२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकालाई मोटोपनको समस्याबाट कसरी बचाउने ?

बालबालिकालाई मोटोपनको समस्याबाट कसरी बचाउने ?


सामान्यतयाः कुनैपनि बच्चाको तौल उसको उचाई र उमेरको तुलनामा १० प्रतिशतभन्दा बढी छ भने त्यसलाई बच्चामा भएको मोटोपन भनिन्छ । प्रायजसोः बालबालिकामा मोटोपनको समस्या ५/६ वर्षको उमेरदेखि नै सुरु हुने गरेको पाइन्छ । एक अध्ययनका अनुसार १० देखि १३ वर्षको उमेरबिच मोटोपनको समस्या देखिएको बालबालिकामा वयस्क अवस्थामा पनि मोटोपनको समस्या देखिने सम्भावना ८० प्रतिशत रहन्छ ।

कुनैपनि मानिसले शरीरको क्षमताभन्दा बढी क्यालोरीको सेवन गर्छ । त्यो खाना शरीरले राम्ररी पचाउन नसक्दा फ्याटको रुपमा शरीरमा जम्मा भएर बस्छ । अनि मोटोपनको समस्याले सताउँछ । पछिल्लो पटक कोरोना महामारीको कारण विभिन्न देशमा लकडाउन घोषणा भएसँगै बालबालिकामा मोटोपनको समस्या एक साझा समस्याको रुपमा देखिएको छ ।

मोटोपन भएका व्यक्ति तथा बालबालिकामा अन्यको तुलनामा शारीरिक गतिविधि एवं क्रियाकलापमा कम सक्रिय हुन्छन् । जसले गर्दा उनीहरुमा मुटु रोगदेखि कालान्तरमा गएर अन्य दिर्घरोगहरुको सम्भावना उच्च रहन्छ ।

यी कारण देखिन्छ बालबालिकामा मोटोपन

असन्तुलित खानेकुरा

डाइटलाई मोटोपनको प्रमुख कारणमध्ये एक मानिन्छ । किनकी बालबालिकाहरु आफूलाई मनपरेको खाना नखाई बस्नै सक्दैनन् । उनीहरु सन्तुलित आहारभन्दा पनि बढी आफूलाई मनपर्ने खानेकुरा जुनसुकै समयमा पनि खान तयार रहन्छन् । यस्तै, उनीहरु खाना, आलु, चिल्लो खानेकुरा, जङ्कफुड एवम् गुलियो खानाहरु बढी रुचाउँछन् । यस्ता बानीले पनि उनीहरुको शारीरिक तौल बढाउनमा मद्धत गर्छ ।

निस्क्रिय शारीरिक गतिविधि

लकडाउनको समयमा अधिकांश बालबालिका एकै कोठा या घरमा सिमित भए । विद्यालय, पार्क, खेलकुद क्षेत्र सबै बन्द र त्यहि माथि पनि एकै घरमा सिमित रहनुपर्दा एक किसिमले उनीहरुको शारीरिक गतिविधि नै ठप्प भएको छ । जसकारण पनि उनीहरुमा मोटोपनको समस्या व्याप्त रुपमा देखिएको छ ।

अन्य रोगको संक्रमण

शरीरमा अन्य केही रोग लागेको बालबालिकामा पनि लक्षण स्वरुप मोटोपनको समस्या देखिन्छ । रोगका कारण हर्माेनको गडबढी हुन गई उनीहरुमा मोटोपनको समस्या देखिने हुन्छ ।

अल्छीपना

केहि बालबालिका अल्छी हुन्छन् । यस्ता बालबालिका आफ्नो लामो समय इलेक्ट्रिक साधन(ग्याजेट÷टेलिभिजन, मोबाइल वा कम्प्युटर)मा व्यस्त हुन रुचाउँछन् । यसले पनि उनीहरुलाई मोटोपनको समस्यातर्फ धकेली रहेको हुन्छ ।

आणुवांशिक कारण

आणुवांशिक समस्या भनेको एक पुस्तामा देखिएको शारीरिक एवम् मानसिक समस्या अर्काे पुस्तामा पनि देखिने समस्या हो । तसर्थ मोटोपनको विभिन्न कारणमध्ये यो पनि एक हो । जसको आमाबाबु मोटा छन भने उनीहरुको सन्तानमा पनि सोहि समस्या देखिने सम्भावना ८० प्रतिशतसम्म रहन्छ ।

मोटोपनलाई रोक्न के गर्ने ?

सन्तुलित आहारको खुवाउने

आमाबाबुले बालबालिकाका लागि मिठोभन्दा पनि बढी स्वस्थकर खानामा प्राथमिकता दिनुपर्छ । साथै, बालबालिकालाई अभिभावकले अड्कलेर सन्तुलित खाना प्रदान गर्नुपर्छ । यसका लागि कुनैपनि अभिभावकले बच्चाको तौल र उमेर अनुसार कस्ता खाना कति र कसरी खुवाउने भन्नेबारे सम्बन्धित विज्ञ अर्थात्, पोषणविद्सँग सल्लाह लिनसपर्छ ।

 शारीरिक गतिविधिमा सक्रिय गराउने

बच्चालाई मोबाइल तथा कम्प्युटरजस्ता एकै ठाउँमा बसेर खेल्ने सामाग्रीको उपलब्ध गराउनुको सट्टा उनीहरुलाई दौडने, उफ्रिने एवम् पसिना निस्कने जस्ता शारीरिक गतिविधि र खेलकुदमा संलग्न गराउनु पर्छ । जस्तोः साइकल, दौड, नाच, फुटबल आदि ।

बेरियाट्रिक सर्जरी

मोटोपनको समस्या समाधानका लागि अपनाइने विभिन्न उपायमध्ये बेरियाट्रिक सर्जरी पनि एक हो । यसलाई तौल घटाउने शल्यक्रिया पनि भनिन्छ । हामीले खाने खाना निल्ने नली हुँदै सानो आन्द्राको ‘स्टोमेक’ नामक अंगमा गएर बस्छ । सो ‘स्टोमेक’ बढि खाना खाने र मोटा बच्चाका अन्य सामान्यको तुलनामा ठूलो हुन्छ ।

जसकारण उनीहरु जति खाएपनि नअघाउने हुन्छ । तसर्थ ल्याप्रोस्कोपी विधिद्धारा सो अंगलाई शल्यक्रियाको माध्यमद्धारा सानो बनाइन्छ । त्यसपछि उनीहरुलाई थोरै खाएपनि अघाउने हुन्छ । तसर्थ, यसैलाई नै बेरियाट्रिक सर्जरी भनिन्छ । यसप्रकारको सर्जरीका लागि आवश्यक अवस्थामा मात्रै चिकित्सकले सल्लाह दिने गर्दछ ।

हर्माेन थेरापी

कुनैपनि रोगको उपचार गर्नुपूर्व हामीले सो समस्या के कारणले देखियो भन्ने कुरा पत्ता लगाउनु अत्यावश्यक हुन्छ । तसर्थ, यदि कुनैपनि बालबालिकामा हर्माेन गडबढीका कारण मोटोपनको समस्या देखिएको छ भने यसका लागि चिकित्सकको सल्लाहमा हर्माेन थेरापी पनि गराउन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ