२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘भजाइनो प्लास्टी’ रहर की बाध्यता ? चिकित्सक भन्छन्, ‘पुरुष मानसिकतामा समस्या हो’

‘भजाइनो प्लास्टी’ रहर की बाध्यता ? चिकित्सक भन्छन्, ‘पुरुष मानसिकतामा समस्या हो’


काठमाडौं—केही समयअघि २० वर्षीया एक युवती ‘भजाइनो प्लास्टी’ (योनी सिलाउने) गर्न भन्दैं विराट नर्सिङ होम पुगिन् । युवतीले लामो समय शारीरिक सम्बन्धमा रहँदा आफ्नो योनी खुकुलो भएको कुरा चिकित्सकलाई बताइन् । यौन सन्तुष्टि कम हुँदै गएको भन्दै ‘भजाइनो प्लास्टी’ गर्दिन आग्रह गरिन् । चिकित्सकहरुका अनुसार यस्तो समस्या लिएर धेरै युवतीहरु आउने गरेका छन् ।

बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीकाअनुसार करिब १० प्रतिशत महिला ‘भजाइनो प्लास्टी’ गर्न विभिन्न स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । चिकित्सककाअनुसार समस्या लिएर आउने महिलालाई हेर्दा क्रमसः यो संख्या बढ्दैं गएको देखिन्छ ।

तर, यस विषयमा कुनै अध्ययन अनुसन्धान भने भएको छैन् । डाक्टर कार्कीका अनुसार पुरुषको दबाबका कारणले धेरैजसो महिलाहरु ‘भजाइनो प्लास्टी’ अर्थात योनी सिलाउन बाध्य छन् । डा. कार्कीले बिरामीलाई उदृत गर्दै भने, ‘मेरो श्रीमानले योनी खकुलो भएको भन्दै यौन सन्तुष्टी नपाएको गुनासो गर्नुभयो । जसरी हुन्छ टाइट गर्दिनुप¥यो ।’

पुरुषको दबाब गर्ने भनिएको ‘भजाइनो प्लास्टी’ले स्वास्थ्यमा भने समस्या सिर्जना गर्ने विज्ञहरु बताउँछन् । ‘यस्तो काम महिलाको स्वास्थ्यका लागि घातक हो,’ डा. कार्की भन्छन् । तर, विशेषज्ञहरु चिकित्सक विशेष अवस्थामा भने यो अत्यावश्यक पनि हुने गरेको बताउँछन् ।

प्रसुती गृहका प्रसुती रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी जन्मजात योनीको उचित विकास नहुँदा, मासु पलाएको हटाउनुपर्दा, गर्भवती हुँदा ठूलो बच्चा जन्मिएर यौनीद्धार च्यातिदाजस्ता अवस्थामा भजाइनो प्लास्टि गरिने बताउँछन् । ‘यो महिलाको योनी एबनर्मल भएमा नर्मल गराउने सर्जरी हो,’ डा. सुवेदी भन्छन् । तर, यौन सन्तुष्टीसँगै जोडेर यस्तो सर्जरी गर्न भने उपयुक्त नहुने उनको मत छ ।

चिकित्सकका अनुसार कतिपय अवस्थामा योनी टाइट गर्दा जीवनभर सेक्सुअल रिलेसनमा पीडा हुने गर्छ । योनी खुकुलो भयो भनेर श्रीमती वा प्रेमिकालाई मानसिक रुपमा टर्चर गर्ने काम पटक्कै उपयुक्त होइन् ।

पुरुषको मानसिकतामा समस्या हो !
डा. कार्कीका अनुसार विराट नर्सिङ होममा मात्रै वर्षमा ५० जना बढी महिलाहरु योनी सिलाउन भन्दै सेवा लिन जाने गरेका छन् । सेवा लिन जानेहरुमा २० देखि ४५ वर्ष उमेर समूहका महिलाहरु रहेका छन् ।

प्रसुति गृह थापाथलीका निर्देशक एवं बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. जागेश्वर गौतम पनि यस्तो समस्या लिएर धेरै महिलाहरु आउने बताउँछन् । तर, यो गलत प्रवृति भएको उनि बताउँछन् । नाम चलेका अस्पतालभन्दा पनि महिलाहरु यस्तो सेवा लिन क्लिनिकहरुमा जाने गरेका छन् ।

कसैले जानकारी नपाउने भएकाले उनीहरुले ठूलो अस्पतालको तुलनामा क्लिनिकहरु रोज्ने गरेको चिकित्सकहरु बताउँछन् । विवाह नगरेर पनि लामो समयसम्म पार्टनरसँग बसेका युवतीहरु भजाइनो प्लास्टीका लागि अस्पतालहरुमा पुग्ने गरेका छन् ।

पार्टनरलाई सन्तुष्टी दिन नसकेको खण्डमा छोड्न सक्छ भन्ने डरले महिलाहरु योनी सिलाएर टाइट बनाउन आउने गरेको स्त्रीरोग बिशेषज्ञहरु बताउँछन् ।

‘भजाइनो प्लास्टी’ गरेर कुमारी बनाइदिन्छु भन्नु गलत
डा. ज्ञानेन्द्रमानसिंह कार्की
बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ
पुरुषले महिलालाई मनोरन्जनका रुपमा केही समय हेर्न सक्ला ! तर, महिलाका लागि उसको योनी सृष्टि हो । २० देखि ४५ वर्षसम्मका महिलाहरु योनी काटेर मिलाई दिनुप¥यो भन्दै अस्पताल आउने गरेका छन् । योनी सिलाएर मिल्ने भन्ने हुँदैन । नेपालका चिकित्सक यसका लागि सक्षम पनि छैनन् । मैले क्लिनिकमा गएर सिलाएको थिएँ, एक महिनामा उस्तै भयो भन्ने युवतीहरु समेत आउँछन् । यो समस्या शारिरीकभन्दा पनि मानसिक मनोवैज्ञानिक कुरामा भर पर्छ ।

यो सबै मष्तिस्कको कुरा हो । महिलालाई योनी सिलाउने चाहना हुँदैन् । तर, उसको पार्टनरले योनी ठूलो भयो भन्दै तारन्तार दबाब दिने हुँदा यस्तो ट्रेन बढ्न थालेको देखिन्छ ।

महिलाहरुमा आँङ खस्ने समस्या हुन्छ जुन समयमा महिलाको बच्चा दानी बाहिर निस्कन सक्छ । पिसावको थैली तल झर्ने र पिसाव अड्कीने समस्या हुन्छ । यस्ता समस्याबाट बच्नका लागि पनि महिलाले आफ्नो योनीको बिशेष ख्याल गर्नुपर्छ । योनी रवर जस्तै हो आज सिलायो क्रमश ठुलो हुदै जान्छ । योनी सिलाउने नाममा बिभिन्न क्लिनीकहरुले ठगी गरिरहेका छन् । भजाइनल प्वाल र छाला काटेर मात्रै बनाउने कुरा हुँदैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ