि बढाउन भनिएको छ, दुई चारदिनमा यो समस्या समाधान हुनेछ ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ