२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशी अस्पतालको नयाँ मेसु डा. लोहनीले सम्हाले कार्यभार

कोशी अस्पतालको नयाँ मेसु डा. लोहनीले सम्हाले कार्यभार


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन (मेसु)मा नियुक्त भएका डा. गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन् । यसअघि अस्पतालमा हाजिर भए पनि उनले पदभार सम्हालेका थिएनन् ।

स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अस्पतालको विकासमा ध्यान दिने बताए । संघीय सरकार मातहतमा यो अस्पताल भएको बताउँदै उनले काम गर्ने सिलसिलामा तीनै तहको सरकारसँग समन्वय हुने जानकारी दिए ।

अस्पतालमा देखिएका बेथिती तथा समस्या समाधान गर्ने प्राथमिकतामा राखेको बताउँदै उनले सर्वसाधारणको पहुँचमा पुग्ने र बिरामीको उपचारलाई सहज बनाउनेतर्फ आफू केन्द्रीत हुने उल्लेख गरे । राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशकको जिम्मेवारी समेत बहन गरिसकेका उनले अस्पतालमा सेवा लिन पुग्ने बिरामी तथा अन्यको आकांक्षा बुझ्दै काम गर्ने उल्लेख गरे ।

अस्पतालमा हाल नेपाल सरकारतर्फबाट २ सय ४९ र विकास समितिबाट २ सय ६७ कर्मचारी तथा स्वास्थ्यकर्मीको दरबन्दी छ । जसमध्ये हाल करिब ५० दरबन्दी रिक्त छन् । जसमा एघारौं तहका ११ जना, नवौं र दशौं तहका २३ जना चिकित्सक र स्टाफ नर्स १० जनाको दरबन्दी खाली रहेको अस्पतालले जनाएको छ ।

यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेनमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल रहेका थिए । पोखरेलका पालामा निजी अस्पतालमा बिरामी ओसार्ने दलाललाई कोसीमा प्रवेश निषेध, बिरामीको प्रभावकारी उपचार, ल्याबमा अत्याधुनिक उपकरणको व्यवस्था, कोसीमै सबै खाले ल्याब परीक्षणको सुविधा लगायत अस्पताल सुधारका धेरै कामहरु भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ