२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदाहालको प्रश्न, ‘चिकित्सा क्षेत्र असुरक्षित भएर कसरी स्वस्थ समाज निर्माण गर्न सक्छौं ?’

दाहालको प्रश्न, ‘चिकित्सा क्षेत्र असुरक्षित भएर कसरी स्वस्थ समाज निर्माण गर्न सक्छौं ?’


काठमाडौं–नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा क्षेत्रमा हुने हिंसात्मक घटनाबाट स्वस्थ समाज निर्माण गर्न नसकिने बताएका छन् ।

पछिल्लो समय चिकित्सक र स्वास्थ्य संस्थामा हुने गरेको कुटपिट र तोडफोडका घटनातर्फ इंगित गर्दै दाहालले प्रश्न गरे, ‘चिकित्सा क्षेत्र असुरक्षित हुनु, यही क्षेत्रभित्र हिंसात्मक घटना परिघटना हुनु र यही क्षेत्र असुरक्षित हुनुले कसरी हामी स्वस्थ समाज निर्माण गर्न सक्दछौं ?’

शनिबार नेकपा निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ र अखिल नेपाल प्रगतिशील चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा, खुशी चिकित्सक’ अभियान सुभारम्भ तथा अन्तक्रिया कार्यक्रममा बोल्दैं उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य क्षेत्र समाजवादउन्मुख समाजको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले राज्यले पनि चिकित्सा क्षेत्रका समस्या समाधानका लागि पहल लिनुपर्ने बताए । ‘यही (नेकपा) पार्टीले यो पेशालाई सबभन्दा सुरक्षित, सबभन्दा सम्मानित र सबभन्दा लोकप्रिय बनाउँछ,’ उनले भने । त्यसका लागि निरन्तर आपसमा छलफल, अन्तक्रिया जारी राख्नुपर्ने उनको मत थियो ।

समाजवादको आधारभूत कुरा स्वस्थ जीवन भएको दाहालले बताए । ‘स्वस्थ मानिस र स्वस्थ समाजले नै अग्रगति लिने र सबै खालका अप्ठ्याराहरु मुकाबिला गर्न सक्छ,’ उनले एक फरक प्रसंगमा भने ।

चिकित्सा क्षेत्रमा पनि विश्वभरि पुजीवादी र समाजवादी दुई धार रहेको उनको मत थियो । एउटा सोचले विरामीलाई बस्तुको रुपमा हेर्न र एउटा सोचले मानवका रुपमा हेर्ने दाहालले दाबी गरे ।

उनले पछिल्ला दिनमा प्रसंगबंस विभिन्न देशका ठूला हस्पिटल, विभिन्न देशका ख्यातिप्राप्त डाक्टरहरुसँग अन्तक्रिया गर्ने अवसर प्राप्त गरेको बताए । ‘चिकित्सा क्षेत्र पनि पुजीवादीहरुको कब्जामा विश्वब्यापी रुपमा नराम्रोसँग जकडिएको छ भन्ने प्रत्यक्ष अनुभूति गरे,’ उनले भने । दाहालले नेपालमा सेवालाई प्राथमिकता दिएर आदर्शउन्मुख समाज निर्माणप्रति इमान्दार भएर स्वास्थ्य सम्बन्धी नीति बनाउने र यो क्षेत्रमा अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

नेपालमा समाजवादउन्मुख राज्यको परिकल्पना गरेर संविधान बनाएको उल्लेख गर्दै दाहालले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको आधारभूत अधिकारका रुपमा पनि लिपिबद्ध गरेको बताए । ‘तर, संविधानमा लिपिवद्ध गर्न नै सबै कुरा होइन्, र हुन सक्दैन पनि,’ दाहालले भने, ‘यदि त्यो संविधान सजीव रुपमा कार्यन्वयनमा जाँदैन भने त्यो कागजको खोस्टो मात्रै हुन्छ ।’

कार्यक्रमममा नेकपा महासचिव विष्णु पौडेलले चिकित्सा क्षेत्र उत्कृष्ट हुनुपर्नेमा जोड दिए । उनले समाजवादका लागि स्वास्थ्य र शिक्षा नीति उत्कृष्ट हुनुपर्ने र त्यसलाई कार्यन्वयनमा ल्याइनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपामा स्वास्थ्य विभाग प्रमुख राजेन्द्र पाण्डे, उपप्रमुख अन्जना विशंखे, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष मुक्तिराम श्रेष्ठलगायतका वक्ताहरुले मन्तब्य राखेका थिए।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको दोस्रो सत्रमा चिकित्सा शिक्षा, विशेषज्ञता, चिकित्सकको पारिश्रमिक, विमालगायतका विषयमाथि प्रस्तुती भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ