२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररक्तसञ्चार केन्द्रहरूमा रगतको चरम अभाव

रक्तसञ्चार केन्द्रहरूमा रगतको चरम अभाव


काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेसँगै रातो रगतको अभाव भएको छ । कोरोनाका कारण रक्तदानका कार्यक्रमहरु सञ्चालन नहुँदा दसैं यता रातो रगतको चरम अभाव भएको हो ।

रगत अभावका कारण शल्यक्रिया समेत प्रभावित भएको चिकित्सकहरुले बताउँछन् । रगत अभावका कारण ठूला किसिमका शल्यक्रियामा प्रत्यक्ष असर परेको छ ।

रक्तसंचार केन्द्रहरुका अनुसार हाल रगत संकलन अभियान स्थगित भएका छन् । अभियन्ताहरु कोभिड डरका कारण सहभागी हुन छाडेका छन् । काठमाडौ, भक्तपुर र ललितपुरका रक्तसंचार केन्द्रहरुमा रातो रगतको अभाव भएको भक्तपुर रक्तसञ्चार केन्द्रका प्रमुख निश्चल कुस्मा बताउँछन् । ‘केन्द्रमा पनि रगतको अभाव चरम अभाव छ,’ उनी भन्छन्, ‘संकलन गरेको दिन रगत पाउने सभवना हुन्छ अरु दिन अभाव नै रहन्छ । भक्तपुरमा हप्ताको एक दिन अर्थात शनिवार रक्तदान कार्यक्रम हुँदै आएको छ ।’

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले रगत अभावले ठूला शल्यक्रिया प्रभावित हुन थालेको बताए । ‘ चार दिन अघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केही समय यता रक्तसंचार केन्द्रहरुमा रगतको कमीले शल्यक्रियाहरु प्रभावित भएका छन् । त्यसैले सबैले रक्तदान गरौं ।’

चिकित्सकहरुका अनुसार मुटु, न्युरो जस्ता ठुला शल्यक्रिया गर्दा रगत बढी लाग्छ । रगत नभएकाले कहिलेकहिँ अप्रेशनका लागि कुर्नुपर्ने अवस्था छ । ‘स्वास्थ्य सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न र अभियान सञ्चालन गर्न कुनै समस्या पर्दैन,’ डा. कोइरालाले भने, ‘सबै आफ्नो ज्यान जोगाउन लागेर अरुको ज्यान जोगाउन चाहिने रगत नदिने, रक्तदानमा जान अल्छी गर्ने क्रम बढेको छ । यसलाई सहज बनाउन आवश्यक छ ।’

त्यस्तै रक्तसंचार केन्द्रका केन्द्रिय उप महानिर्देशक डा. प्रकाश यादव यतिबेला केन्द्रमा रातो रगतको अभाव भएको बताउँछन् । ‘सेतो रगत बाहेक कुनैपनि ग्रुपको रातो रगत दिन सक्ने अवस्थामा अहिले रक्तसंचार केन्द्र छैन,’ उप–महानिर्देशक यादवले भने, ‘सेतो रगतको आयु केही महिनासम्म रहने र यसको माग पनि कम हुने भएकाले मौज्दात रहन्छ । रातो रगत त्यसमा पनि होल्ड ब्लडको माग बढी छ । तर, दिन सकिएको छैन ।’

उपत्यकामा मात्रै दैनिक ३ सय युनिट रगत खपत हुन्छ । कोभिडले अत्यावश्यक बाहेकका सेवा रोकिँदा यसको खपत १ सय ५० मा झरेको छ ।

विगतमा धेरै कोरोना परिक्षण हुँदा जोखिम क्षेत्रको मुल्यांकन गरि रगत संकलन अभियान चल्दै आएको थियो । आयोजकहरुले एक सयको अनुमान गरेर अभियान चलाउँछन् तर, १० देखि १५ युनिट मात्रै रगत संकलन भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ