२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेदिक उपचारको मोह बढ्दै

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेदिक उपचारको मोह बढ्दै


बाजुरा – पछिल्लो समय बाजुराको कोल्टीमा आयुर्वेदिक उपचारमा मानिसको मोह बढ्दै गइरहेको छ। कोरोना महामारीकोबीच पनि आयुर्वेदको आकर्षण देशै भरि बढिरहेको अवस्थामा दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएकाले पनि यो उपचार पद्धतिमा सर्वसाधरणहरु आकर्षित भएका हुन्।

दैनिक सरदर ३० देखि ३५ जना बिरामीहरु आयुर्वेद सेवाबाट लाभान्वित हुँदै आइरहेका छन्। म्लपित्त, प्रमेह, स्वास विकार, अतिसार, आमवात, वातरक्त, उदररोग, त्वकविकार, प्रसुति विकार, स्त्री रोग, जरा  रोग, शिरो रोग लगायतमा सेवाग्राहीले उपचार र निःशुल्क औषधी पाइराखेका छन्। त्यस्तै, पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको कुरा उपभोग गरेका स्थानीयले बताएका छन्।  बाजुरा जिल्लाको दुर्गम भेगहरु बिछ्या, रुगिन, हिमाली, धुलाचौर र मुगुको खत्याडाबाट समेत लामो दुरी पार गरेर बिरामीहरु आयुर्वेद सेवा लिन कोल्टी आउने गरेको पाइएको छ।

यस प्राथमिक स्वास्थ्य केन्द्रमा जीवनशैली कार्यक्रमअन्तर्गत आयुर्वेद चिकित्सक डा. अच्युत शाली घिमिरे र वैद्य छत्र बम कार्यरत छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्तडीमा समेत अभाव रहेको चिकित्सकीय सेवा यस दुर्गम भेगका जनताले पाउँदा यहाँ सबैजना हर्षित छन्।

यहाँका मानिसले विस्तारै आयुर्वेदको महत्व बुझ्दै गएपछि आकर्षण बढ्दै गएको कुरा स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले बताएका छन्। ‘पहिला धेरै भीडभाड एलोपेथी चिकित्सामा मात्र हुन्थ्यो तर आयुर्वेद सेवा उपलब्ध हुने भएपछि दुवै चिकित्सा पद्धतिमार्फत चाप नियन्त्रण गर्न मद्दत पुगेको छ।’ ,उनले भने ।

अझै पनि केन्द्रमा आयुर्वेद सेवालाई विस्तार गर्न सकिने तर औषधि,सामग्री र ठाउँको अभावमा गर्न नसकिएको कुरा गुणस्तरीय सेवा दिईरहेका वैद्य छत्र वमले बताए।

‘यहाँ पानी, बत्ती र सहज सडक सञ्जालको अभावमा समेत अति नै महङ्गीमा कष्टकर जीवन बाँच्दै सेवा दिईरहेका छौं तर हामी दुवै आयुर्वेदकर्मीलाई भने न्यूनतम तलब बाहेक कुनै दुर्गम भत्ता वा अरु केही प्रोत्साहन उपलब्ध भएको छैन।’ ,आयुर्वेद चिकित्सक डा.अच्युत शाली घिमिरेले गुनासो पोखे।’

केही पर्दा घर जान आउन हवाईजहाजको भाडा र कोल्टीमा खान बस्नको खर्चमा नै तलब ठिक्क हुन्छ’ ,उनले थपे। स्वास्थ्य केन्द्रमा नै कार्यरत अन्य स्वास्थ्यकर्मीको दाजोमा आयुर्वेद स्वास्थ्यकर्मीलाई राज्यले तलब र सुविधा दुवैमा भेदभाव गरेको व्यहोरा जनाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत उनले ध्यानाकर्षण गराए।’ हामीलाई थप प्रोत्साहन केही भएमा काम गर्न पनि हौसला बढ्ने र जनताले समेत राम्रो सेवा सुविधा पाउनेछन्’ ,उनलेे भने ।

]


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ