२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा भर्ना गरेर आफन्त बेपत्ता भएपछि विरामीको बिचल्ली

अस्पतालमा भर्ना गरेर आफन्त बेपत्ता भएपछि विरामीको बिचल्ली


विराटनगर–विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्न आएकी एक विरामीका आफन्त बेपत्ता भएपछि विरामी विचल्लीमा परेकी छन् । धरान नगरपालिकास्थित नगरकोट बस्तिकी ४० वर्षीय मनु राइलाई अस्पतालमा रेखदेख गर्न आएका कुरुवा अचानक वेपत्ता भएपछि उनी विचल्लीमा परेकी हुन् ।

धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि थप उपचारको लागि गोल्डेन अस्पतालमा राइलाई गत साउन १६ गते लगिएको थियो । सो अस्पतामा किड्नी इन्फेक्सन, निमोनिया र मुखवाट रगत बगेर अर्धचेत अवस्थमा उनलाई श्रीमान र छोरीले अस्पताल लगेका थिए ।

उनको आईसीयुमा उपचार भएको थियो । उपचार सुरु गरेको तीन दिनपछि कुरुवाको रुपमा संगै आएका श्रीमान विनोद राइ र मोरङको पथरी ७ निवासी छोरी देवी राइ सम्पर्कविहिन बनेको अस्पतालका प्रसासकीय अधिकृत सन्तोष मेहताले जानकारी दिए । विरामीको श्रीमान र छोरी सम्पर्क विहिन भएपछि अस्पतालले उपचार गरेर राखेको उनले बताए । विरामीका कुरुवा गत साउन १९ गते देखिसम्पर्क विहिन भएको उनले बताए ।

राईलाई साउन ३१ गतेसम्म आइसीयुमा राखेर उपचार गराएपछि अहिले पूर्ण रुपमा ठिक भएपछि वार्डमा राखिएको छ । चिकित्सकले पूर्ण रुपमा ठिक भएर डिस्चार्ज गरे पनि विरामीका आफन्त सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । विरामीका आफन्त सम्र्पकविहीन भएपछि राईलाई अस्पतालले जेनरल वार्डमा राखेर खाना र औषधीको व्यवस्था मिलाएको छ ।

१६ दिन अगावै नै आफन्त सम्पर्क विहिन भएपछि दिएको सम्पर्क नम्बरमा पटक पटक सम्पर्र्क गर्दा पनि आफन्तहरु सम्पर्कमा नआएको आउन नचाहेको मेहताले बताए । ‘हामीले बारम्बार विरामीका आफन्तलाई फोन सम्र्पक गर्दै आएका छौं,’ उनले भने, ‘अहिले सम्म विरामीको आफन्तको फोन लाग्न सकेको छैन । विरामीलाई उपचार गर्दा लागेको खर्च हाल सम्म एक पैसा पनि बुझाएका छैनन् ।’ उनका अनुसार राईको उपचार गर्दा लागेको खर्च १ लाख रूपैयाँ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ